Edukhabar
शुक्रबार, ०४ असोज २०८१
अन्तैवाट

माध्यमिक दरबन्दीका शिक्षक बिना शतप्रतिशत नतिजा

सोमबार, ०७ असार २०७२

dhading-schoolकाठमाडौं ७ असार / माध्यमिक दरबन्दीका शिक्षकबिनै धादिङ्का ३ वटा सामुदायिक विद्यालयले एसएलसीमा शतप्रतिशत नतिजा ल्याएका छन् । ७ वर्षसम्म लगातार शतप्रतिशत नतिजा ल्याउने धादिङ सदरमुकामको तल्लोबेंसीस्थित सुनौलो भैरवी माविमा निमावि र मावि शिक्षक दरबन्दी राज्यले उपलब्ध गराएको छैन ।

सामुदायिक विद्यालयको नतिजा खस्किएको आरोप लागिरहँदा यो सामुदायिक विद्यालयले एसएसली परीक्षामा सातौंपटक पनि शतप्रतिशत नतिजा ल्याएको हो । यसपटकको एलएलसीमा यस विद्यालयबाट सहभागी १८ विद्यार्थीमध्ये ७ जना विशिष्ट र ११ जना प्रथम श्रेणीमा उत्तीर्ण भएका छन् । अठार शिक्षक कर्मचारी रहेको उक्त विद्यालयमा प्राथमिक तहका ३ स्थायी र १ राहत दरबन्दी शिक्षक रहेको प्रधानाध्यापक रमेश गुरुङले बताए ।

माध्यमिक तहको दरबन्दी नै नभएर एसएलसीमा शतप्रतिशत नतिजा ल्याउने यो विद्यालय मात्रै हैन । प्राथमिक र निम्नमाध्यमिक तह मात्रको दरबन्दीमा अरू थप २ वटा विद्यालयहरूले पनि शतप्रतिशत नतिजा प्राप्त गरेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । खाल्टे–१, पाल्तेस्थित समुदायले आन्तरिक स्रोतमा सञ्चालन गरेको शंखादेवी माध्यमिक विद्यालयबाट २०७१ मा एसएलसी परीक्षामा सामेल भएका १८ जना परीक्षार्थी सबैले प्रथम श्रेणीमा उत्तीर्ण भएको विद्यालय व्यवस्थापन समितिका सदस्य शेरबहादुर गुरुङले बताएका छन् । यो विद्यालयमा ३ जना मात्रै सरकारी प्राथमिक तहको दरबन्दी छ ।

ढोला–९, मैदानस्थित कालिका माध्यमिक विद्यालयबाट परीक्षामा सहभागी ३० जना परीक्षार्थीमध्ये १२ जनाले प्रथम श्रेणीमा, ८ जना द्वितीय श्रेणी र १० जना तृतीय श्रेणीमा उत्तीर्ण भई शतप्रतिशत नतिजा हासिल गरेका छन् ।

‘लगनशील शिक्षक, चेतनशील अभिभावक र चुस्त व्यवस्थापन भएपछि सामुदायिक विद्यालयहरू पनि धेरै कुरामा अगाडि छन् भन्ने कुरा सामुदायिक विद्यालयहरूले प्रमाणित गरेको’ जिल्ला शिक्षा अधिकारी गणेशप्रसाद ढकालले बताए ।

कान्तिपुरमा हरिहरसिंह राठौरले लेखेका छन् ।

प्रतिक्रिया