Edukhabar
शुक्रबार, ०४ असोज २०८१
अन्तैवाट

पीडित कक्षामा, विद्यार्थी चौरमा

शनिबार, ०५ असार २०७२

काठमाडौं ५ असार /भक्तपुर नगरपालिका–८, साकोठास्थित विद्यार्थी निकेतन उच्चमाविको चर्केको भवनमा असुरक्षित लेखिएको रातो स्टिकर छ । सुरक्षित लेखिएको नयाँ भवनमा भूकम्पपीडितहरूले अस्थायी शिविर राखेर बसेका छन् । विद्यार्थी भने मञ्च, चौरमा पसेर पढ्न बाध्य छन् । भूकम्पपीडितहरूले कक्षाकोठामा डेरा जमाएपछि विद्यार्थीलाई चौर, मञ्च लगायतमा राखेर पढाउन बाध्य भएको विद्यालयले जनाएको छ । ‘विद्यालयलाई भवनको अभाव छ, सुरक्षित भवनमा भूकम्पपीडितहरू बसिरहेका छन्,’ विद्यालयका सहायक प्रधानाध्यापक सुरेश प्रजापतिले भने,‘कतिपय विद्यार्थीलाई मञ्चमा त कतिपयलाई भूकम्पपीडितहरू बसोबास गरिरहेकै ठाउँमा पढाएका छौं ।’ विद्यालयको २९ कक्षाकोठामध्ये ८ कक्षाकोठामात्र सुरक्षित छ । बाँकी कक्षाकोठा भत्काइएको छैन ।

विद्यालयमा भवनको अभावले भूकम्पको धक्काले धुजाधुजा भएको धरापमा विद्यालय प्रशासन सञ्चालन गर्नुपर्ने बाध्यता रहेको विद्यालयले जनाएको छ । गत वैशाख १२ गतेको महाभूकम्पको धक्काले घर भत्किएका भक्तपुर नगरपालिका–८, साकोठाका ७५ भूकम्पपीडित अझै विद्यार्थी निकेतन उच्चमाविमा अस्थायी शिविर खडा गरी बसोबास गरिरहेका छन् । ‘भूकम्पले घर ध्वस्त बनायो, आफ्नो जग्गा पनि छैन,’ साकोठा भूकम्पपीडित निश्चल खिम्बाजाले दुखेसो पोखे, ‘विद्यालयको पीडा हामीले पनि बुझेका छौं तर, हामीलाई टाउको लुकाउने ठाउँको आवश्यकता छ ।’ ‘हामीलाई खानेकुराको आवश्यकता छैन, बस्ने बासको व्यवस्था गरिदेऊ ।’

विद्यार्थी निकेतन जस्तै जिल्ला शिक्षा कार्यालय भक्तपुरको तथ्यांकमा हिमालय प्रावि निकोसेरा, शान्ति निकेतन मावि सिपाडोल, श्री पद्म उच्चमावि भक्तपुर दरबार स्क्वायर, शारदा उच्चमावि यालाछें, शारदा प्रावि भक्तपुर नगरपालिका, बाल सेवक प्रावि भक्तपुर नगरपालिका र भीम प्रावि दधिकोटमा भूकम्प गएको डेढ महिना बितिसक्दा पनि भूकम्पपीडितले विद्यालयलाई अस्थायी आवासका रूपमा प्रयोग गरिरहेको उल्लेख छ ।

विनाशकारी भूकम्पपछि सरकारले आधिकारिक रूपमा विद्यालय खुलाएको तीन सातासम्म पनि विद्यालयहरूमा विद्यार्थीहरूले पढ्ने वातावरण पाउन सकेका छैनन् । विद्यार्थी पढाउन पर्याप्त भवन छैन । विद्यालय बाहिर बाटोसमेत नराखी स्थानीयले भत्किएको घरको माटो ल्याएर थुपारिदिँदा थप समस्या परेको प्रजापतिले बताए । ‘विद्यार्थीलाई विद्यालयमा जसरी पनि सुरक्षित राखौंला,’ उनले भने, ‘विद्यालयसम्म सुरक्षित कसरी ल्याउने, विद्यार्थी हिंड्ने बाटो सुरक्षित छैन, बाटो धराप छ ।’ भक्तपुर नगरको पुराना र साँघुरा गल्लीभित्रका धराप संरचनाका कारण बालबालिकाले सुरक्षित महसुस गर्न नसकेको शिक्षकहरू बताउँछन् । जिल्ला शिक्षा कार्यालय भक्तपुरले जेठ मसान्तभित्र भूकम्पले क्षति पुर्‍याएका विद्यालयमा अस्थायी आवास केन्द्र (टीएलसी) निर्माण गरी सक्ने निर्णय गरेको थियो । तर, हालसम्म निर्माण सम्पन्न भएको छैन । जिल्ला शिक्षा कार्यालयको तथ्यांकअनुसार सामुदायिक विद्यालयको १ हजार ८ सय ८८ कोठामध्ये १ सय ५९ पूर्ण क्षति, १ सय ८० आंशिक क्षति र ३ सय २८ कोठामा सामान्य क्षति पुगेको छ । जसमध्ये सामुदायिक विद्यालयको ९२ भवनमा रातो र २ सय ९५ भवनमा हरियो स्टिकर टाँसेको जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माले बताए । जिल्लामा १ सय १५ टीएलसी टहरा निर्माण गर्न आवश्यक भएको शर्माले बताए ।

आजको कान्तिपुर दैनिकमा यो खबर छापिएको छ ।

प्रतिक्रिया