Edukhabar
शुक्रबार, ०४ असोज २०८१
अन्तैवाट

एउटै कक्षामा डेढ सय विद्यार्थी

बुधबार, २३ असार २०७२

school-pyuthanकाठमाडौं २३ असार / कक्षाकोठा अभावमा प्यूठानको अर्खा माध्यमिक विद्यालयका १ देखि ६ कक्षासम्म एउटै कोठामा १ सयभन्दा बढी विद्यार्थीलाई राखेर पठनपाठन गराइँदै आएको छ। ‘गर्मीको समयमा साँघुरो कक्षाकोठामा कोचिएर बस्नुपर्दा विद्यार्थी शिक्षक दुवैलाई निकै सास्ती छ,’ प्रध्यानाध्यापक लिलु पौडेलले भने, ‘कक्षाकोठा नभएकाले सेक्सन बाँड्न सकिएको छैन।’ उनले कक्षा एकदेखि ६ सम्म सबैमा एक सय बढी विद्यार्थी रहेको बताए।

‘कक्षा ६ मा १ एक सय ४६ जना विद्यार्थी छन्,’ पौडेलले भने, ‘हुलेर पढाउन परेको छ। कसरी पढाइ प्रभावकारी होस्।’ पौडेलले विद्यालयमा कोठा नभएर नजिकै रहेको गाविस भवनको तीनवटा कोठामा कक्षा २, ३ र ६ सञ्चालन गरेको बताए। भएका कक्षाकोठा भूकम्पले भत्काएको छ। जीर्ण भवनमा जोखिम मोलेर पठानपाठन गर्नुपरेको पौडेलले बताए। डेक्सबेन्चमा विद्यार्थी अट्दैनन्। विद्यार्थी कोही झ्यालमा, कोही भुईंमै बस्छन्। बेन्चमा बस्न विद्यार्थीको होडबाजी हुने गरेको शिक्षक खिमबहादुर पुनले बताए। विद्यार्थीबीचको झगडा मिलाउन दैनिक पालो लगाएर बेन्चमा बस्ने अवसर दिइने गरेको छ।    

‘हुलमा पढाउन निकै समस्या हुँदोरहेछ,’ पुनले भने, ‘सधैं भाषण गरेजस्तो गर्नुपर्ने।’ बोर्डमा लेखेको कुरा उचालेर विद्यार्थीलाई देखाउने गरेको शिक्षक पुनले बताए।

‘पछाडि बस्दा सरले बोलेको बुझिंदैन,’ कक्षा ६ का छात्र तिलक बुढाले भने, ‘कसरी सिक्नु?’ उनले गर्मीको समयमा उकुसमुकुस भएर पसिनै पसिना हुने बताए।

विद्यालय नयाँ भवनको निर्माणमा लागिपरेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष रतिमान रानाले बताए। ‘यस वर्ष दुईवटा नयाँ कोठा निर्माण गर्न लागेका छौं,’ उनले भने। उनले गत वर्ष जिल्ला शिक्षा कार्यालयबाट परेको भवन प्रयोग गर्न लाएक नभएपछि भत्काएर पुन: निर्माण गर्न लागिको उनले बताए। अर्खा माविलाई गत वर्ष नै चारकोठे भवन बनाउन बजेट दिएको जिल्ला शिक्षा अधिकारी नारायणप्रसाद भट्टराईले बताए। ‘भवन समयमै निर्माण भएको भए समस्या समाधान हुने थियो,’ भट्टराईले भने, ‘यस वर्ष पुनर्निर्माण हुन थालेको छ।’ उनले अर्खा माविको भवन अभावको कुरामा जिल्ला शिक्षा कार्यालय चिन्तित रहेको बताए।

कान्तिपुरमा गिरुप्रसाद भण्डारीले लेखेका छन् । 

प्रतिक्रिया