Edukhabar
शनिबार, ०५ असोज २०८१
खबर/फिचर

एसएलसी पूरकको कापी परीक्षणनै हुन सकेन, नतिजा अन्यौलमा

विहीबार, ०३ भदौ २०७२

भक्तपुर ३ भदौ / बन्द र हड्तालका कारण कापी परीक्षण हुन नसक्दा एसएलसी पूरकको नतिजा अन्यौलमा परेको छ । परीक्षा सकिएको एक हप्ता वितिसक्दा पनि उत्तर पुस्तिका परीक्षणको काम शुरु भएको छैन । विद्यार्थीको कापी अहिले सम्म जिल्ला शिक्षा कार्यालयहरुमै थन्किएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

'जताततै बन्द र हड्ताल छ परीक्षण केन्द्र सम्म कापी पुर्याउनै सकिएन' नियन्त्रक विष्णुबहादुर द्धारेले भने, 'कापी बोकेर निस्कदाँ जलाईदिए भने त वर्वादै हुन्छ नी, बन्द हड्ताल कहिले सम्म हो कुनै टुङ्गो छैन, हामी त अन्यौलमा छौं ।'

समयमै नतिजा सार्वजनिक गर्ने भनेर मन्त्रालय र कार्यालयले आवश्यक व्यवस्था गरे पनि अकस्मात आईपर्ने यस्ता समस्याका कारण अप्ठ्यारो भोग्नु परेको उनले बताए । 

दुई विषयमा मात्रै फेल हुने विद्यार्थीले मौका परीक्षामा सहभागि भएर पास भयो भने यहि बर्ष कक्षा ११ पढ्न पाउँछ । तर अहिले सम्म कापी परीक्षण नै हुन नसक्दा अन्यौल भएको छ ।

प्रदेश सीमांकनको विरोधमा विभिन्न राजनीतिक दल तथा संगठनहरुले बन्द र हड्ताल गर्दै आएका छन् । आफ्नै छोरा छोरीको भविष्यसँग खेलवाड हुने गरी बन्द हड्ताल नगर्न द्धारेले सम्बन्धित सरोकारवालाहरुसंग आह्वान पनि गरेका छन् । कापी परीक्षण गर्नका लागि तोकिएका केन्द्र सम्म पुर्याउन मात्रै पाईयो भने परीक्षणको काम शुरु हुने उनले बताए ।

परीक्षण शुरु भएको एक महिनामा नतिजा सार्वजनिक गर्न सकिने उनको भनाई छ । पूरकको कापी परीक्षणका लागि कार्यालयले देशका विभिन्न १९ ठाउँमा केन्द्र तय गरेको छ ।

नियमित परीक्षाको नतिजा परीक्षा सकिएको ३ महिना भित्र गरी सक्नु पर्ने ब्यवस्था भएपनि पूरकको बारेमा अवधि किटान गरिएको छैन । तर, गत बर्षहरुको चलन हेर्दा भदौ भित्रै नतिजा सार्वजनिक हुँदै आएको थियो । गत बर्ष पनि पूरकको नतिजा भदौ २२ गते सार्वजनिक भएको थियो ।

गत साउन २० देखि २७ गते सम्म भएको परीक्षामा सहभागि हुन १ लाख २४ हजार २ सय ५१ विद्यार्थीले फर्म भरेका थिए । यी मध्ये कसैले २ र कसैले १ विषयको मात्रै परीक्षा दिएकोले परीक्षामा सहभागि भएका विद्यार्थीको १ लाख ९३ हजार कापी परीक्षण गर्नु पर्ने छ ।

प्रतिक्रिया