Edukhabar
शुक्रबार, ०४ असोज २०८१
अन्तैवाट

प्राध्यापक बढुवामा बेथिति

मंगलबार, ०१ असार २०७२

काठमाडौं १ असार /  २२ जनाको पदोन्‍नति निर्णय उल्टायो, नेपाली प्राध्‍यापकका लागि फेरि अन्तर्वाता

मुलुककै पुरानो र ठूलो त्रिभुवन विश्वविद्यालयमा प्राज्ञिक क्षमता नभएका व्यक्तिलाई गैरकानुनी प्रक्रिया अपनाएर प्राध्यापकमा बढुवा गरेको पाइएको छ।
 
बढुवाका लागि आवश्यक शैक्षिक तथा प्राज्ञिक योग्यता नपुगेको व्यक्तिलाई प्राध्यापक बनाइएको दाबीका साथ परेको उजुरीमाथि त्रिवि पुनरावेदन आयोगले अध्ययन गर्दा यस्तो पाएको हो।
 
आयोगले प्राध्यापक बढुवाको फाइल तथा कागजपत्र अध्ययन गर्दा मनपरी गरेको पत्ता लागेपछि बढुवा निर्णय रद्द गर्न निर्देशन दिएको छ।
 
यसअघि बढुवा गरिएका प्राध्यापकको निर्णय बदर गरेर प्रतिस्पर्धी सबै सहप्राध्यापकलाई सहभागी गराएर अर्को अन्तर्वार्ता गर्न त्रिवि सेवा आयोगलाई निर्देशन दिएको आयोगका अध्यक्ष रामप्रसाद श्रेष्ठले बताए।
 
पुनरावेदन आयोग प्राध्यापक बढुवामा अनियमितताबारे अध्ययन गरेर आवश्यक निर्देशन दिने त्रिविको स्वायत्त निकाय हो।
 
गत चैत ६ गते नेपाली विषयका २२ जना प्राध्यापकको बढुवा गर्दा प्राज्ञिक मर्यादा उल्लंघन गरेर गैरकानुनी बाटो अपनाएको भन्दै असन्तुष्ट ११ जना सहप्राध्यापकले आयोगमा उजुरी दिएका थिए।
 
आयोगका अनुसार प्राध्यापक बढुवा गर्दा एकै व्यक्तिले सहभागीलाई प्रश्न सोध्ने र कृति समीक्षा गर्ने काम गरेका थिए। यसो गर्नु त्रिवि नियमविपरीत हो।

नेपाली विषयका प्राध्यापक व्रतराज आचार्यले यी दुवै जिम्मेवारी लिएका थिए। आचार्यले भान्जा पर्ने चूडामणि खनाललाई बढी नम्बर दिएर प्राध्यापक बनाएको असन्तुष्ट सहप्राध्यापकको आरोप थियो।
 
प्राध्यापक बढुवाको अन्तर्वार्तामा त्रिवि सेवा आयोगका अध्यक्ष, सदस्य र लोकसेवा आयोगका सदस्य पनि उपस्थित भएर प्रतिस्पर्धीलाई अंक दिनुपर्नेमा लोकसेवाका प्रतिनिधिलाई नबोलाएको र त्रिवि सेवा आयोगका अध्यक्षले अर्का सदस्यको हैसियतमा पनि आफू निकटका व्यक्तिलाई धेरै अंक दिएर उत्तीर्ण गराएको अध्ययन गर्दा फेला परेको थियो।
 
'प्राध्यापकजस्तो प्राज्ञिक पदमा बढुवा गर्दा व्यापक अनियमितता गरेको पाइयो। यसले समग्र त्रिविको प्रतिष्ठा र क्षमतावान् अन्य प्राध्यापकको मर्यादामा आँच पुर्‍याएको छ', आयोगका अर्का सदस्यले भने, 'गैरकानुनी प्रक्रियाबाट बढुवा गरिएको निर्णय तत्काल स्थगित गरेर प्रतिस्पर्धी सबैलाई सहभागी गराई अर्को अन्तर्वार्ता लिन निर्देशन दिएका छौं।'
 
त्रिविले चैत ६ गते नेपाली विषयका २२ जना प्राध्यापकको बढुवा गरेको थियो। जसका लागि ६२ जना प्रतिस्पर्धी थिए।
 
चैत ४ गते पनि सेवा आयोगले सहप्राध्यापक शैलेन्दुप्रकाश नेपालको नाम प्राध्यापकमा बढुवा भएको भन्दै २२ जनामध्ये पाँचौं नम्बरमा राखेको थियो।
 
तर चैत ६ गते उनको नाम संशोधन गरिएको भन्दै प्राध्यापकको सूचीबाट नै हटाएर आयोगले अर्को सूचना टाँसेको थियो।
 
विभिन्न तहमा बढुवा तथा नियुक्ति गर्दा प्राज्ञिक योग्यता भन्दा राजनीतिक आस्थालाई प्राथमिकता दिइएको आरोप त्रिविमाथि लाग्ने गरेको छ। आयोगमा सदस्य नियुक्त गर्दा पनि राजनीतिक आस्थालाई आधार मानिने आरोप छ।
 
बढुवाका लागि सम्पूर्ण योग्यता पुगेर अनुत्तीर्ण गराइएको भन्दै पुनरावेदन आयोगमा उजुरी दिएका हेमनाथ पौडेलले भने, '२५-२६ वर्ष पढाएका पुराना शिक्षकलाई पाखा लगाएर नयाँ शिक्षकलाई जबरजस्ती बढुवा गर्ने काम भएको थियो।'
 
त्रिवि सेवा आयोगका अध्यक्ष ईश्वरचन्द्र दत्तले पुनरावेदन आयोगको निर्णय आधिकारिक रूपमा नपाएको बताए। उनले भने, 'हल्ला सुनेको भरमा बोल्न मिलेन। के भएको रहेछ आधिकारिक चिठी आएपछि थाहा होला।'
 
सहप्राध्यापकबाट प्राध्यापकमा बढुवा गरिँदा चार खण्डमा दुई सय पूर्णांकलाई आधार मानेर अंक दिने गरिन्छ।
 
जसमा अन्तर्वार्तामा २० अंक, प्राध्यापन अनुभवमा ८० अंक, सम्बन्धित व्यक्तिले लेखेको कृतिका लागि ३२ अंक, क्याम्पस प्रमुखले दिने कार्य सम्पादन मूल्यांकनमा आठ अंक र शैक्षिक योग्यतालाई ६० अंक दिने गरिएको छ।

अन्नपूर्ण पोष्टमा सूर्यप्रसाद पाण्डेले लेखेका छन् ।

प्रतिक्रिया