Edukhabar
शुक्रबार, ०४ असोज २०८१
अन्तैवाट

विपदको धक्का एसएलसीमा

शुक्रबार, ११ असार २०७२

विपदको धक्का एसएलसीमाकाठमाडौं ११ असार / यसपटकको एसएलसी कृष्णा सुनारको जीवनमा असफलताको पहिलो घटना बन्यो। पढाइमा अब्बल उनी यसको दोष आफ्नो क्षमतालाई होइन, विपत्तिलाई दिन्छिन्। 'परीक्षाको बेलासमेत बाढीको पीडाले झस्काइरह्यो,' महिला प्रशिक्षण केन्द्रस्थित शिविरमा बस्दै आएकी उनले भनिन्, 'जति प्रयास गर्दा पनि परीक्षामा राम्रो गर्न सकिएन।'

अमरज्योति नमुना उच्च माविबाट परीक्षामा सहभागी कृष्णा अंग्रेजी विषय लाग्दा पूरकमा परेकी छन्। प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण हुने सपना गत साउनको बाढीले बगाइदिएको हो।

विपत्तिले विद्यार्थीको पढाइ कसरी बिथोल्छ भन्ने कृष्णा एक प्रतिनिधिपात्र हुन्। बाढीपहिरोले उनीजस्ता थुप्रै विद्यार्थीको सपना बगाएको छ, जुन अहिलेको एसएलसी परिणाममा देख्न सकिन्छ। बाढीबाट अधिक प्रभावित क्षेत्रका कतिपय विद्यालयको नतिजा शून्यमा झरेको छ भने केही विद्यालयले मुस्किलले साख जोगाएका छन्।

सहायक प्राचार्य खगेन्द्र थापाका अनुसार एसएलसीमा १ सय ९३ विद्यार्थी सहभागी अमरज्योति उमाविका करिब १० प्रतिशत विद्यार्थी घरबारविहीन थिए। उनीहरूले अस्थायी शिविरमै बसेर परीक्षा दिए। 'यस्तो अवस्थामा कसरी राम्रो नतिजा अपेक्षा गर्न सकिन्छ,' उनले भने, 'बाढीकै कारणले पनि यसपटक विद्यालयको नतिजा धेरै तल झर्योो।' विद्यालयबाट ३९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको उनले बताए।

विगतमा औसत नतिजा ल्याउँदै आएको भेरी मावि, तरंगाले यसपटक शून्य परिणाम भोग्नुपर्योन। ६८ परीक्षार्थीमध्ये एक जना पनि उत्तीर्ण हुन सकेनन्। स्थानीय अभिभावक जनक शाही बाढीपहिरोकै कारण विद्यार्थीको पढाइ बिथोलिएको बताउँछन्। उनका अनुसार एसएलसीमा सहभागी अधिकांश विद्यार्थी बाढीपहिरो प्रकोपबाट प्रत्यक्ष प्रभावित थिए। 'कतिपय विद्यार्थीले त अभिभावक र आफन्त गुमाएका थिए,' उनले भने, 'त्यस्तो मनस्थितिमा दिएको परीक्षा सफलै हुन्छ भनेर कसरी विश्वास गर्ने?'

जिल्ला शिक्षा कार्यालयका अनुसार यसपटकको एसएलसीमा आठवटा सामुदायिक विद्यालयको नतिजा शून्य आएको छ। तीमध्ये ६ विद्यालय बाढीपहिरोबाट अत्यधिक प्रभावित गाविसमा छन्। कार्यालयका विद्यालय निरीक्षक भोजप्रसाद लम्साल एसएलसी नतिजा खस्किनुमा बाढीपहिरोको प्रभाव महŒवपूर्ण कारक रहेको बताउँछन्। 'नतिजा राम्रो नआउनुमा अरू कारण पनि होलान्,' उनी भन्छन्, 'तर, तात्कालिक रूपमा विपत्तिले विद्यार्थीको मनोविज्ञानमा नकारात्मक असर पार्दा यस्तो अवस्था देखिएको हुन सक्छ।'

नेपालमा साउन, भदौ, असोज र मंसिर महिनालाई शैक्षिक सत्रको 'पिकआवर' मानिन्छ। साउन अन्तिम साताको भीषण बाढीपहिरोले सुर्खेतमा भने उक्त अवधिलाई त्रासदीपूर्ण बनाइदियो। भदौ तेस्रो सातासम्म विद्यालय बन्द नै थिए। त्यसपछि क्रमिक रूपमा खुले पनि मनोवैज्ञानिक त्रासले विद्यार्थीदेखि शिक्षकसम्मलाई सताइरह्यो। 'रफ्तारमा पढाइ हुने समयमा पठनपाठन बन्द भएपछि त्यसको असर एसएलसीमा आएर देखियो,' भेरी मावि, रानीघाटका प्रधानाध्यापक रत्नबहादुर बुढा भन्छन्, 'विपत्तिले धेरै विद्यार्थीको भविष्य पछि धकेलेको छ।'

उनको विद्यालयबाट एसएलसीमा सहभागी २८ मध्ये दुई जना मात्र उत्तीर्ण भएका छन्। राम्रो अंकसहित उत्तीर्ण हुने अपेक्षा गरिएका झुपलाल रोकाया, पार्वती रोकायालगायत केही विद्यार्थीको नतिजा बिग्रिएको प्रधानाध्यापक बुढाले बताए। उनका अनुसार बाढीपहिरोपछि एसएलसीको तयारीमा रहेका ६ जना विद्यार्थी त डुंगाको भरमा विद्यालय आउजाउ गर्थे। 'कहिलेकाहीँ डुंगा चढ्ने पैसा नहुँदा उनीहरूको पढाइ नै छुट्थ्यो,' उनले भने, 'यस्तो अवस्थामा परीक्षामा सहभागी विद्यार्थीले कसरी राम्रो नतिजा ल्याउन सक्छन्?'

सुर्खेतमा एसएलसीमा सहभागी ८६ सामुदायिकमध्ये ३१ विद्यालयमा बाढीपहिरो प्रभावित बालबालिका अध्ययनरत थिए। शिक्षा कार्यालयका अनुसार ती विद्यालयमा विगतको तुलनामा नतिजा निकै खस्किएको छ। उपत्यकाभित्रका अमरज्योति नमुना उमावि, श्रीकृष्ण संस्कृत तथा साधारण उमावि, जन उमावि, भैरव उमाविलगायत विद्यालयको नतिजा खस्किएको विद्यालय निरीक्षक लम्सालले बताए।

उपत्यकाबाहिरका बाढीपहिरो प्रभावित विद्यालयको नतिजा झन् उदेकलाग्दो छ। शून्य नतिजा आएबाहेकका विद्यालयको उत्तीर्णता दर पनि निकै कम छ। बीजेश्वरी मावि, हरिहरपुरबाट परीक्षामा सहभागी २२ मध्ये तीन जना मात्र उत्तीर्ण छन्। उक्त विद्यालयको भवन बाढीले बगाएपछि अहिले पनि अस्थायी सिकाइ केन्द्रमै सञ्चालन भइरहेको छ। त्यस्तै, सरस्वती मावि चेपाङबाट सहभागी ४८ र कालपानी मोहटीस्थित माविबाट सहभागी २९ मध्ये दुई–दुई जना मात्र उत्तीर्ण छन्।

'बाढीपहिरोले बढी प्रभाव पारेको क्षेत्रका विद्यालयमा यस्तो नतिजा आउनु संयोग मात्र होइन,' विद्यालय निरीक्षक लम्साल भन्छन्, 'कुनै न कुनै रूपमा विपदको प्रभावले परीक्षालाई समेत छोएको सहजै बुझ्न सकिन्छ।'

विपदले एसएलसी तयारीमा रहेका विद्यार्थीमा यति गहिरो असर पार्योल कि परीक्षामा उत्तीर्ण हुने आत्मबल नै क्षीण बनाइदियो। श्रीकृष्ण संस्कृत तथा साधारण उमाविबाट एसएलसीमा सहभागी भरत शाही औसत क्षमता भएको विद्यार्थीमा गणना हुन्थे। उनी यसअघि कहिल्यै असफल भएका पनि थिएनन्। तर, परीक्षा सकिएलगत्तै उनी 'पास भइँदैन' भन्दै कामको खोजीमा भारततिर गए। नभन्दै उनले पूरकको मौकासमेत पाएनन्। 'पहिला त पढाइ राम्रै थियो, पालमा आएपछि भने काम गर्दै पढ्नुपर्ने अवस्था आयो,' भाउजू खगिसराले भनिन्, 'पढाइभन्दा गाँसबासको चिन्ताले सताएपछि पढेर राम्रो गर्ने सपना देखेका देवरको यो अवस्था भयो।'

विपदले विद्यार्थीमा पारेको सबैभन्दा ठूलो क्षति मनोवैज्ञानिक असर हो। अभिभावक तथा आफन्त गुमाएका र जन्मे–हुर्केको थातथलोबाट विस्थापित भएर पालमा आइपुगेका विद्यार्थीले जति प्रयास गर्दा पनि विपदको पीडा बिर्सन सकेनन्। विपदले समग्र विद्यालय संरचना नै खलबलियो। शिक्षक अलमलमा परे। अभिभावकले सन्तानका लागि सोच्नसमेत भ्याएनन्। 'मानसिक स्वास्थ्य असन्तुलित भए व्यक्तिले कुनै पनि काममा सफलता हासिल गर्न सक्दैन,' मनोविमर्शकर्ता विमला डाँगी भन्छिन्, 'बाढीपहिरोले शिक्षक, विद्यार्थी र अभिभावकको मानसिक स्वास्थ्यमा आघात पुर्यारउँदाको असर एसएलसीमा देखियो।'

महिला प्रशिक्षण केन्द्रस्थित अस्थायी शिविर व्यवस्थापन समितिका अध्यक्षसेमत रहेका कृष्णाका बुबा पदमबहादुर यो वास्तविकतालाई अस्वीकार गर्न सक्दैनन्। उनले आफू पालमै बसेर भए पनि छोराछोरीका लागि भाडाको कोठा व्यवस्था नगरेका होइनन्। तर, जान्ने–बुझ्ने भइसकेका छोराछोरीलाई मानसिक तनाबले कोठासम्मै गएर लखेट्यो। 'आफू भोकभोकै रहेर भए पनि छोराछोरीको पढाइका लागि कोठा भाडामा लिएँँ,' उनले भने, 'तैपनि उनीहरूको पढाइ पहिलेको अवस्थामा फर्काउन सकिएन।'

अब के गर्ने?

एसएलसी नतिजाले विपदपछि बालबालिकाको जीवनका अन्य पक्षझैं शिक्षाक्षेत्र पनि 'ट्र्याकआउट' हुन्छ भन्ने देखाएको छ। यस्तो अवस्थामा राज्यले उनीहरूलाई आवश्यक अनुकूल वातावरण निर्माण गरेर सामान्य अवस्थामा हिँडाउन पहल गर्नुपर्ने सरोकारवाला बताउँछन्।

पदमबहादुरको विचारमा सरकारले बाढीपहिरो प्रकोपलगत्तै एसएलसी लक्षित गरी बालबालिकालाई पाठ्यपुस्तक र ट्युसनलगायत अन्य सहयोग गरेको भए परिणाम यति निराशाजनक आउने थिएन। सुर्खेतमा देखिएको परिणामबाट भूकम्पप्रभावित क्षेत्रका बालबालिकाका लागि पनि बेलैमा पाठ सिकेर सुधारका कदम चालिहाल्नुपर्ने उनको भनाइ छ। 'शिक्षाभन्दा ठूलो अरू हुन सक्दैन,' उनले भने, 'त्यसैले सरकारले बालबच्चाको पढाइको लागि विशेष योजना बनाउनुपर्छ।' अहिले पूरकमा परेकाहरूको लागि समेत सहयोग गर्नुपर्ने उनको माग छ। 

नागरिकमा कलेन्द्र सेजुवालले लेखेका छन् । 

प्रतिक्रिया