Edukhabar
शुक्रबार, ०४ असोज २०८१
अन्तैवाट

शून्य नतिजा ल्याउने स्कुललाई कारबाही

बुधबार, १६ असार २०७२

शून्य नतिजा ल्याउने स्कुललाई कारबाहीकाठमाडौं १६ असार / एसएलसी परीक्षामा राम्रो नतिजा नल्याएका विद्यालय र शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयले निर्देशन दिएको छ । राम्रो नतिजा ल्याउन नसकेका विद्यालय र शिक्षकलाई कारबाही गरी शिक्षा विभागमार्फत ४५ दिनभित्र मन्त्रालयमा जानकारी गराउन मन्त्रीस्तरीय बैठकले निर्देशन दिएको हो ।

कमजोर नतिजा ल्याउने विद्यालयको नतिजा सुधार गर्न नतिजा सुधार कार्ययोजना बनाई कार्यान्वयन गराउने, जिम्मेवारी किटान गर्ने र सोको प्रगति विवरण ४५ दिनभित्र मन्त्रालयमा अनिवार्य रूपमा जानकारी गराउनसमेत सोमबार मन्त्रीस्तरीय बैठकले निर्देशन दिएको छ । एसएलसी नतिजा सुधार र व्यवस्थापनका लागि दिइएको निर्देशन कडाइका साथ कार्यान्वयन गरिने शिक्षा मन्त्रालयका प्रवक्ता डा. हरि लम्सालले बताए ।

शिक्षा नियमावलीअनुसार एसएलसीमा लगातार दुई वर्ष १५ प्रतिशतभन्दा कम विद्यार्थी उत्तीर्ण भएमा दुई ग्रेड रोक्ने व्यवस्था छ । तर, यो व्यवस्था खासै कार्यान्वयनमा आएको पाइँदैन । जिल्ला शिक्षा समिति, जिल्ला अनौपचारिक शिक्षा समिति र निम्न माध्यमिक शिक्षा परीक्षा समिति/माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा समितिका निर्णयहरू जिल्ला शिक्षा कार्यालयबाट चौमासिक रूपमा क्रमश: शिक्षा विभाग, अनौपचारिक शिक्षा केन्द्र र परीक्षा नियन्त्रण कार्यालयमार्फत झिकाई अभिलेख राख्ने व्यवस्था गरी र सोको विश्लेषणसहितको विवरण मन्त्रालयमा पेस गर्न पनि मन्त्रालयले निर्देशन दिएको छ ।

त्यसैगरी, शैक्षिक क्यालेन्डरअनुसार विद्यालयमा तोकिएको दिन पढाइ हुने अनिवार्य व्यवस्था मिलाउने र यस शैक्षिक सत्रमा भूकम्प प्रभावित क्षेत्रका विद्यालयहरूमा तोकिएको पाठ्यभार पूरा गर्ने गरी नयाँ शैक्षिक क्यालेन्डर निर्माण गर्न पनि निर्देशन दिएको छ । सामुदायिक विद्यालयमा क्याम्पस नचलाऊ जिल्लाका कतिपय सामुदायिक विद्यालयमा स्नातक तह वा सोभन्दा माथिको क्याम्पसका कक्षाको पठनपाठनले विद्यालय तहको पठनपाठनमा बाधा पुगेको भन्दै विद्यालय समयमा क्याम्पसका कार्यक्रम नचलाउन निर्देशन दिएको छ ।

सामुदायिक विद्यालय शिक्षाका लागि मात्र प्रयोग गर्न पाउने गरी भवनमा बिहान–बेलुकीको समयमा मात्र विश्वविद्यालय तहका कक्षा सञ्चालनको व्यवस्था गर्न निर्देशन दिएको छ । यस्तै, विद्यालय तह र विश्वविद्यालय तहको व्यवस्थापन समिति छुट्टै हुनुपर्ने र एउटै व्यक्तिले दोहोरो पद धारण गर्न नपाउने व्यवस्था गर्न पनि निर्देशन दिएको छ । 

नयाँ पत्रिकामा भवानीश्वर गौतमले लेखेका छन् । 

प्रतिक्रिया