Edukhabar
मंगलबार, ११ मंसिर २०८१
अन्तैवाट

विद्यार्थीहरु बिरामी, मास हिस्टेरिया भएको चिकित्सकको अनुमान

शुक्रबार, १८ असार २०७२

काठमाडौं १८ असार / नवलपरासीको रतनपुरमा रहेका शङ्खदेव निमाविका विद्यार्थी अचानक बिरामी परेका छन् । बाल ज्योति माविमा भएको रतनपुर गाविसलाई पूर्ण साक्षर गाविस घोषणा सभामा सहभागी भएका विद्यार्थीमा अचानक बेहोस हुने, छाती दुख्ने, पेट दुख्ने समस्या देखिएको हो ।

कार्यक्रमबाट फर्कंदै गर्दा त्यस्तो समस्या देखिएको विद्यालयका प्रधानाध्यापक बैजुनाथ गुप्ताले बताए । गत सोमबार १५ जना विद्यार्थीमा यस्तो समस्या देखिएका मध्ये चारजनालाई मंगलबार चितवनको सिएमसी अस्पताल ल्याइएको थियो ।

चिकित्सकहरुले सामान्य अवस्था रहेको भन्दै घर पठाएको थियो । दुईजना विद्यार्थीलाई भने भर्ना गर्न सुझाव दिएका थिए । अभिभावकले भर्ना गर्न नमानेपछि घर लगिएको थियो ।

बुधबारसम्म पनि विद्यार्थीलाई निको नभएपछि झारफुक गरिएको थियो । झारफुकबाट निको हुन नसकेपछि आज तीनजना विद्यार्थीलाई फेरि नारायणी सामुदायिक अस्पताल भरतपुरमा भर्ना गरिएको छ ।

विद्यार्थीमा मास हिस्टेरिया भएको अनुमान चिकित्सकहरुले गरेको प्रधानाध्यापक गुप्ताले जानकारी दिए । रतनपुरमा रहेका अन्य विद्यार्थीसमेत अझै निको हुन नसकेका कारण बेलैमा उपचार गर्न अस्पताल ल्याउन अभिभावकलाई प्रधानाध्यापक गु्प्ताले आग्रह गरेका छन् । रासस

प्रतिक्रिया