Edukhabar
शनिबार, ०५ असोज २०८१
खबर/फिचर

सुरक्षा गार्डमा पठाउँदै कन्सल्टेन्सी, अफ्रिका पठाउने भन्दै ४६ लाख ठगी

शुक्रबार, ०४ भदौ २०७२

काठमाडौं ४ भदौ / प्रहरीले थप १२ जना कन्सल्टेन्सी संचालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा साउथ अफ्रिकामा रोजगारीका लागि पठाउने भन्दै ११ जनाबाट ४६ लाख रुपैंया ठगी गर्ने समेत रहेको प्रहरीले जनाएको छ । कालीमाटी स्थीत एक्सप्रेस ईण्ट्रि एजुकेशन वल्र्ड नामको कन्सलटेन्सीले साउथ अफ्रिकामा सुरक्षा गार्डका रुपमा काममा पठाईदिने भन्दै प्रति व्यक्ति ५ लाख ५० हजार रुपैंयाका दरले रकम लिएको उजुरीका आधारमा प्रहरीले छापा मारेको थियो ।

प्रहरीले  कन्सलटेन्सीका निर्देशक ददितपुर सुनाकोठीकी साधना बस्नेत र भक्तपुर गोलमरीका रामकुमार रंजितकारलाई पक्राउ गरी ठगी मुद्दामा कारवाहीको लागि महानगरीय प्रहरी बृत्त कालीमाटी पठाएको छ । सुदिप खत्रि समेतका ११  जना व्यक्तिहरुबाट रकम उठाएको प्रहरीले फेला पारेको छ ।

प्रहरीले गत मंगलबार २३ कन्सल्टेन्सीमा छापा मारेको थियो ।  पक्राउ परेकाहरुबाट कोही ठगिएको भए सम्पर्क राख्न गरिएको आह््वान अनुसार ११ जनाले उजुरी दिएका प्रहरीले जनाएको छ । कन्सल्टेन्सीको ठगीमा परेका विद्यार्थीलाई सम्पर्कमा आउन प्रहरीको आव्हान

शुक्रबारको छापामा यो सहित ११ कन्सल्टेन्सीबाट १२ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । उक्त कन्सल्टेन्सीहरुले सम्बन्धित निकायमा दर्ता नै नगरी काम गरेको फेला परेको प्रहरीले जनाएको छ । बस्नेत र रंजितकार संगै शुक्रबार कमलपोखरीमा रहेको गुडविल कन्सल्टबाट भक्तपुर ४ का प्रविण साही, ओयासिस जापानिज ल्याङ्वेज कन्सल्टेन्सी कालिमाटीबाट तनहुँ पोखरी भञ्ज्याङ्का अमृत प्रसाद पन्थ र ब्लु स्काई ईमिग्रेसन स्टुडेण्ट कन्सल्टेन्सी थापाथलीबाट काठमाण्डु डल्लुका प्रेमलाल नेपालीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

यस्तै ग्लोव एड कन्सल्टेन्सी कलंकीबाट हेटौंडाका ध्रुव प्रसाद पराजुली, वल्र्डवाईड ईन्टरन्यास्नल एजुकेशन काउन्सिलिङ् थापाथलीबाट महोत्तरी गोनरपुरका दिपक साह, सिनजिट्सु एजुकेशन कन्सल्टेन्सी कलंकीबाट काठमाडौं तीनथानाका संजोग थापा मगर र  एलाईन्स ईन्टरनेसनल एजुकेसन कन्सल्टेन्सी कलंकीबाटै काठमाडौं चन्द्रागिरी १ का हिरा कुमार बुढाथोकीलाई पक्रेको प्रहरीले जनाएको छ ।

यसैगरी स्काईलेर एजुकेशन एण्ड विजनेश सोलुसन कालिमाटीबाट टेकुका जोनसोन महर्जन, पीटिआई एजुकेशन प्रालि कालिमाटीबाट धादिङ्को कल्लेरीका किरण सिंखडा र झापा खुदुनाबारीका गोपाल अधिकारीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका मध्ये १ जनालाई महानगरीय प्रहरी परिसर काठमाडांै, २ जनालाई सिंहदरवार बृत्त र ९ जनालाई कालीमाटी बृत्तमा राखिएको प्रहरीले जनाएको छ ।

नेपाल शैक्षिक परामर्श संघ ईक्यानले बिहीबार पत्रकार सम्मेलन गरेर गैरकानुनी क्रियाकलापमा संलग्न रहेको पाइएमा त्यस्ता व्यबसायीलाई कानुनको दायारामा ल्याउने प्रहरीको अभियानलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । 

प्रतिक्रिया