काठमाडौं १ असार / बन्दुक र बारुदसँग अभ्यस्त नेपाली सेनाका जवानहरू धादिङको छत्रेदेउरालीमा फरक काममा व्यस्त देखिए।
नागर्जुन शिवपुरी राष्ट्रिय निकुञ्जअन्तर्गतको एउटा सुरक्षा पोस्टअगाडिको चौरमा बर्दीमा सजिएका सेनाका जवानले बन्दुकको साटो लुगा सिउने मेसिन समाएका थिए।
युद्धका बेला बन्दुक र बम पड्काउन निर्देशन दिने नागार्जुनस्थित भैरवप्रसाद गणका गणपति रामचन्द्र खत्री विद्यार्थीलाई पोसाक बाँडिरहेका थिए भने जवानहरू विद्यार्थीको शरीर नापेर लुगाको साइज लिइरहेका थिए।
चौरको अर्कातिर सेनाका कोही जवान विद्यार्थीको लुगा सिउन तम्तयार थिए भने कोहीचाहिँ भूकम्पपीडित अभिभावकलाई खाद्यान्नसहतिका राहत बाँडिरहेका थिए।
वैशाखको विनाशकारी भूकम्पले छत्रेदेउरालीको ६ नम्बर वडाका एक सय ५० बढी घर ध्वस्त बनायो। शनिबारको दिन गएको भूकम्पले भत्केका घरसँगै कलिला बालबालिकाका पोसाक र कपी किताब पनि पुरिए।
पोसाक र कपीकिताब पुरिएपछि विद्यार्थीलाई विद्यालय जानै समस्या भयो। भूकम्पले विद्यालय भवनसमेत भत्काएपछि एक महिनापछि बन्द विद्यालय खुल्यो तर के लाएर जाने?
के पढ्ने? के मा लेख्ने? कलिला नानीबाबुलाई यो प्रश्नले घोचिरह्यो। आर्थिक रूपमा विपन्न तामाङ र बलामी समुदायको बाक्लो बस्ती रहेको मझुवा, कार्कीगाउँ, स्वनागाउँ र गैह्रीगाउँसहितका बस्तीका नानीबाबुले कापीकलम त जोडे तर पोसाक किन्ने क्षमता उनीहरूमा थिएन।
पोसाक अभावमा छटपटिइरहेका उनीहरूलाई सेनाले साथ दियो। उनीहरूको पोसाकको अभाव पूरा गरिदियो। सेनाले कपडामात्र बाँडेन, सिलाइसमेत दियो।
सेनाले दिएको विद्यालय पोसाकको कपडा लिँदै उज्यालो मुहार बनाएका आठ वर्षीय कमल तामाङले पोसाकमा सजिएर विद्यालय जान पाउने कुराले खुसी भएको
सुनाए।
'थोत्रे लुगा लाएर स्कुल जाँदै थिएँ, सेनाका अंकलहरूले नयाँ लुगा दिनुभयो', उनले लजाउँदै भने, 'अब पोसाक लगाएर स्कुल जान्छु।'
लुगा सिलाउन काठमाडौं नै पुग्नुपर्ने बाध्यता बुझेर सेनाले आफ्ना जवानबाटै विद्यार्थीको लुगा सिलाउने व्यवस्था गरेको हो।
'कपडामात्रै दिएर भूकम्पको पीडामा रहेका अभिभावकलाई सिलाउनै समस्या छ। त्यही बुझेर गणका जवानले विद्यार्थीको लुगा सिलाउँछन्', गणपति खत्रीले भने, 'भूकम्पले यो गाउँमा तीनजनाले ज्यान गुमाए, यहाँका सबै घर भत्केका छन्।
घर भत्केर पालमा बसेका विद्यार्थीले पढाइ नछाडुन् भनेर पोसाक र अरू शैक्षिक सामग्री दिएका हौं।'
गणबाट खटिएका ६ जना सूचीकारले विद्यार्थीको लुगा सिलाइदिएका हुन्। 'भूकम्पपछि घरले पुरिएका यही गाउँका मानिसको उद्धारमा खटियौं', लुगा सिलाउन खटिएका सेनाका जमदार बालकृष्ण खनालले भने, 'हामीले सिलाइदिएको लुगा लाएर नानीबाबु विद्यालय आएको देख्दा खुसी लाग्छ।'
विद्यालयकी शिक्षिका सविना अधिकारीले विद्यालय भवनसमेत भत्केपछि विद्यार्थीलाई पाखैमा राखेर पढाइरहेको बताइन्।
'भवनमा पस्न सकिने अवस्था छैन। बिहानी कक्षा चलाइरहेका छौं', उनले भनिन्, 'वर्षा लागिसक्दा पनि भवन नहुँदा पढाइ कसरी अघि बढाउने चिन्ता छ। पानी दर्केपछि र चर्को घाम लागेपछि विद्यार्थीलाई घर पठाउनुपर्ने बाध्यता छ।'
विद्यार्थीलाई पोसाकसँगै सेनाले यो गाउँका डेढ सय घरका मानिसलाई खाद्यान्नसमेत बाँड्यो। देशविदेशका विभिन्न व्यक्तिबाट प्राप्त र आफ्नै प्रयासमा संकलित राहत सेनाले बाँडेको थियो।
'सेना नेपाली दाजुभाइ, दिदीबहिनीकै हो, हाम्रा दाजुभाइ, दिदीबहिनी भोकै राखेर हामी अघाउन सक्दैनौं', गणपति खत्रीले भने, 'भूकम्पपछि हामी गाउँलेकै माझमा छौं, गाउँलेलाई दिगो पुनर्बास गराउन सकेमा पीडा बिर्सन सजिलो हुने थियो।'
अन्नपूर्ण पोष्टमा ज्ञानेन्द्र खड्काले लेखेका छन् ।
प्रतिक्रिया