Edukhabar
मंगलबार, ११ मंसिर २०८१
अन्तैवाट

अनियमियतामा संलग्नलाई उपाध्यक्ष बनाउने दाउ

आइतबार, २० असार २०७२

ctevtकाठमाडौ २० असार / अनियमितता ढाकछोप गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसन्धान अधिकारीको आफन्तलाई जागिर दिने व्यक्तिलाई शिक्षामन्त्री चित्रलेखा यादवले सीटीइभीटीको उपाध्यक्ष नियुक्तिको तयारी गरेकी छन् ।

कलेज सम्बन्धनका क्रममा अनियमिमता गरेको बिषय छानविन गर्दा सीटीइभीटीका तत्कालिन सदस्य सचिव जयबहादुर टण्डनले अख्तियारका कर्मचारीको श्रीमतीलाई रोजगारी दिएका थिए । सीटीइभीटीबाट तलब भत्ता लिने गरी बालाजु पोलिटेक्निकमा नियुक्ति दिएकी ती महिला टेक्स शाखामा कार्यरत छिन् । अख्तियारमा पर्ने सबै उजुरी ति अधिकृतले हेर्ने भएपछि टण्डनले उनको श्रीमतीलाई प्रशासकीय अधिकृतमा नियुक्ति दिएको पाइएको हो । ‘आफनो कर्तुत ढाकछोप गर्न र अख्तियारका अधिकारीलाई आफनो पक्षमा पार्न जागिर दिने व्यक्तिलाई मन्त्रीले उपाध्यक्ष बनाउन लागेका छन,’ शिक्षा मन्त्रालयका एक अधिकारीले भने, ‘यस्ता व्यक्तिलाई नियुक्ति गर्दा देशको प्राविधिक शिक्षाको सुधार गर्ला ?’

गोपाल खनाल तीन वर्षिय कार्यकाल पुरा गरेपछि सीटीइभीटीमा उपाध्यक्ष पद रिक्त छ । उक्त पदमा यसअघि अनियमिततामा बारम्बार मुछिएका व्यक्तिलाई ल्याउन यादव लागि परेको मन्त्रालय स्रोतले जनाएको छ । शिक्षा मन्त्री यादवले उपाध्यक्ष नियुक्तिको बिषयमा बोल्नै चाहिनन । ‘म ब्यस्त छु,’उनले भनिन,‘यो बिषयमा पछि कुरा गर्छु ।’

राष्ट्रिय योजना आयोगको शिक्षा हेर्ने सहसचिवको संयोजकत्वमा बनेको सिफारिस समितिले कुलबहादुर बस्नेत, हरी प्रधान र जयबहादुर टण्डनको नाम सिफारिस गरेको थियो । समितिको सूचीमा तेस्रो नम्बरमा नाम रहेका टण्डन आफू उपाध्यक्ष बन्न एमाले र कांग्रेसका मन्त्री रिजाउन ब्यस्त रहेको स्रोतले जनाएको छ ।

टण्डन सदस्य सचिव हुदा ०६७ मा कैलालीको फारवेष्ट टेक्निकल कलेज, रुपन्देहीको रम्भादेवि टेक्निकल कलेज, नयाँ बानेश्वरको भ्याली कलेज अफ इन्जिनियरिङ र सेन्ट्रल इन्जिनियरिङ कलेजलाई आर्थिक लेनदेनको आधारमा स्वीकृत दिएको शिक्षा मन्त्रालयको अध्ययनले पुष्टि गरेको छ ।

अख्तियारले उक्त फाइल अध्ययन गरेपनि अनुसन्धान अधिकृतकै श्रीमतीलाई जागिर खुवाएपछि फाइल तामेलीमा राखेको पाइएको हो । चार कलेजलाई दर्ता नम्बरमा ‘ख’ उल्लेख गरी सम्बन्धन दिएर टण्डनले अनियमितता गरेका थिए ।

शिक्षा मन्त्रालयका तत्कालिन सहसचिव बलराम केसीले सीटीइभीटीको समस्या माथि छानविन गर्दा चार वटा कलेज सम्बन्धनमा अनियमितता भएको प्रतिवेदन दिएको थियो । उक्त प्रतिवेदन अनुसार दर्ता भएको प्रस्तावना पत्र सम्बन्धित फाइलमा नभेटिएको औल्याएको थियो । ‘दर्ता नम्बर स्पष्ट नहुनु, सम्बन्धित फाइलहरुमा परिषद्ले तोकेको भनिएको ढाँचाको निवेदन र उक्त निवेदन खरिदबापत परिषद्लाई तिर्नुपर्ने शुल्क तिरेको रसिद निवेदन साथ नभेटिनु, सल्लाहकार समितिको बैठकमा परिषद् कर्मचारीबाहेक अरुको उपस्थिति नदेखिनु जस्ता कैफियतबाट पारदशिर्तामा प्रश्न गर्ने ठाउँहरु प्रशस्तै रहेको पाइयो,’ प्रतिवेदनमा भनिएको छ ।

फरवेस्ट धनगढी कैलालीको दर्ता नम्बर १२७३ ‘ख’, रम्भादेवीको दर्ता नम्बर १२९० ‘ख’ भ्याली कलेजको १३०९ ‘ख’ र सेन्ट्रल इन्जिनियरिङको प्रस्तावनामा दर्ता नम्बर १२०९ ‘ख’ लेखिएको छ । ‘दर्ता किताबमा एउटा दर्ता नम्बरपछि एक/दुई हरफ छोड्ने गरेको देखिन्छ भने उल्लेखित चारैवटा कलेजको हकमा यसरी हरफ छोडिएको छैन,’ प्रतिवेदनमा भनिएको छ ।

नर्सिङ कलेज पनि आवश्यक पूर्वाधार समेत नपुगेका संस्थालाई सम्बन्धन दिएका थिए । यसको पछिल्लो उदाहरण दोलखाको चरिकोटमा सञ्चालित च्छोरोल्पा नर्सिङ कलेजलाई लिन सकिन्छ । ०६५ साउन १६ मा सम्बन्धन दिएको उक्त कलेजमा पूर्वाधारबिनै सञ्चालन भएको स्वास्थ्य मन्त्रालय र नसिर्ङ काउन्सिलको अध्ययनले देखाएको छ । नसिर्ङ कलेजमा २० नसिर्ङ प्रशिक्षक हुनुपर्नेमा १३ जना मात्रै रहेको, प्रिन्सिपलको कार्यानुभव स्नातकपछि ३ वर्षको हुनुपर्नेमा नभएको, प्रशिक्षकको कार्यानुभव नभएको, प्रयोगात्मक कोठामा हुनुपर्नेमा न्यूनतम औजार तथा सामग्री नभएको र अस्पतालमा बिरामी न्यून पाइएको थियो ।

टण्डन सदस्य सचिव हुदा नर्सिङ कलेजको गुणस्तर सुधार गर्नुको साटो थप सम्बन्धन दिएर अव्यवस्थित बनाइएको थियो । ०६६ भदौ १८ देखि ०६७ वैशाख १७ सम्म ४५ कलेजले सम्बन्धन दिइएको छ । त्यतिबेला २० वटाको मात्रै आफनै अस्पताल थियो । २५ वटालाई बिनाअस्पताल स्वीकृत दिइएको थियो ।

०६६ साउन समान्तसम्म नसिर्ङ विषय पढाउने ४३ वटा संस्थाले अनुमति पाएका थिए । ०६६ भदौ १८ मा १७, ०६६ मंसिर ६ मा १४, ०६६ मंसिर २८ मा ५ र ०६७ वैशाख १७ मा ९ वटा कलेजले सम्बन्धन दिइएको थियो । टण्डनले आफना भतिजाहरु र सालीलाई समेत सीटीइभीटीमा जागिर खुवाएका छन् । एउटा भतिजा कृष्ण टण्डनलाई कोरिया नेपाल इन्ष्टिच्यूट अफ टेक्नोलोजी बुटबलमा र अर्को दिपक टण्डनलाई बनेपा पोलिटेक्निक इन्ष्टिच्यूटमा लेखाअधिकृत नियुक्त गरेका छन । त्यस्तै साली बबितालाई बालाजुमा नियुक्त दिएका थिए ।

कान्तिपुरमा खबर छ । 

प्रतिक्रिया