Edukhabar
शुक्रबार, ०४ असोज २०८१
अन्तैवाट

राजधानीमै पुस्तक अभाव

बुधबार, २३ असार २०७२

bookकाठमाडौ,  २३ असार/ शिक्षा विभागले भूकम्पबाट प्रभावित सबै जिल्लामा पाठ्यपुस्तक पुगेको दावी गरेको छ । राजधानी काठमाडौंकै कतिपय विद्यालयका बालबालिकाले भने अझै पुस्तक पाउन सकेका छैनन् । पाठ्यपुस्तक पुग्न नसकेको बारे स्थलगत अनुगमन हुनुपर्नेमा  विभाग मौन बसेको अभिभावक र शिक्षकको आरोप छ । हरेक जिल्लामा कुनै न कुनै विषयका पुस्तक अझै पुग्न सकेका छैनन् ।

'हाम्रो विद्यालयमा ६ देखि १० कक्षाका विद्यार्थीले अझै केही विषयका पुस्तक पाउन सकेका छैनन्,' लप्सेफेदी जहरसिंहपौवास्थित कालिका उच्चमाविका शिक्षक राजकुमार केसीले भने, 'छिमेकी जिल्ला सिन्धुपाल्चोकतर्फका विद्यालयमा पनि यस्तै समस्या छ ।' सिन्धुपाल्चोक भोटेचौरका सरस्वती उच्चमावि र जाल्पादेवी उच्चमाविमा पाठ्यपुस्तकको समस्या छ ।

भूकम्प प्रभावित काभ्रे, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, गोरखा, रामेछापलगायतका जिल्लामा पाठ्यपुस्तक पुगेका छैनन् । ती जिल्लामा अंग्रेजी, गणित, अतिरिक्त गणितलगायत पुस्तक अभाव छ । भूकम्पपछि पाठ्यपुस्तक पुर्‍याइएको रेकर्ड अहिलेसम्म यकिन छैन । 'स्थलगत अवलोकन गर्दा सबै विद्यालयमा पाठ्यपुस्तकको सेट पुग्न सकेको पाइएन,' अभिभावक संघका अध्यक्ष सुप्रभात भण्डारीले भने, 'के कारणले पाठ्यपुस्तक पुग्न सकेन भन्नेबारे तल्लो तहसम्म अध्ययन अनुगमन गर्नुपर्छ भन्दा विभाग तर्कदैंछ । मन्त्रालयको उदासिनताका कारण पुस्तक अझै अभाव भइरहेको हो ।'

पुस्तक छाप्ने जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्रले पर्याप्त मात्रामा पाठ्यपुस्तक छपाइ भइसकेको र सबै ठाउमा पुर्‍याइसकेको दाबी गरेको छ । 'पाठ्यपुस्तक नपुगेकाले जनक शिक्षाको ध्यानाकर्षण गराइरहेका छौं,' अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष लालबहादुर बिसीले भने, 'पुस्तकमा व्यापार, दलाली भइरहेको देखिन्छ । सुनुवाई गर्ने निकाय मौन बसेको छ ।'

शिक्षा विभागका निर्देशक खगेन्द्र नेपालले पनि सबै जिल्लामा पाठ्यपुस्तक पुगेको दाबी गरे । 'पाठ्यपुस्तक ठ्याक्कै नपुगेका ठाउँ छैनन्,' कतै कुनै विषयको पुस्तक नपुगेको हुनसक्ने उल्लेख गर्दै उनले भने, 'अभाव कहीं छैन । विद्यार्थी संख्या अनुसार हरेक जिल्लाको रकम निकासा भइसकेको छ । यदि कतै नपुगेको भए विभागमा त्यसको जानकारी आउनु पर्छ ।' जनक शिक्षाले छापेको पुस्तक कतिपय गोदाममै रहेको र सम्बन्धित विद्यालयका प्रधानाध्यापकको बेवास्ताका कारण पुग्न नसकेको हुन सक्ने उनले बताए ।

 आजको कान्तिपुर दैनिकमा यो खबर छापिएको छ । 

प्रतिक्रिया