Edukhabar
शुक्रबार, ०४ असोज २०८१
अन्तैवाट

प्रधानाध्यापक नेता भएपछि १४ विद्यालयको नतिजा शून्य

विहीबार, १० असार २०७२

काठमाडौं १० असार/ कांग्रेस खोटाङ सचिव केशव कार्की सरस्वती उच्च मावि छितापोखरीका प्रधानाध्यापक हुन् । प्रअ र पार्टी सचिवको दोहोरो भूमिकामा रहेका कार्कीको विद्यालयले यसपटकको एसएलसीमा निल खाएको छ । 

यस्तै नेपाल कम्यूनिष्ट पार्टीका पोलिटब्यूरो सदस्य एवं पूर्व सभाषद् केपी फूयाल बालबालिका मावि मात्तिमका व्यवस्थापन समिति अध्यक्ष हुन् । यस विद्यालयले पनि यसपालीको एसएलसीमा शुन्य नतिजा ल्याएको छ । 

राम्चे निकेतन मावि बतासेका व्यवस्थापन समिति अध्यक्ष रामप्रसाद दंगाल एमाले जिल्ला उपाध्यक्ष हुन् । दंगाल व्यवस्थापन समिति अध्यक्ष रहेको माविले पनि नतिजा शुन्य ल्यायो । 

एकीकृत माओबादीका जिल्ला सदस्य सुबासचन्द्र राई अध्यक्ष  रहेको बालकन्या उच्च मावि फाक्टाबाट एसएलसीमा एक जना पनि विद्यार्थी उतिर्ण गराउन सकेनन । 

नेताहरुले विद्यालय व्यवस्थापन वा प्रधानाध्यापक सम्मालेका अधिकांश विद्यालयको नतिजा सन्तोषजनक छैनन । शुक्रबार सार्वजनिक भएको नतिजा अनुसार १४ विद्यालयको नतिजा शुन्य छ । १६ विद्यालयले एक/ एक जना मात्रै पास गराउन सफल भएको छ । तीन हजार सात सय ५७ जनाले परीक्षा दिएकोमा १२ जनाले मात्रै बिशिष्ट श्रेणीमा पास गरेका छन् ।  

राजनीतिमा सक्रिय रहेर शिक्षकको जागिर खाने र नामका लागि व्यवस्थापन समितिको अध्यक्ष बन्ने नेताका कारण शैक्षिक गुणस्तरमा असर परेको सामुदायिक विद्यालय व्यवस्थापन समितिका जिल्ला अध्यक्ष प्रतिमान राईले बताए ।

आजको नया पत्रिका दैनिकमा खोटाङबाट केदार मगरले यो खबर लेखेका छन् । 

 

 

प्रतिक्रिया