Edukhabar
शुक्रबार, ०४ असोज २०८१
अन्तैवाट

किताब आइनपुग्दै बन्द भए विद्यालय

आइतबार, १३ असार २०७२

काठमाडौं १३ असार / विद्यार्थीको हातमा पाठ्यपुस्तक नपुग्दै म्याग्दी जिल्लाका अधिकांश सामुदायिक विद्यालयमा शुक्रबारदेखि वर्षे बिदा भएको छ। जिल्लाका अधिकांश सामुदायिक विद्यालयमा पाठ्यपुस्तक पुगेको छैन। यी विद्यालय अब भदौदेखि मात्र खुल्छन्।

‘पाठ्यपुस्तक विद्यार्थीको हातमा नपुग्दै विद्यालय ४५ दिनका लागि बन्द भए। यो बीचमा विद्यालयसम्म भए पनि पाठ्यपुस्तक पुर्‍याउने प्रयास गर्ने छौं,’ जिल्ला शिक्षा अधिकारी दिलीपकुमार ठाकुरले भने, ‘हामीलाई पुस्तकको बजेट आएको छ। तर, भूकम्पले सबै क्षेत्रमा अस्तव्यस्त बनाएकाले पाठ्यपुस्तक प्रकाशन र वितरणमा समेत समस्या आएको हो।’

विद्यालयमा १ थान पाठ्यपुस्तक पनि नहुँदा अध्यापनमा समस्या भएको छ। पुस्तक व्यवसायीका अनुसार जिल्लाका ग्रामीण भेगका सामुदायिक विद्यालयको कक्षा ८ मा अध्ययनरत एक हजार बढी विद्यार्थीले पाठ्यपुस्तक पाएका छैनन्। शिक्षा कार्यालयको अभिलेखअनुसार कक्षा ८ मा जिल्लाभर २ हजार ५ सय ७१ विद्यार्थी अध्ययनरत छन्। कक्षा ९ र १० मा पनि केही ऐच्छिक विषयका पाठ्यपुस्तक पुगेका छैनन्।

‘कक्षा ८ का एक हजारभन्दा बढी पाठ्यपुस्तकको माग छ तर प्रकाशन र वितरण जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्रले पुर्‍याउन सकेको छैन,’ जिल्ला पुस्तक व्यवसायी संघका अध्यक्ष लीलाराम गौतमले भने, ‘पाठ्यपुस्तक खोज्न हामी जनक शिक्षाको पोखरा र काठमाडौं केन्द्रीय कार्यालयमा समेत पुग्यौं। तर, पाउन सकेनौं।’जनक शिक्षाले चैतमै सदरमुकाममा बिक्री कक्ष स्थापना गरे पनि जिल्लामा मागअनुसारका पाठ्यपुस्तक उपलब्ध नगराई फर्केको छ। पाठ्यक्रम पुरै परिवर्तन भएको कक्षा ८ का पाठ्यपुस्तक उपलब्ध नहुँदा पठनपाठन अवरुद्ध छ। ‘यहीँ बेनीको भानु उच्चमाविमा समेत एक थान पुस्तक पुर्‍याउन सकेको छैन,’ क्याम्पसचोकस्थित बेनी पुस्तक पसलकी बिक्रेता गौरी थापामगरले भनिन्, ‘सुरुमा टाढाका विद्यालयमा पठायौं। पछि पुस्तक ल्याउन सकिएन। समस्या छ।’

सरकारले कक्षा १० सम्मको पाठ्यपुस्तक नि:शुल्क उपलब्ध गराउने भने पनि विद्यार्थीले पुस्तक खरिद गरी भुक्तानी प्राप्त गर्न विद्यालयमा बिल पेस गर्ने र विद्यालयले संकलित बिलका आधारमा शिक्षा कार्यालयमार्फत रकम पाउने व्यवस्था छ।

कान्तिपुरमा घनश्याम खड्काले लेखेका छन् । 

प्रतिक्रिया