Edukhabar
शुक्रबार, ०४ असोज २०८१
अन्तैवाट

एसएलसीको नतिजा यही साता

सोमबार, ३२ जेठ २०७२

भक्तपुर, ३२ जेठ / परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले २०७१ सालको प्रवेशिका परीक्षाको नतिजा यही साता सार्वजनिक गर्ने भएको छ । 

गत वर्ष जेठ ३० गते प्रवेशिका परीक्षाको नतिजा सार्वजनिक गरेको कार्यालयले यस वर्ष वैशाख १२ गतेको भूकम्प र पराकम्पनका कारण प्राविधिक समस्या आएकाले परीक्षाफल सार्वजनिक गर्न केही दिन ढिलो हुने भएको हो । 

कार्यालयले यस वर्ष ढिलोमा असारको पहिलो सातासम्ममा नतिजा सार्वजनिक गर्ने गरी अन्तिम तयारीमा लागेको छ । परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेले ढिलोमा असारको पहिलो सातासम्ममा नतिजा सार्वजनिक गर्नेगरी अन्तिम तयारीमा लागेको बताए । 

अति गोप्य कामहरु भइरहेको जानकारी दिँदै उनले यी काम सकिएलगत्तै परीक्षाफल सार्वजनिक गर्ने बताए । परीक्षा गत चैत ५ गतेदेखि १३ गतेसम्म सञ्चालन भएको थियो । 

यस वर्षदेखि सुरु भएको प्राविधिकतर्फको प्रवेशिकाको नतिजा असारको दोस्रो सातामात्र सार्वजनिक हुने भएको छ । परीक्षा नियन्त्रक द्वारेले भने,  “प्रवेशिका परीक्षाको नतिजा सार्वजनिक गर्नेछौ, त्यसको एकसातापछि मात्रै प्राविधिकतर्फको नतिजा सार्वजनिक हुनेछ ।” 

प्राविधिक विषयको ९९ विद्यालयको नतिजा भने ग्रेडिङ सिस्टममा प्रकाशित गर्ने भएकाले एकसाता ढिलो हुने भएको उनको भनाइ छ । 

यस वर्षको परीक्षामा कूल पाँच लाख ७४ हजार ६८५ जना परीक्षार्थी सहभागी भएका छन् जसमा नियमिततर्फ छात्र दुई लाख १२ हजार ५०४ र छात्रा दुई लाख १३ हजार ७१० गरी कूल चार लाख २६ हजार २१४ जना तथा एक्जाम्टेडतर्फ छात्र ५९ हजार २५३ जना र छात्रा ८५ हजार ९३० जना गरी कूल एक लाख ४५ हजार १८३ जना परीक्षार्थी सहभागी भएका छन् । रासस

 

प्रतिक्रिया