Edukhabar
शुक्रबार, ०४ असोज २०८१
अन्तैवाट

एकसाता भित्र एसएलसीको नतिजा आउने

आइतबार, ३१ जेठ २०७२

प्राविधिकतर्फको नतिजा असार दोस्रो साता

काठमाडौं ३१ जेठ / परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले २०७१ सालको प्रवेशिका परीक्षाको नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी थालेको छ । गत वर्ष जेठ ३० गते नतिजा सार्वजनिक गरेको कार्यालयले यो वर्ष वैशाख १२ गतेको भूकम्प र परकम्पका कारण प्राविधिक समस्या आएकाले परीक्षाफल सार्वजनिक गर्न केही ढिलो भएको हो ।
 
कार्यालयले यो वर्ष ढिलोमा असार पहिलो साता नतिजा सार्वजनिक गर्ने गरी अन्तिम तयारी गरेको हो । परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेले ढिलोमा असारको पहिलो सातासम्ममा नतिजा सार्वजनिक गर्नेगरी अन्तिम तयारीमा लागेको बताए ।
 
उनले अति गोप्य कामहरु भइरहेको जानकारी दिँदै यी काम सकिएलगत्तै परीक्षाफल सार्वजनिक गर्ने बताए । परीक्षा गत चैत ५ गतेदेखि १३ गतेसम्म सञ्चालन भएको थियो ।
 
यो वर्षदेखि सुरु प्राविधिकतर्फको प्रवेशिकाको नतिजा असारको दोस्रो सातामात्र सार्वजनिक हुने भएको छ । परीक्षा नियन्त्रक द्वारेले भने, “प्रवेशिका परीक्षाको नतिजा सार्वजनिक गर्नेछौ, त्यसको एकसातापछि मात्रै प्राविधिकतर्फको नतिजा सार्वजनिक हुनेछ ।” प्राविधिक विषयको ९९ विद्यालयको नतिजा भने ग्रेडिङ सिस्टममा प्रकाशित गर्ने भएकाले एकसाता ढिलो हुने भएको उनको भनाइ छ ।
 
यस वर्षको परीक्षामा कूल पाँच लाख ७४ हजार ६८५ जना परीक्षार्थी सहभागी भएका छन् । जसमा नियमिततर्फ छात्र दुई लाख १२ हजार ५०४ र छात्रा दुई लाख १३ हजार ७१० गरी कूल चार लाख २६ हजार २१४ जना तथा एक्जाम्टेडतर्फ छात्र ५९ हजार २५३ जना र छात्रा ८५ हजार ९३० जना गरी कूल एक लाख ४५ हजार १८३ जना परीक्षार्थी सहभागी भएको द्वारेले जानकारी दिए ।
 
यसवर्षबाट सुरु गरिएको प्राविधिकतर्फ भने छात्र दुई हजार ३७ जना र छात्रातर्फ एक हजार २५१ जना गरी तीन हजार २८८ जना परीक्षामा सहभागी भएका छन् ।

अन्नपूर्ण पोष्टमा छापिएको छ । 

प्रतिक्रिया