Edukhabar
शुक्रबार, १४ मंसिर २०८१
अन्तैवाट

अब्बल छन् सामुदायिक स्कुल

सोमबार, ०७ असार २०७२

अब्बल छन् सामुदायिक स्कुलकाठमाडौं ७ असार / मणिग्रामको शान्ति नमुना मावि कुनै बेला साँच्चिकै नमुना थियो। विद्यार्थीको चाप र पठनपाठनले कहलिएको यो विद्यालयमा समय बित्दै जाँदा विद्यार्थी घट्दै गए र रौनक पनि हराउँदै गयो। २०६६ मा आइपुग्दा विद्यार्थी चानचुन ४ सय मात्रै भए। नमुना विद्यालयको चमक नै हराएपछि जागरुक शिक्षक–शिक्षिकाले अब गर्ने भनेर छलफल थाले। पटक–पटकको छलफलले निष्कर्ष निस्क्यो– विद्यार्थी आकर्षित गर्न अंग्रेजी माध्यम चलाउने, शिक्षकले छोराछोरी यहीँ पढाउने र समग्र व्यवस्थापन सुधार गर्दै अघि बढ्ने।

 विद्यालयले शैक्षिक सुधार थालेको पा"च वर्ष पुग्दा विद्यालय फेरि नमुना बन्न सफल भएको छ। विद्यार्थीको चाप थेग्न नसकेर विद्यालयले निर्धारित मितिअघि नै भर्ना बन्दको सूचना निकाल्नुपर्छ।

यो विद्यालयमा अहिले १ हजार ६ सय विद्यार्थी छन्। एसएलसीमा यो सामुदायिक विद्यालयले यहाँका नाम चलेका बोर्डिङ स्कुलसँग टक्कर दिँदै राम्रो नतिजा ल्याउन सफल भएको छ। यहीँ स्कुलकी भावना अर्यालले ९३ दशमलव ८७ प्रतिशत अंक ल्याएर यस वर्षको एसएलसीमा सामुदायिकतर्फ प्रथम भइन्।

भावनासँगै एसएलसी दिएका यहाका १ सय ९१ विद्यार्थीमध्ये ४९ विशिष्ट र ९१ प्रथमसहित १ सय ५८ जना पास भए। विशिष्ट श्रेणीमा पास भएकामध्ये ११ विद्यार्थीको अंक ९० प्रतिशतभन्दा बढी छ।

'शैक्षिक सुधार अभियानमा हामीले अभिभावकलाई साथ लिएर अघि बढ्यौं, सिंगो समाजलाई विश्वास दिन सक्यौं,' विद्यालयका सहप्राचार्य कुलप्रसाद लामिछानेले भने, 'समाजमा विश्वास दिन सकेकैले बोर्डिङ स्कुल छाडेर विद्यार्थी धमाधम यहाँ आइरहेका छन् ।' सबै शिक्षकले आफ्ना छोराछोरी अनिवार्य यहीँ विद्यालय भर्ना गरेका छन्।

कुनै बेलाको प्रतिष्ठित बुटवलको कान्ति उच्च माविले पनि बोर्डिङ स्कुलमा छोराछोरी पढाउने लहर चलेपछि साख बचाउन सकेन। यहाँ पनि २०६७ सालदेखि शैक्षिक सुधार कार्यक्रम सुरु भयो। अंग्रेजी माध्यममा पठनपाठन, शैक्षिक क्यालेन्डरअनुसार पठनपाठन र विद्यालयका अन्य गतिविधि सञ्चालन भएपछि विद्यालयको गुमेको साख फर्केको प्राचार्य गोविन्द ज्ञवालीले बताए। यो वर्षको एसएलसीमा मनोज भण्डारीले ९३ दशमलव ५० प्रतिशत अंक ल्याए। विद्यालयबाट एसएलसी दिएका १ सय २९ जनामध्ये ४७ जना विशिष्ट, ५७ प्रथम र १६ जना दोसो श्रेणीमा गरी १ सय २० जना पास भए।

केही वर्षदेखि शैक्षिक सुधार गरेर यहाँका बोर्डिङ स्कुललाई टक्कर दिइरहेको कालिका उच्च माविको नतिजा पनि लोभलाग्दो छ। १ सय २७ विद्यार्थीले परीक्षा दिएकोमा १२ विशिष्ट, ८४ प्रथम, २२ जना दोसो श्रेणीमा सहित १ सय १८ जना विद्यार्थी पास भए। छात्रा गायत्री घर्तीले ९० दशमलव ६३ प्रतिशत ल्याइन्।

हरेक वर्ष कालिका उच्च माविले भर्ना मिति सकिनुअगावै भर्ना कार्यक्रम बन्द गर्नुपर्ने बाध्यता छ। 'विद्यार्थीको चाप धेरै भयो, त्यसैलाई थेग्न भर्ना मिति सकिनुअघि नै बन्द गर्नुपर्ने अवस्था छ,' प्राचार्य घनश्याम पाठक भन्छन्। अहिले कालिकामा कक्षा नर्सरीदेखि कक्षा १० सम्म १ हजार ८ सय विद्यार्थी पढ्छन्। यो शैक्षिक सत्रमा १ हजारभन्दा बढी विद्यार्थीले यहाँ भर्ना हुन खोज्दा पाएनन्।

कुनै बेला सुकुमबासीका छोराछोरीले पढ्ने विद्यालय भनिने नवीन औद्योगिक उच्च मावि अहिलेे यहाँका मध्यम र उच्च वर्गका छोराछोरीले पढ्ने विद्यालय भनेर चिनिँदैछ। 'विद्यालयको शैक्षिक गुणस्तर सुध्रेपछि समाजमा विद्यालयप्रति विश्वास बढेको छ,' प्राचार्य प्रेम बस्नेतले भने। यसपालि एसएलसी दिएका ५३ जनामध्ये ३० जना प्रथमसहित ४३ जना उत्तीर्ण भए।

छिमेकी विद्यालयले शैक्षिक सुधारको अभियान थालेर लोभलाग्दो नतिजा ल्याएपछि दुई वर्षअघि बुटवल–९, दीपनगरस्थित सिद्धेश्वरी उच्च माविले पनि शैक्षिक सुधार अभियान थाल्यो। शैक्षिक सुधार अभियानको पहिलो वर्षमै ७५ प्रतिशत विद्यार्थी पास गराउन सफल यो विद्यालयले यसपालि ४१ जनाले एसएलसी दिएकोमा १ विशिष्ट, १३ प्रथमसहित ३८ जना पास गराउन सफल भयो, यो पास संख्या ९३ प्रतिशत हो। दुई वर्षअघि १० देखि १२ प्रतिशत विद्यार्थी मात्रै पास हुँदै आएका थिए।

सहरमा बोर्डिङ स्कुलसग" टक्कर दिने गरी सामुदायिक विद्यालय अघि बढिरहेका बेला ग्रामीण क्षेत्रमा पनि शैक्षिक सुधारको उस्तै लहर सुरु भएको छ। रुपन्देहीको गजेडीस्थित प्रगति उच्च माविमा एसएलसीमा सहभागी १ सय २४ विद्यार्थीमध्ये विशिष्ट तीन, प्रथम ५६ सहित १ सय २३ जना पास भए।

शैक्षिक सुधार गरेर राम्रो नतिजा ल्याएर बोर्डिङ स्कुललाई टक्कर दिएका यहाँका विद्यालयका प्राचार्य शैक्षिक सुधारका लागि पहिले शिक्षक नै अग्रसर हुनुपर्ने बताउँछन्। 'शैक्षिक सुधार अब शिक्षक आफैंले गर्नुपर्छ, अरूलाई दोष दिने होइन। यो अभियानमा अभिभावकलाई सँगै हिँडाउने काम शिक्षकको हो,' कालिका उच्च माविका प्राचार्य घनश्याम पाठकको निष्कर्ष छ।

पाठकको यो निष्कर्षस"ग कान्ति उच्च माविका प्राचार्य ज्ञवाली र शान्ति उच्च माविका सहप्राचार्य लामिछाने पनि सहमत छन्। 'विद्यार्थी संख्या घट्नुमा अरू कसैको कमजोरी होइन, शिक्षक आफैंको हो भन्ने अनुभूति हुन आवश्यक छ,' कान्तिका ज्ञवाली भन्छन्।

शान्ति नमुनाका लामिछाने पढाउने शिक्षकले भएकाले टिम वर्किङ गर्दै अघि बढ्नुपर्ने र त्यसका लागि समुदायबाट आवश्यक वातावरणका लागि सहयोग लिनुपर्ने बताउँछन्। 'व्यवस्थापन समितिको काम शिक्षकलाई प्रोत्साहित गर्ने हो। गर्ने त शिक्षकले नै हो,' लामिछानेको सिधा जवाफ छ। शैक्षिक सुधारको पहिलो सर्त शिक्षकले छोराछोरी आफूले पढाउने विद्यालयमा भर्ना गर्नुपर्ने राम्रो नतिजा ल्याएका विद्यालयका प्राचार्यहरूको भनाइ छ। 'यसो गर्दा बल्ल समुदायले शिक्षक र विद्यालयप्रति विश्वास गर्दोरहेछ, छोराछोरी बोर्डिङ पढाएर सुधार गर्न सकिँदैन र समाजले विश्वास पनि गर्दैन,' शान्ति नमुनाका सहप्राचार्य लामिछानेले भने।

शैक्षिक सुधार अभियानअन्तर्गत अभिभावकस"ग नियमित अन्तर्क्रिया र छलफल पनि आवश्यक रहेको प्राचार्यहरूको भनाइ छ। 'विद्यालयमा शिक्षकले मात्रै पढाएर हु"दैन, घरमा अभिभावकले निगरानी गरेनन् भने सुधार्न सम्भव छैन,' कालिकाका प्राचार्य पाठकले भने। अभिभावकको विश्वास बढेपछि स्वाभाविक रूपमा विद्यालय र अभिभावकबीचको अन्तर्क्रिया पनि बढ्दै जाने उनको भनाइ छ।

दस वर्ष बोर्डिङ स्कुल पढाएर दुई वर्षयता शान्ति नमुना उच्च माविमा अंग्रेजी पढाउँदै आएका शिक्षक राजेन्द्रमान केसीले सामुदायिक विद्यालयमा शिक्षक, विद्यार्थी र अभिभावकबीचको सम्बन्ध लोभलाग्दो रहेको अनुभव सुनाए। 'नजिकको सम्बन्धले आपसमा खुला छलफल हुने तथा बुझ्न र बुझाउन सजिलो हुने रहेछ,' उनले भने।

अब सामुदायिक विद्यालयमा पनि अंग्रेजी माध्यम अनिवार्य भएको छ। अंग्रेजीको मोहले राम्रा विद्यार्थी बोर्डिङ भर्ना गर्ने अभिभावक धेरै छन्। अंग्रेजी माध्यम चलाउँदा राम्रा विद्यार्थी तान्न सकिने र नतिजा राम्रो दिन सकिने प्राचार्यहरू बताउँछन्। 'अब शिक्षा सेवा आयोगले शिक्षक भर्ना खुलाउँदा अंग्रेजी राम्रो जानेकालाई प्राथमिकता दिनुपर्छ,' शान्तिका सहप्राचार्य लामिछानेले भने।


उत्कृष्ट विद्यार्थी भन्छन्- मेहनतअनुसार नतिजा
यस वर्षको एसएलसीमा ९३ दसमलव ८८ प्रतिशत अंक ल्याएर उत्तीर्ण गरेकी शान्ति नमुना उच्च माविकी भावना अर्यालले मेहनत गरेअनुसार राम्रो नम्बर ल्याएको बताइन्। 'राम्रो नम्बर आउ"छ भन्ने आशा गरेेकी थिए",' उनले नागरिकसँग भनिन्।

उनले आफ्नो सफलतामा आफूमात्रै नभएर बुबा, आमा र विद्यालयका गुरुहरूको पनि हात रहेको बताइन्। सानैदेखि पढ्नमा तीक्ष्ण भावनाको भविष्यमा योग्य डाक्टर बन्ने लक्ष्य छ। उनले प्लस टुमा विज्ञान विषय लिएर पढ्दैछिन्। 'म मुटुरोग विशेषज्ञ बन्न चाहन्छु,' उनले सुनाइन्।

कक्षा ६ सम्म स्थानीय बोर्डिङ स्कुलमा पढेकी उनी कक्षा ७ बाट सामुदायिक विद्यालयमा आएकी हुन्। सामुदायिक विद्यालयले शैक्षिक सुधार अभियान चलाएको देखेपछि छोरीलाई निकै जोडबल गरेर सामुदायिक विद्यालयमा भर्ना गरेको बाबु माधव अर्यालले बताए। 'छोरीले बोर्डिङ छाड्न नमान्दा उतिबेला कम गाह्रो भएन,' उनले भने, 'छोरीलाई बोर्डिङ छुटाउन हुन्न भन्ने पक्षमा आमा पनि थिइन्। जोडबल गरेर आमाछोरीलाई मनाएँ।'

बोर्डिङ स्कुलमा भन्दा सामुदायिक विद्यालयमा शिक्षक र विद्यार्थीको आत्मीय र सरल सम्बन्ध भएकाले सिकाइ सजिलो भएको भावनाले बताइन्। 'विद्यालयमा मैले सोचेभन्दा राम्रो वातावरण पाए", त्यसले मलाई झन् राम्रो गर्न प्रेरित गर्योव,' उनले भनिन्।

उनका बाबु माधव शिक्षक हुन्। भावनाका दाजु भुवनले पनि शान्तिबाटै २०६९ सालको एसएलसीमा ९० प्रतिशत अंक ल्याएका थिए।

कान्ति उच्च माविबाट ९३ दशमलव ५० प्रतिशत अंक ल्याएका मनोज भण्डारीले पनि मेहनतअनुसार राम्रो नम्बर ल्याउन सकेको भन्दै खुसी व्यक्त गरे। कपिलवस्तुको तौलिहवाका मनोज यहाँ कक्षा ८ देखि पढ्न थालेका हुन्। उनले भविष्यमा डाक्टर बन्ने लक्ष्य लिएका छन्। उनले यो सफलताको श्रेय आफू मात्रै नभएर आमा–बाबु र विद्यालयका शिक्षकलाई समेत दिए। 'शैक्षिक वातावरण राम्रो भएकाले मैले राम्रो गर्न सकेँ,' उनले भने।

भावनाको अंक

विज्ञान ९७ गणित १०० ऐच्छिक गणित ९८ अंग्रेजी ९४ नेपाली ९० वातावरण तथा जनसंख्या ८७ सामाजिक ८६ कम्प्युटर ९९ कुल ७५१

नागरिकमा शेरबहादुर केसीले लेखेका छन् । 

प्रतिक्रिया