Edukhabar
शुक्रबार, ०४ असोज २०८१
अन्तैवाट

बिदा कटौती गरेर शैक्षिक कोर्ष पूरा गरिंदै

शनिबार, २६ असार २०७२

काठमाडौ,  २६ असार/असार १५ पछि सहरमा गर्मी बिदा र गाउँमा वर्षे बिदा हुनुपर्ने हो । तर, सरकारी र निजी विद्यालयमा धमाधम कक्षा भइरहेका छन् । भूकम्पको धक्काले त्रसित र विद्यालयको संरचनामा क्षति पुर्‍याएपछि वैशाखमा १६ दिन र जेठमा १२ दिन शैक्षिक संस्था पूर्ण रूपमा ठप्प भएका थिए । पढाइ नभएको यो समय पुर्ताल गर्न विद्यालयले बिदा कटौती गरी कोर्स सक्न लागेका हुन् ।

एक शैक्षिक सत्रमा २ सय २० दिन विद्यालय सञ्चालन हुनुपर्ने व्यवस्था छ । वर्षभरिमा योभन्दा कम दिन सञ्चालन भए पाठ्यक्रम सकाउन भ्याइँदैन । भूकम्प नआएको भए यो बेला प्रथम त्रैमासिक परीक्षा भइसक्थ्यो । 'यसपालि त प्रथम त्रैमासिक परीक्षा भदौतिर हुन्छ होला,' विद्या मन्दिर मावि पुरानो नैकापका सहायक प्रधानाध्यापक केशव आचार्यले भने, 'भूकम्पका बेला पढाइ नभएपछि गर्मी बिदामा पढाइ भइरहेको छ ।'

वैशाख ६ देखि शैक्षिक सत्र सुरु भएको थियो । भूकम्प आउने अघिल्लो दिनसम्म पढाइ भइरहेको थियो । भूकम्पको त्रासले जेठ १६ सम्म रोकिएको थियो । भूकम्प आउँदा बन्द भएको समयलाई धेरैजसो विद्यालयले हिउँदे बिदा, वर्षे बिदा र पर्व बिदामा कटौती गर्ने योजना अघि सारेका छन् । भूकम्पबाट प्रभावित दोलखामा वर्षे बिदा सात दिन, दसैंअघिको चार दिन, दसैं-तिहार बीचमा हुने १५ दिन र अन्य पर्व बिदामा पढाइ गर्ने योजना अघि सारेर विद्यालयलाई निर्देशन दिएको दोलखाका शिक्षा अधिकारी लोकबहादुर लोप्चनले बताए ।

भक्तपुरमा पनि स्थानीय पर्व बिदा कटौती गरेर वाषिर्क २ सय २० दिन पढाइ सञ्चालन गरिने भएको छ । भक्तपुर च्यामासिंहस्थित वागेश्वरी उच्च माविका प्रधानाध्यापक कृष्णप्रसाद धन्छाले हिउँदे र वर्षे कटौती गरेर तोकिएको अवधि पूरा गर्ने बताए । त्यसबाहेक अरू पर्व र सार्वजनिक बिदामा पठनपाठन गराइने उनले बताए । 'सार्वजनिक बिदाका दिनमा परीक्षा सञ्चालन गर्छौं,' उनले भने । त्यस्तै शुक्रबार पनि ४ बजेसम्म पढाएर कोर्स पूरा गर्ने उनले जानकारी दिए ।

कतिपय निजी विद्यालयले त शनिबार पनि कक्षा सञ्चालन गरेर कोर्स पूरा गर्न लागिपरेका छन् । प्याब्सनका महासचिव डीके ढुंगानाले पर्व र बिदाको दिन पढाएर वर्षभरिमा कम्तीमा २ सय २० दिन पढाउने बताए । 'अन्तिम परीक्षा विगतको भन्दा अलि पछि सारेर भए पनि कोर्स पूरा गर्छौं,' उनले भने ।

कान्तिपुरबाट 

प्रतिक्रिया