Edukhabar
विहीबार, ०३ असोज २०८१
अन्तैवाट

प्रअको लापरबाहीले शिक्षकले तलब पाउनबाट बञ्चित

मंगलबार, २६ जेठ २०७२

भक्तपुर, २६ जेठ / लेखापरीक्षण समयमा सम्पन्न नहुँदा चाँगुनारायण नगरपालिका–८ मा रहेको दोलागिरि उमाविमा कार्यरत शिक्षक तथा कर्मचारीले सात महिनादेखि तलब पाउन सकेको छैनन् । 

लेखापरीक्षण नभएको कारण देखाउँदै जिल्ला शिक्षा कार्यालयले तलब निकासा दिएको छैन । “हामीले सात महिनादेखि तलबबिनै काम गरिरहेका छौँ, हामीले तलब चाहियो भनेर विद्यालयका प्राचार्यलाई पटक पटक भन्दा कहिले के कहिले के भनेर टार्दै आउनुभएको छ”, शिक्षक जगनाथ सुजखुले भने, “लामो समयदेखि तलब नदिँदा आफूसँगै विद्यालयमा कार्यरत सबै शिक्षकको दैनिकीलाई असर पुगेको छ ।” 

 विद्यालयमा प्राविमा १०, निमाविमा चार, माविमा तीन र निजी स्रोतमा तीन शिक्षक शिक्षिका तथा कर्मचारी छन् । 

तलव खुवाउने सम्बन्धमा विद्यालयका प्राचार्य पञ्चनारायण भडेलले बेवास्ता गरेको शिक्षकले आरोप लगाएका छन् । शिक्षक शिक्षिकाले बिनातलब काम गर्नुपर्दा कक्षाभित्र छिर्न दिक्क लागेको बताएका छन् । 

प्राचार्य भडेलले आफ्नो कारण नभएर जिल्ला शिक्षा कार्यालयले तलब निकासा नगर्दा शिक्षकलाई तलब खुवाउन नसकेको स्वीकार गरे । उनले प्रतिप्रश्न गर्दै भने, ‘कार्यालयले नै तलब निकासा रोकेको छ, मैले चाहेर तलब नदिएको हो र ?” 

जिशिकाले विद्यालयले हरेक वर्ष गर्नुपर्ने लेखापरीक्षण नगरेको कारण विद्यालयको खातामा रकम निकासा नगरेको जनाएको छ । “विद्यालयमा के कसरी काम भइरहेको छ, कस्ता आर्थिक काम भएका छन्, विद्यालयको आर्थिक पारदर्शिता छ÷छैन भन्ने कुरा बुझाउने लेखा परीक्षण नै नगरिएपछि कार्यालयले निकासा रोकेको हो”, जिशिअ रमाकान्त शर्माले भने, “विद्यालयले लेखापरीक्षण नसकाएसम्म खातामा रकम निकासा गर्न सकिँदैन ।” रासस 

प्रतिक्रिया