Edukhabar
शुक्रबार, ०४ असोज २०८१
अन्तैवाट

त्रिवि अझै सुचारु हुन सकेन

विहीबार, २४ असार २०७२

काठमाडौ,  २४ असार/ भूकम्पपछि त्रिभुवन विश्वविद्यालय अझै सुचारु हुन सकेको छैन । भूकम्पले कीर्तिपुरस्थित केन्द्रीय कार्यालयको तीनमध्ये दुईवटा भवन ध्वस्त भएपछि उपकुलपतिलगायतको कार्यालय शिक्षाशास्त्रको नयाँ भवनमा सारिएका छन् । उक्त भवन नयाँ भएर पनि बिजुली, पानी, टेलिफोन, इन्टरनेटलगायतका सुविधा नहुँदा दैनिक कामसमेत सुचारु हुन नसकेको हो ।

विश्वविद्यालयका उपकुलपति हिराबहादुर महर्जन, रेक्टर गुणनिधि न्यौपाने र रजिस्ट्रारको कार्यकक्ष एउटै तलाको ठूलो कक्षमा राखिएको छ । कर्मचारीसमेत त्यहीँ काम गर्छन् । 'आ-आफ्नै कार्यकक्षमा व्यस्त रहने पदाधिकारीहरु कर्मचारीसँगै बस्नु परेपछि अप्ठारो भएको छ,' त्रिविका एक कर्मचारीले भने, 'उहाँहरु त्यत्ति आउनु हुन्न । हामी कर्मचारीले पनि मुस्किलले २५ प्रतिशत काम गरेर समय कटाउनु परेको छ ।'

उक्त तीनतले भवनमा योजना, सूचना, समन्वय, निरीक्षण, अनुसन्धान, लेखा, ऋण, सापटी र पेन्सन महाशाखा राखिएका छन् । त्यस्तै कार्यकारी परिषद, कानुनी सल्लाहकारको कार्यकक्ष त्यसैमा रहेका छन् । बिजुली बत्ती भएर पनि लोडसेडिङले गर्दा कम्प्युटरबाट कुनै काम हुन सकेको छैन । जेनेरेटरको व्यवस्था हुन सकेको छैन । 'शिक्षा शास्त्रको भवन त्रिवि हातामध्ये सबभन्दा माथि एकान्तमा रहेको सेवाग्राहीलाई अप्ठारो परेको ती कर्मचारीले  जनाए ।

केन्द्रीय भवन रहेको स्थलमै अस्थायी व्यवस्थापन गर्ने सोच रहेकाले तत्कालै व्यवस्थापन नगरिएको सूचना महाशाखा प्रमुख भावना बज्राचार्यले बताइन् । 'केन्द्रीय कार्यालय हातामा खुल्ला चौर रहेको छ, नयाँ भवन बन्न कम्तिमा दुई वर्ष लाग्ने अनुमान गरिएको छ,' प्रमुख बज्राचार्यले भनिन्, 'तत्कालका निम्ति एकतले अस्थायी भवन बनाउने कि भन्ने आन्तरिक योजना बनिरहेको छ । हाम्रो दैनिक काम अझै केही समय अस्तव्यस्त नै रहला जस्तो छ ।'

त्रिवि सामान्य प्रशासन महाशाखा प्रमुख भोलाप्रसाद ढकालका अनुसार भूकम्पबाट ८ अर्ब ४४ करोड रुपैयाँ बराबरको भौतिक क्षति भएको छ । 'अहिलेका निम्ति जहाँ खाली छ त्यही बसेर काम चलाएका छौं,' क्षति मूल्यांकन भइसकेको र पुनर्निर्माणका निम्ति प्रक्रिया अघि बढाइरहेको उल्लेख गर्दै उनले भने, 'पुनर्निर्माणका निम्ति सरकार र दातासँगै प्रस्ताव गर्ने निर्णय भएको छ । तत्कालका निम्ति खाली ठाउँमा अस्थायी कार्यालय बनाएर काम चलाउने भन्ने छ ।'

त्रिविले नयाँ आर्थिक वर्षका निम्ति बजेट निर्माण तयारी गरेको जनाइएको छ । सरकारले आव २०७१/७१ को बजेट सार्वजनिक गरेलगत्तै त्रिविले त्यसैअनुकुलको बजेट निर्माण गर्नेछ । आउदो साउन २२ गतेबाट उपकुलपतिको पदावधि पूरा हुनेछ । त्यसपछि त्रिविको कामकारबाही रेक्टर र निमित्त रजिस्ट्रारले सम्हाल्नेछन् । तर, कार्यालयको अभावमा दैनिक कामबाहेक खासै नयाँ काम हुन नसक्ने देखिएको कर्मचारी बताउँछन् ।

इकान्तिपुरबाट 

 

प्रतिक्रिया