Edukhabar
शुक्रबार, ०४ असोज २०८१
अन्तैवाट

प्राविधिक एसएलसीका तीन हजार विद्यार्थी अन्योलमा

विहीबार, १७ असार २०७२

काठमाडौं १७ असार / एसएलसी पास भएका साधारणतर्फका विद्यार्थीको उच्च माविमा भर्ना प्रक्रिया सुरु भएको छ । तर, प्राविधिक एसएलसी दिएका तीन हजारभन्दा बढी विद्यार्थी कहाँ र के पढ्ने भन्ने अन्योलमा परेका छन् । शिक्षा मन्त्रालयले प्राविधिक विषय पढेका विद्यार्थीले उच्च माध्यमिक शिक्षा परिषद्अन्तर्गत कक्षा ११ र १२ कक्षामा पढ्न पाउने निर्णय गरेको छ । तर, कुन संस्था र पाठ्यक्रमको टुंगो लगाएको छैन ।

कतिवटा उमाविलाई प्राविधिक विषय पढाउन दिने भन्नेसमेत अहिलेसम्म टुंगो छैन । उच्च माध्यमिक शिक्षा परिषद्की प्रवक्ता हीरा आचार्यले अब पढ्ने शैक्षिक संस्था तथा पाठ्यक्रमको छिटो टुंगो लगाउन प्राविधिक एसएलसी दिएका विद्यार्थी र उनीहरूका अभिभावकले दबाब दिन थालेको बताइन् । ‘दिनदिनै ग्रुप–ग्रुपमा आएर विद्यार्थी र अभिभावकले दबाब दिइरहेका छन् । यो विषयमा परिषद्को निर्णयले हुँदैन, शिक्षा मन्त्रालयको निर्णय हुनुपर्छ,’ आचार्यले भनिन्, ‘मन्त्रालयले केही निर्णय गर्‍यो भन्ने हामीले पनि सुनेका छौँ । तर, औपचारिक पत्र पाएका छैनौँ । विद्यार्थी र अभिभावक आत्तिएकाले फास्ट ट्रयाकमा काम गर्नुपर्ने अवस्था छ ।’ उच्च शिक्षाका लागि विद्यार्थी भर्ना लिने समयमा पाठ्यक्रम बनाउने तयारी भइरहेको छ । परिषद् प्रवक्ता आचार्यले प्राविधिक विषयमा पाठ्यक्रमको खेस्रा तयार भएको बताइन् । प्राविधिक एसएलसी पास भएका विद्यार्थीले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)बाट सञ्चालित कार्यक्रम तथा उच्च माविमा पढ्न सक्ने व्यवस्था गरिएको छ ।

तर, प्राविधिक एसएलसीको नतिजामा पास वा फेल उल्लेख नगरी लेटर ग्रेडिङ गरिएकाले समस्या भएको छ । परिषद्ले कुन ग्रेडका विद्यार्थीलाई भर्ना लिने भन्ने विषयमा जवाफ मागे पनि मन्त्रालयले केही निर्णय दिएको छैन । दुई वर्षअघि सुरु भएको कार्यक्रमबारे पहिल्यै निर्णय हुनुपर्नेमा नतिजा आइसक्दा पनि टुंगो नलाग्नु मन्त्रालयको कमजोरी भएको कर्मचारीहरू बताउँछन् ।

प्राविधिक एसएलसी दिने विद्यार्थीले कक्षा नौदेखि कृषि, इन्जिनियरिङ, पशुपालनजस्ता प्राविधिक विषय अध्ययन गरेका थिए । ०७१ मा पहिलोपटक सुरु भएको प्राविधिक एसएलसीतर्फ देशभरका ९९ विद्यालयबाट तीन हजार दुई सय ९२ परीक्षार्थीले परीक्षा आवेदन फारम भरेका थिए । पनिकाका अनुसार ए प्लस (आउटस्ट्यान्डिङ) ल्याउने दुई सय १५ विद्यार्थी छन् । जसमा एक सय ५० छात्र र ६५ छात्रा छन् । ए (एक्सिलेन्ट) नतिजा ल्याउने सात सय ७९ छन्, जसमा छात्र पाँच सय १७ र छात्रा दुई सय ६२ छन् । बी ग्रेड (भेरी गुड) ल्याउने सबैभन्दा धेरै दुई हजार एक सय ३१ छन् भने सी ग्रेड (गुड) ल्याउनेमा एक सय २४ जना छन् । डी ग्रेडमा एकजना रहेका छन् । 

नयाँ पत्रिकामा भवानीश्वर गौतमले लेखेका छन् । 

प्रतिक्रिया