Edukhabar
बुधबार, १२ मंसिर २०८१
खबर/फिचर

शिक्षा पुरस्कार : बाँड्ने कि छान्ने ?

विहीबार, ०७ असोज २०७२

- यसवर्ष जनक नेपाल, नारायण किलम्बु र बाबुराम विश्वकर्मालाई

काठमाडौं ७ असोज / पुरस्कार के हो के होइन ? पुरस्कार कसलाई दिने कसलाई नदिने ? त्यसको योग्यताको मापन कसरी हुन्छ ? त्यसका लागि व्यक्तिको अनुहार, दलको कर्यकर्ता, चाकडी हेर्ने कि उसको योगदान र काम ? त्यसमा पनि शिक्षा र शिक्षामा पनि पत्रकारिता । पुरस्कारका लागि योग्यको छनौट त्यति सहज काम पक्कै होइन ।

कला साहित्य जस्ता भावनात्मक विषयको उत्कृष्टताको मापन झन् गारो काम हो । पत्रकारिताका कुनै पनि क्षेत्रमा उत्कृष्टताको मापन झन् खतरा काम हो । हरेक दिन सञ्चारका विभिन्न माध्यम मार्फत शिक्षाका समाचार प्रकाशित प्रसारित भइरहेको सन्दर्भमा कसको समाचार प्रभावकारी र कसको प्रभावकारी होइन भन्ने मापनका आधार हाम्रो मुलुकमा तयार भइसकेको छैन । त्यसैले उत्कृष्ट शिक्षा पत्रकारको छनौट सहज छैन ।

सन्दर्भ शिक्षा पत्रकारिता पुरस्कारको ! शिक्षा विभागले झण्डै डेढ दशक अघि शिक्षा पत्रकारिता गर्ने र विशेषगरी सामुदायिक शिक्षाको सुधारका लागि प्रभावकारी भूमिका खेल्ने, समाचार लेख्ने कुनै पनि माध्यमका पत्रकारलाई राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार दिने घोषणा गर्यो ।

स्रोतहरुले दिएको जानकारी अनुसार यसपालीको पुरस्कारको पनि निर्णय भएको छ । तर निर्णय हेर्दा लाग्छ विभाग पत्रकारलाई पुरस्कृत गरिरहेको छैन दामासाहीले आफ्नो हण्डी बाँडी रहेको छ । पहिलो पल्ट कान्तिपुरमा शिक्षा विटमा समाचार लेख्ने पत्रकार देवेन्द्र भट्टराईलाई पुरस्कृत गरेको विभागले पुरस्कार स्थापना भएको डेढ दशकसम्ममा त्यसको साख गुमाउँदै गएको छ । पहिलो पल्टको पुरस्कारका लागि कुनै दरखास्त आह्वान गरिएको थिएन । विभाग आफैंले छनौट गरेको थियो र दिएको थियो ।

त्यति बेला शिक्षालाई बिटनै बनाएर काम गर्ने सारै थोरै पत्रकार थिए । अहिले आफूलाई शिक्षा पत्रकार दावी गर्नेहरु त्यतिबेला कुनै ठेक्का पट्टा तिर थिए वा पेशामै थिएनन् । उतिखेर पत्रकारिता गर्ने मध्ये केही बताउनु भयो ब्यक्त गर्नु भयो पाराका समाचार अपरान्ह निस्कने पत्रिकातिर लेख्थे । त्यसैले धेरैलाई पहिलो राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार देवेन्द्र भट्टराईलाई दिइएको थियो भन्ने हेक्का पनि नहुन सक्छ ।

स्रोतका अनुसार यसपाली पनि विगत वर्षमा जस्तै बाडीचुँडी शैलीमा भाग शान्ति पुर्याउन ३ जनालाई राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार दिइएको हो । स्रोतले बताए अनुसार जनक नेपाल, कान्तिपुर दैनिक नेपालगञ्ज, नारायण किलम्बु कान्तिपुर टिभी, काठमाडौं र बाबुराम विश्वकर्मा शिक्षक मासिक ललितपुरलाई राष्ट्रिय पुरस्कार दिने निर्णय भएको छ ।

राष्ट्रिय पुरस्कार कति जनालाई दिने भन्ने विवाद भूपराज खड्का र रेनु क्षेत्रीले पाएपछि सुरु भएको हो । खासमा त्यतिबेला दी हिमालयन टाइम्समा कार्यरत रेनु क्षेत्रीलाई पुरस्कृत गर्न लागेपछि शिक्षा पत्रकार समूहका केही व्यक्तिको दवावमा पछि भूपराज खड्कालाई पनि राष्ट्रिय पुरस्कार दिने निर्णय गरियो । त्यसपछि राष्ट्रिय पुरस्कारलाई संयुक्त रुपमा बाँड्ने परम्परानै चल्यो ।

यसपटक पनि त्यहि परम्परा कायम रह्यो र ३ जनामा बढ्यो । के ३ जनालाई एकै वर्ष राष्ट्रिय पुरस्कारमा समेट्नु जरुरी छ ? राष्ट्रिय पुरस्कारको मापदण्ड छैन ? यस अघि पुरस्कार पाएकाहरुले शिक्षाको विकास र विस्तारमा के कस्तो योगदान गरे ? पुरस्कार पाएपछि त उनीहरुको उत्साह झन् बढेर गतिलो काम भएको पो छ की ? विभाग र महासँघले त्यस्ता पक्षहरुको विश्लेषण गरेको छ त ? स्रोत भन्छ, मापदण्ड त बनाईन्छ तर, त्यस्ता मापदण्ड कसरी आफ्ना र आफ्ना निकटका ब्यक्ति पार्ने भन्ने कुरामा मात्रै केन्द्रित गरिन्छ । यसपटक पनि त्यस्तै भयो । स्रोत भन्छ, विगत वर्षमा जस्तै यसपाली पनि महासंघका नेताहरु आफ्ना कार्यकर्ता बचाउन र कर्मचारी आफ्ना बारेमा गलत समाचार आउनबाट बच्न सकियोस् भनेर भाग शान्ति तिर लागे । यसपाली देखिनै परम्परा तोडौं  भन्दा अर्को साल भन्दै सरक्क पन्छिए ।

पुरस्कारका लागि झण्डै आधा दर्जन बैठक महासँघमा बसेको थियो यसपटक पनि  । वैठकले पूर्वाञ्चलका जयकृष्ण यादव र छेटु शेर्पा, मध्यमाञ्चल फणि महत र रामेश्वर कार्की, पश्चिमाञ्चल शोभाखर पन्थि र गगन शिला खड्का, सुदूर पश्चिमका निमेन्द्र शाही, मध्य पश्चिमका धनविर दहाल र राजेन्द्र नाथ तथा उपत्यका क्षेत्रका लागि कोकिला खड्का केसी र रोशन क्षेत्री गाउँलेलाई क्षेत्रीय शिक्षा पुरस्कार दिने निर्णय गरेको छ ।

त्यस्तै यसवर्षको लेखन बृत्ति पूर्वाञ्चलमा भोला पासबान र बैद्यनाथ यादव, मध्यमाञ्चलमा राजकुमार गोले, नरेन्द्र सापकोटा र मन्दिरा थापा, मध्य पश्चिममा अर्जुन ओली र हेमन्त केसी, सुदुर पश्चिममा मोहन विष्ट र रामबहादुर कुवँर, पश्चिमाञ्चलमा नविन राज कुईकेल, कृष्ण खनाल र गोपीराज ज्ञवाली, उपत्यकामा वीरेन्द्र ओली, पार्वता चौधरी र सईन्द्र राई छन् । संस्थागत रुपमा दिने एफएम टिभी र पत्रिकाको निर्णय हुन बाँकी नै छ । आउँदो हप्ता पुरस्कारको घोषणा हुदैछ ।

पुरस्कार छनौट समितिमा शिक्षा विभागकी देवकुमारी गुरागाई, महासँघका तर्फबाट उपाध्यक्ष खिल बहादुर भण्डारी, कोषाध्यक्ष सूर्यमणि गौतम, केन्द्रिय सदस्य माधव दुलाल लगायत थिए । पुरस्कार कसलाई दिने भनेर गरिएका प्रायः बैठकमा अध्यक्ष उपाध्यक्ष सबैको उपस्थिती रहने गरको स्रोतको भनाई छ । पुरस्कारको निर्णय गर्ने बेलामा महासंघ अध्यक्ष महेन्द्र विष्ट सहितको महासँघ टोलीले हस्ताक्षर गरेको छ । स्रोत भन्छ, पैसा भएको भए निवेदन हाले जति सबैलाई दिने गरी महासँघका पदाधिकारी लागेका थिए ।

शिक्षा पत्रकारिता पुरस्कार कहिले पनि विवाद रहित हुन सकेन । महाश्रम शर्मा, जनार्दन नेपाल, खगराज बराल देखि महासंघका रमेश विष्ट, शिव गाउँले, शिक्षाविद् विद्यानाथ कोइराल जो कोही समितिमा भए पनि निष्पक्ष निर्णय भएको छ र स्वीकार्न सकिन्छ भन्ने निर्णय कुनै पनि वर्ष हुन सकेन ।
यस बर्षको निर्णयमा पनि महासँघकै प्रतिनिधिविच कसरी आआफ्ना कार्यकर्ताका हातमा पुरस्कार थमाउने भन्ने रस्साकस्सिनै चल्यो ।

अवस्था कतिसम्म भयो भने पार्टीको कोटा पुर्याउन, विभिन्न संस्थाको प्रतिनिधित्व गराउन, आफ्ना नातेदार पार्न नै लागि परिरहे । विगत बर्षहरुको जस्तै ‘चलन’ ले निरन्तरता पाउँदा पुरस्कारको गरिमा फेरी पनि गिर्यो । हुँदा हुँदा राट्रिय पुरस्कार ३ जनालाई दिने गरी निर्णय गर्ने अवस्थामा महासंघ र विभाग पुगेको छ । ३ जनालाई राट्रिय पुरस्कार दिनुहुन्छ भने आवेदन दिनेजति सबैलाई राष्ट्रिय पुरस्कार दिँदा के जान्छ ? दिन सकिँदैन ? सबै पुरस्कारको राशीलाई एकै ठाउँमा गाभेर आवेदन गर्ने सबैलाई राष्ट्रिय पुरस्कारको प्रमाणपत्र दिए विभागका लागि सबैलाई दिएँ भन्ने पनि हुने, महासंघको स्वार्थ पनि पूरा हुने ।

डा. लवदेव अवस्थी विभागको महानिर्देशक हुँदा भन्थे, हेर्दा सामान्य जस्तो लाग्छ भाइ, थिति बाउन गारो छ यो पुरस्कारको । पक्कै पनि पत्रकारिता गर्ने, आम जनतालाई सूसुचित गराउने र आफू चाहिँ कुन तहमा छु भनेर आफ्नो विश्लेषण नगर्ने परम्पराले हाम्रो पत्रकरिता प्रतिको विश्वसनीयता घट्दै गएको छ ।

समितिका एकजना सदस्य भन्छन्, पुरस्कार पाउनका लागि राजनितिक देखि कर्मचारीको दवाव अत्यधिक आउँदो रैछ ।

निजी क्षेत्रबाट दिने पुरस्कार पनि पारदर्शी हुनु पर्छ र जसले पुरस्कार पाएको हो उसलाई पनि गर्वको महसुस हुनु पर्छ । शिक्षा पत्रकारिता पुरस्कार कुनै व्यक्तिको होइन । आम नागरिकले तिरेको करबाट स्थापित हो । विभागले आम नागरिकलाई जवाफ दिनु पर्छ । के वर्षै पिच्छे शिक्षा पत्रकारिता पुरस्कार यस्तै भाग शान्तिका आधारमा दर्जनौँ व्यक्तिलाई दिँदै भाग पुर्याउने हो ? विभागले प्रष्ट्याउनै पर्छ वर्षमा कति जनालाई राष्ट्रियस्तरको पुरस्कार दिने हो ? होइन भने विभागका कर्मचारी र महासंघका पदाधिकारीले एक बाट दुई दुईबाट ३ गर्दै वर्षेनी कोटा बढाउँदै जान मिल्छ ? 

आखिरमा पत्रकार हुनु भनेको हरेक सित एकएक थान अहम हनु पनि हो । यस्तो अहम् कि वर्षमा एउटा नयाँ किताब नपढ्ने, र विषयबारे नयाँ कुराको ज्ञाननै नराख्ने पत्रकारलाई पनि लाग्छ ऊ नै त्यस क्षेत्रमा सबैभन्दा जान्ने व्यक्ति हो । पत्रकार हुनु भनेको कसैसित सिक्न नपर्ने लाइसेन्स प्राप्त व्यक्ति पनि हो । उसलाई के लाग्छ भने अरुसित सिके ऊ सानो भइजान्छ । यस्तै लघु विवेकले पत्रकारलाई आफ्नो क्षेत्रमा कमजोर र विभाग तथा महासंघजस्ता संस्थालाई विकृतमा हाबी बनाइ रहेको छ ।

प्रतिक्रिया