Edukhabar
मंगलबार, ११ मंसिर २०८१
अन्तैवाट

विद्यालय पुग्नै कठिन

बुधबार, २३ असार २०७२

going-schoolकाठमाडौं २३ असार / भक्तपुर नगरपालिका–१६, तेखापुखुस्थित कन्या सहशिक्षा (मेधा) माविमा सुरक्षित लेखिएको हरियो स्टिकर टाँसिएको प्रस्टै देखिन्छ। भूकम्पको धक्काले विद्यालय भवनमा क्षति पुर्‍याएको देखिँदैन। तर, बालबालिकालाई विद्यालयसम्म आइपुग्न भने बाटोभरि भत्किएका संरचनाले कठिन बनाएको छ। विद्यालय आउने धेरै बालबालिका एक्लै विद्यालय जान डराउने गरेका छन्।

‘यही बाटोमा पहिला एक्लै विद्यालय आउँथें, अहिले डर लाग्छ,’ १ कक्षामा अध्ययनरत ७ वर्षीया मुना तामाङले भनिन्, ‘बाटोका घरहरू भत्किएका छन्, ढुंगामाटो थुपारेर बाटो हिलाम्य भएको छ।’ बालबालिका हिँड्ने बाटोको दायाँबायाँका धराप घरहरू भत्किने, ढल्ने अवस्थामा छन्। गल्लीभित्र भत्किएका घरहरूको भग्नावशेष स्थानीयवासीले बाटोमा थुपारेका छन्। मुनाको घरबाट विद्यालयसम्मको दूरी करिब डेढ किलोमिटर छ। ‘बालबच्चा जोगाउनै मुस्किल छ,’ मुनाकी आमा ईश्वरी तामाङले भनिन्, ‘पटक–पटकको परकम्प, जोखिमपूर्ण बाटो र धराप घरहरूले कुन बेला के हुने हो, साह्रै डर लाग्छ।’

भक्तपुर नगरभित्रका अधिकांश बाटो अवरुद्ध हुँदा बालबालिकालाई विद्यालय आउजाउमा कठिनाइ छ। भित्री गल्लीभित्र भत्किन लागेका संचनालाई टेको लगाएर राखिएको छ। ‘भत्किएको घरको माटो सडकमा ल्याएर थुपारिदिँदा बाटो अवरुद्ध छ,’ अर्की अभिभावक सूर्यविनायक सुन्दरबस्तीकी सानु लामाले भनिन्, ‘बिहान आउँदा खुला भएको बाटो बेलुका आउँदा बन्द हुन्छ।’

भक्तपुर नगरभित्रका अधिकांश विद्यालयहरूमा पढ्ने बालबालिकालाई विद्यालय आवातजावतमा जोखिम छ। ‘विद्यालय सुरक्षित बनाउन अस्थायी कक्षाकोठा निर्माण गरिएको छ,’ भक्तपुर नगरपालिका साकोठास्थित विद्यार्थी निकेतन उच्चमाविका सहायक प्रधानाध्यापक सुरेश प्रजापतीले भने, ‘विद्यार्थीलाई विद्यालय ल्याइपुर्‍याउन चाहिँ समस्या छ।’ कन्या सहशिक्षा माविकी शिक्षिका महेश्वरी सिंह खत्रीले पनि तीन कक्षा सम्मका विद्यार्थीलाई अभिभावक लिन नआएसम्म नपठाउने बताइन्।

कान्तिपुरमा लीला श्रेष्ठले लेखेको खबर । 

प्रतिक्रिया