Edukhabar
शनिबार, ०५ असोज २०८१
खबर/फिचर

बन्दको परवाह नगरी पढाई

आइतबार, ३१ साउन २०७२

भक्तपुर ३१ साउन / प्रदेश सीमांकनको विरोध गर्दै ३० दलीय मोर्चाले गरेको हड्तालका  कारण अधिकाँश ठाउँमा पठन पाठन बन्द भएपनि यहाँका विद्यालय र कलेजमा नियमित पढाई भईरहेको छ ।

भक्तपुरको नगर क्षेत्रमा बन्दको कुनै प्रभाव परेको छैन । सार्वजनिक सवारी सञ्चालन नभएपनि विद्यालय कलेज नियमित रुपमा सञ्चालन भइरहेको छ । 'बन्दको परवाह नगरी हामी त पढाई रहेका छौं' बागेश्वरी उच्च माध्यमिक विद्यालयका सहायक प्राचार्य * ज्ञानसागर प्रजापतिले भने, 'विद्यार्थी पनि सबैजसो आएका छन् ।'

विद्यालयले आइतबार भूकम्प पीडित विद्यार्थीलाई प्रदान गर्ने एक हजार रुपैया वितरणको कार्यक्रम पनि राखेको छ । सरकारले भूकम्पको धक्काले घर भत्केका विद्यार्थीलाई एक हजार रुपैया दिने घोषणा गरेको थियो ।

प्रजापतिका अनुसार बिहान कलेज पनि नियमित रुपमा पढाई भयो । राजमार्गको दायाँ बायाँ बाहेक गाउँका उच्च माविहरुमा नियमित रुपमा सञ्चालनपठन पाठन भएको थियो ।

समुदायको सहयोगकै कारण बन्द हड्तालमा पनि अरु बेलाकै जस्तो नियमित पढाउन सफल भएको उनले बताए ।
भक्तपुरमा सामुदायिक १ सय ३० र निजी १ सय ९८ विद्यालय छन् ।

भक्तपुरको नगर क्षेत्र र ग्रामिण भेगमा नियमित पढाई भइरहेको छ । नगरमा बिशेष गरी मजदुर किसान पार्टी समर्थित प्रधानाध्यापक रहेको विद्यालयमा बन्द, हड्ताल हुदा पनि पठन पाठन हुन्छ ।

भक्तपुरका जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माले अन्य ठाउँमा बन्दको प्रभावले पढाई नभए पनि भक्तपुरमा बन्दको कम असर पर्ने बताए । स्थानीय समुदायले बन्दमा रुचि नगर्दा विद्यालय सञ्चालन सहज भएको उनले बताए । 'ठ्याक्कै कति विद्यालय खुलेका छन् र कति बन्द छन् म पनि बुझ्दैछु' उनले भने ।

बन्दमा कक्षा सञ्चालन गरेको भन्दै कोही बिरोधी निस्किए स्थानीय समुदायले प्रतिकार गर्ने भएकोले पनि विद्यालय खोल्दा बिरोध गर्ने हुँदैनन् । नियमित विद्यालय खोल्ने विद्यालयको नतिजा पनि राम्रो छ । भक्तपुरमा सामुदायिक विद्यालय मात्रै नभई निजी विद्यालय पनि सञ्चालन भइरहेका छन् ।

'विद्यालयमा अरु बेलाको जस्तै पढाइ भईरहेको छ' नेमकिपा समर्थित शिक्षक संगठन (नेपाल क्रान्तिकारी शिक्षक संघ ) का अध्यक्ष समेत रहेका प्रजापतिले भने, 'अन्त बन्द हुँदा हाम्रोमा नियमित चल्छ । गाडीबाट आउने हिँडेर आएका छन् । कतिपयलाई अभिभावकले मोटरसाइकलमा ल्याएर छाडेका छन् ।'

बन्दको समर्थनमा विद्यालय नखोल्दा विद्यार्थी र शिक्षक सडकमा उत्रन्छन् कि उत्रदैनन् ? बन्द गर्दा विद्यार्थीलाई के फाइदा हुन्छ ? बिचार गर्नु उपयुक्त हुने उनले बताए ।

बन्दमा सडकमा सवारी न्यून सञ्चालन भएका छन् । सवारी नचलेपछि पढ्न हिंडेका शहरी क्षेत्रका विद्यार्थी घर फर्किन बाध्य भएका थिए । '

* सहायक प्राचार्य हुनु पर्नेमा अन्यथा भएकोले सच्याईएको - सं

फाईल फोटो

प्रतिक्रिया