Edukhabar
शुक्रबार, ०४ असोज २०८१
अन्तैवाट

पाँचवटा कक्षा एउटा कोठा

शनिबार, १२ असार २०७२

काठमाडौं १२ असार / सामुदायिक वन समूहको एउटा साँघुरो कोठामा करिब ३५ बालबालिका अटाइनअटाई कोचिएर बसेका छन् । त्यही कोठामा तीन शिक्षक उनीहरूलाई कखरा सिकाउँदै छन् ।

सिन्धुलीको कल्पवृक्ष–५ सहानमा रहेको मिलीजुली प्राविको दृश्य हो यो । भूकम्पले विद्यालय भवन भत्किएपछि नजिकै रहेको सामुदायिक वन समूहको सानो घर नै अहिले बालबालिकाको कखरा सिक्ने स्थल बनेको छ । वन समूहको सानो कोठामा कक्षा १ देखि ५ सम्मका विद्यार्थी एकैठाउँमा खाँदिएर पढ्छन् ।

विनाशकारी भूकम्पले विद्यालय भवन भत्किएपछि मिलीजुली प्रावि अहिले नजिकै रहेको पशुपति सामुदायिक वन उपभोक्ता समूहको घरमा सञ्चालन भइरहेको छ । समूहको मिटिङ गर्ने एउटा सानो कोठामा नै अहिले कक्षा १ देखि ५ सम्मका बालबालिका आफ्नो भविष्य कोरिरहेका छन् । ‘भूकम्पले भवन भत्किएकाले विद्यालयमा बसेर पढाउन सक्ने अवस्था रहेन, त्यही भएर सामुदायिक वन समूहको भवनलाई नै तत्कालका लागि पढाइ हुने स्थल बनाएका छौँ,’ शिक्षक धनवीर माझीले भने ।

कक्षा १ देखि ५ सम्मका बालबालिकालाई एकैठाउँमा राखेर पढाउन समस्या छ । तर, अर्को विकल्प नहुँदा सबै विद्यार्थीलाई एकैठाउँमा राखेर भए पनि पढाइलाई निरन्तरता दिइएको माझीले बताए । ‘एउटै कोठामा भए पनि फरक–फरक कक्षाका विद्यार्थीलाई फरक–फरक दिशातर्फ फर्काएर पढाउँछौँ, विद्यार्थी धेरै छैनन्, पढाइ चलेकै छ,’ माझीले भने । कक्षा पाँचसम्म पढाइ हुने मिलीजुली प्राविमा यस वर्ष जम्मा ४६ विद्यार्थी भर्ना भएका छन् । त्यसमा पनि नियमित विद्यालय आउने भनेका २५ देखि ३० जना मात्रै हुन्छन् ।

अघिकांश माझी समुदायको बसोवास रहेको सहानमा अझै पनि अभिभावकमा आफ्ना बालबालिकालाई पढाउनुपर्छ भन्ने चेतनाको विकास हुन सकेको छैन । ‘हाम्रो करकापले विद्यालयमा भर्ना गरे पनि अभिभावक नियमित रूपमा आफ्ना बालबालिकालाई पढ्न पठाउँदैनन्,’ शिक्षक माझी भन्छन्, ‘यो गाउँमा गरिबी छ, चेतना छैन ।’ 

नयाँ पत्रिकामा जनार्दन पोखरेलले लेखेका छन् 

प्रतिक्रिया