Edukhabar
शनिबार, ०५ असोज २०८१
खबर/फिचर

बन्दमा पनि पठन पाठन गर्न आन्दोलनरत दलहरु सहमत

मंगलबार, ०१ भदौ २०७२

झापा १ भदौ / प्रदेशको सीमांकनप्रति असहमति जनाउँदै आन्दोलनमा उत्रिएका राजनीतिक दलहरुले आन्दोलन जारी रहेपनि शिक्षण संस्थाहरु निर्वाध सञ्चालन गर्न दिने सहमति गरेका छन् ।

संवाद समूह झापाको संयोजनमा बिर्तामोडमा भएको आन्दोलनरत् दलहरुसँगको बार्तामा आम हड्ताल जारी रहेपनि झापाका शिक्षण संस्था र तिनका सवारी साधनलाई निर्वाध सञ्चालन गर्न दिने सहमति भएको हो ।

शिक्षा क्षेत्रलाई शान्ति क्षेत्र बनाउनु पर्नेमा जोड दिँदै आन्दोलरत् दलका प्रतिनिधिले शिक्षण संस्थाका सवारी साधन चलाउन र निर्वाध पठनपाठन गर्न दिने सहमति गरेका हुन् ।

ती दलहरुले आम हड्तालमा अति आवश्यक सेवा तथा तिनका सवारी साधनलाई समेत सञ्चालनमा नरोक्ने सहमति गरेका छन् ।
त्यसैगरी उद्योगी व्यवसायीको समस्यालाई समेत मध्यनजर गरी उद्योग व्यवसाय सञ्चालनको उचित वातावरण बनाउन पहल गर्ने समेत सहमति भएको छ ।

आन्दोलन पक्षका जायज मागहरुलाई तत्काल सम्बोधन गरी अहिलेको अवस्थालाई सहज बनाउन सरकार तथा मुख्य राजनीतिक दलहरुलाई झापाका नागरिक समाजको तर्फबाट आग्रह गर्ने समेत सहमति भएको छ ।

नेकपा–माओवादी सहितका दलहरु तथा पूर्वी थारुवान कोचिला राज्य संघर्ष समिति लगायतका मोर्चा आन्दोलनमा छन् । आन्दोलनलाई शान्तिपूर्ण र मर्यादित बनाउदै शिक्षण संस्था सञ्चालन गर्न दिन उनीहरु सहमत भएका हुन् ।

उनीहरुले शिक्षा क्षेत्रमा कसैले पनि राजनीतिक हस्तक्षेप गर्न नहुने र शिक्षा क्षेत्रमा सम्बद्ध पक्षले पनि राजनीतिबाट अलग हुनुपर्ने सुझाव दिए ।
आन्दोलनरत् दलहरुको तर्फबाट संघीय समाजवादी फोरम नेपाल झापाका उपाध्यक्ष भूपालबहादुर राई, सद्भावना पार्टी झापाका अध्यक्ष एवम् स्थानीय शान्ति समितिका संयोजक सूर्यनारायण गणेश, पूर्वी थारुवान कोचिला राज्य संघर्ष समिति सहित विभिन्न १२ वटा घटकको तर्फबाट श्रीप्रसाद चौधरी, पुकारचन्द्र सिंह राजवंशी, हंशलाल राजवंशी, सन्तोष राजवंशी, हरिनारायण चौधरी, भरतकुमार राजवंशी, खकेन राजवंशीले हस्ताक्षर गरेका छन् ।

त्यस्तै प्याब्सन झापाका अध्यक्ष मिलनकुमार ढुंगाना र प्रतिनिधि विष्णु तिवारी, एन प्याब्सन झापाका अध्यक्ष सञ्जीव राई र प्रतिनिधि मोहन आचार्यले हस्ताक्षर गरेका छन् । बार्ताको सहजीकरण मानवअधिकारकर्मी डा. चुडामणि शिवाकोटी, पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य मदन ढकाल र राष्ट्रिय मानवअधिकार प्रतिष्ठान झापाका सभापति रुपक खनालले गरेको संवाद समूह सचिवालयका संयोजक अधिवक्ता दीपेन्द्र भट्टराईले जानकारी दिए ।

बार्तामा निजी क्षेत्रको तर्फबाट बिर्तामोड उद्योग बाणिज्य संघ तदर्थ समितिका अध्यक्ष बलराम कार्की र झापा उद्योग बाणिज्य संघका जिल्ला सचिव प्रकाश शिवाकोटीले उद्योगी व्यवसायीका पिर मार्का बुझिदिन र तत्काल उद्योग व्यवसाय सञ्चालनको बातावरण बनाउन आन्दोलरत् दलहरुलाई आग्रह गरेको संवाद समूह सचिवालयका सहजकर्ता खगेन्द्र खरेलले बताए ।

प्रतिक्रिया