Edukhabar
शुक्रबार, ०४ असोज २०८१
अन्तैवाट

झिसमिसेमै स्कुल

आइतबार, ३१ जेठ २०७२

काठमाडौं ३१ जेठ / दोलखाको उत्तरी गाविस लापिलाङ– ६, गुजेर्पाकी सपना थामीको दैनिकी नै बदलिएको छ। उनी बिहान ४ बजे उठ्छिन्, नित्य कर्म सक्छिन् र स्कुल जान ५ बजे नै गोठबाट निस्कन्छिन्। ६ बजेबाट उनको कक्षा सुरु हुन्छ।

गुजेर्पा निमाविको कक्षा ७ मा पढ्ने सपनालाई पहिले स्कुल आउन १५ मिनेट हिँडे पुग्थ्यो तर भुइँचालोले घर भत्काउनुका साथै गाउँ नै पहिरोको जोखिममा परेपछि उनको परिवार एक घन्टा टाढाको चाइथलीमा गोठ बनाएर बसेको छ।

सपनाको मात्रै होइन, उत्तरी क्षेत्रका सामुदायिक विद्यालयमा पढ्ने सबै विद्यार्थीको दैनिकी फेरिएको छ। भवन भत्किएकाले चौरमा कक्षा सञ्चालन गर्दै आएका अधिकांश विद्यालयले दिउँसोको प्रचण्ड गर्मी छल्नका लागि बिहानी कक्षा चलाएका छन्। 'दिउसो पढाउँदा विद्यार्थी गर्मीले बेहोस हुने गरेकाले बिहान पढाउन थालेका हौँ,' शिक्षक बलबहादुर थामीले भने। उनका अनुसार गुजेर्पा निमाविमा अस्थायी टहरा बनाउने कार्य जारी छ।

लापिलाङको ५, ६ र ७ नं वडाका विद्यार्थी पढ्ने यो विद्यालय बिहान ६ बजेदेखि ११ बजेसम्म खुल्ने गर्छ। गुजेर्पा र थाङबारु गाउँ पहिरोको जोखिमले एक घन्टा माथि लेकमा सरेका कारण बिहान झिसमिसेमै उठेर स्कुल आउने गरेको शिक्षक थामीले बताए। फ्रान्स नेपाल मैत्री संघले एक वर्षअघि बनाइदिएको १० कोठे पक्की भवन वैशाख १२ र २९ गतेको भूकम्पले भत्काइदिएको थियो। अभिभावकको श्रमदानमा टहराका लागि खाँबा गाडिए पनि जस्तापाता अभाव भएको थामीले बताए।

बाबरे– ८, घट्टाचौरस्थित कमला प्राविका विद्यार्थी पनि बिहानै स्कुल आउँछन्। विद्यालयले अहिलेसम्म टहरा बनाउन सकेको छैन। टहरा नहुँदा शिक्षकले खुला चौरमा पढाइरहेका छन्। 'अभिभावक आफ्नै गोठ र कटेरो बनाउन व्यस्त हुनुहुन्छ, अन्य जनशक्ति नपाएका कारण टहरा बनाउन सकेका छैनौँ,' प्रधानाध्यापक पुष्कर खतिवडाले भने, 'छिट्टै बनाउने कोसिस गर्दैछौँ।'

बाबरेकै मिलीजुली प्राविले श्रमदानबाट बनाएको अस्थायी टहरामा विद्यार्थी पढाइरहेको छ। 'जनशक्ति पाउने र दाताको सहयोगमा कतिपय स्थानमा अस्थायी कटेरो बनाएर विद्यालय सञ्चालन गर्नुपरेको छ, नपाउनेले चाहिँ खुला चौरमा पढाइरहेका छन्,' बाबरेका शिक्षक जीवनाथ खतिवडाले भने।

बिहान पढाउँदा बिद्यार्थीमा स्फूर्ति बढ्ने गरेको शिक्षकको बुझाइ छ। 'बिहान पढाउँदा खुला चौरमै पनि बालबालिका अन्य बेलाभन्दा खुसी देखिन्छन्,' गुजेर्पा निमाविका शिक्षक अमिका थामी भन्छन्। उत्तरका कतिपय विद्यालय सेनाले समेत निर्माण गरिदिएका छन्। कालिञ्चोकस्थित दिव्यश्वरी निमावि नेपाली सेनाले बनाइदिएको अस्थायी टहरामा सञ्चालन भइरहेको छ।

नागरिकमा रमेश खतिवडाले लेखेका छन् ।

प्रतिक्रिया