Edukhabar
शनिबार, ०५ असोज २०८१
खबर/फिचर

प्राविधिक एसएलसी उत्तीर्ण विद्यार्थीको पढाई शुरु हुन अझै एक महिना

बुधबार, ०२ भदौ २०७२

काठमाडौं २ भदौ / प्राविधिक विषयमा एसएलसी उत्तीर्ण विद्यार्थीको पठन पाठन शुरु हुन अझै एक महिना लाग्ने भएको छ । उच्च माध्यमिक शिक्षा परिषद्ले पाठ्यक्रमलाई अन्तिम रुप दिएको जनाए पनि सबै प्रकृया पुरा हुन बाँकी नै भएकोले समय लाग्ने भएको हो । पाठ्यक्रम पारित गर्न परिषद्को बोर्ड बैठकमा पेश गर्ने र स्विकृतिको लागि मन्त्रालय पठाउने चरणमा रहेको परिषद्का सदस्य सचिव नारायण कोईरालाले जानकारी दिए । पाठ्यक्रम निर्माणको चरणमा रहेको परिषद्ले विद्यालय अनुगमन गर्न बाँकी नै छ । यी सबै प्रकृया सक्न अझै एक महिना लाग्ने छ ।

परिषद्ले बुधबार प्राविधिक शिक्षाको पाठ्यक्रमका बारेमा अन्र्तकृया गरेको थियो । शिक्षा मन्त्री चित्रलेखा यादव समेत सहभागि कार्यक्रममा पाठ्यक्रमलाई अन्तिम रुप दिएको जनाईएको थियो ।

साधारण विषयमा एसएलसी उत्तीर्ण गरेका विद्यार्थीहरूको ११ कक्षाको पढाइ सुरु भएको एक महिना हुन लाग्दा समेत प्राविधिक तर्फका विद्यार्थीले पढ्ने पाठ्यक्रमको टुङ्गो नलाग्दा विद्यार्थी तथा अभिभावक अन्यौलमा छन् ।

मध्यम स्तरको प्राविधिक जनशक्ति उत्पादन गर्ने योजना अनुसार शुरु प्राविधिक तर्फको एसएलसी उत्तीर्ण विद्यार्थीहरुले कहाँ पढ्ने भन्ने बारेमा शिक्षा मन्त्रालयले समयमा निर्णय नगर्दा समस्या भएको हो । ९ र १० मा प्राविधिक विषय पढाउने ९९ सामुदायिक विद्यालयमध्ये पूर्वाधार पुगेकालाई ११ र १२ कक्षा पढाउन दिने शिक्षा मन्त्रालयले निर्णय गरेको थियो। पाठ्यक्रम र पूर्वाधार रहेको सीटीईभीटीलाई पन्छाएर उच्च परिषद्लाई जिम्मेवारी दिँदा थप अन्यौल भएको हो । प्राविधिक तर्फ एसएलसी दिएका  तीन हजार दुई सय ५० विद्यार्थी उत्तीर्ण भएका छन् ।

दुई वर्षअघि ९ कक्षादेखि प्राविधिक विषयमा पढाइ सुरु भएको हो। तर, एसएलसीको नतिजा आउँदा पनि मन्त्रालयले यी विद्यार्थी परिषद् वा सीटीईभीटी कहाँ पढाउने भन्ने अन्यौल हुँदा समस्या भएको हो । प्राविधिक विषय पढेका पिद्यार्थीले बाली विज्ञान, पशु विज्ञान, कम्प्युटर, सिभिल, मेकानिकल इन्जिनियरिङजस्ता विषय पढेका थिए।

नतिजा सार्वजनिक भइसकेपछि मात्रै प्लस टुतर्फ प्राविधिक विषय अध्ययन गराउने निर्णय गरेर शिक्षा मन्त्रालय र परिषद्ले पाठ्यक्रम बनाउन थालेका हुन्।

बुधबार आयोजित कार्यक्रममा परिषद्ले पशु विज्ञान, बाली विज्ञान, ईलेकट्रिकल इन्जिन्यरिङ्ग, सिभिल इन्जिन्यरिङ्ग र कम्प्युटर इन्जिन्यरिङ्ग विषयहरुको पाठ्याक्रम सार्वजनिक गरेको छ ।

२०७० सालमा विभिन्न जिल्लाका सामुदायिक विद्यालयलाई लक्षित गरी शिक्षा मन्त्रालयले कक्षा ९ र १० को पाठ्याक्रमलाई परिमार्जन गरी प्राविधिक विषयलाई समावेश गरेको थियो ।

प्रतिक्रिया