Edukhabar
शुक्रबार, ०४ असोज २०८१
अन्तैवाट

विवादमा प्राविधिक शिक्षा

शनिबार, २६ असार २०७२
  • परिषद्बाट कृषि बिषयमा १२ कक्षा सकाएका विद्यार्थीलाई उच्च शिक्षा अध्ययन गर्न र लोकसेवाले पनि सहभागि हुन पाएका छैनन् ।

काठमाडौ,  २७ असार/ एसएलसीपछि प्राविधिक शिक्षा अध्ययन गर्न चाहेमा विद्यार्थीले सीटीइभीटीमा तीन बर्षे डिप्लोमा तहको कोर्ष गर्नुपर्छ । साधारण बिषय अध्ययन गर्न चाहने विद्यार्थीले उच्च माध्यमिक शिक्षा परिषदको दुई बर्षे कोर्ष पुरा गर्थे । शिक्षा मन्त्रालयले यसपाली उच्च माध्यमिक शिक्षा परिषद्लाई समेत प्राविधिक विषय बर्ष अध्ययन गराउन सक्ने अधिकारी दिएको छ ।

'एउटै मन्त्रालय मातहतको दुइटा स्वायत्त निकायमा फरक व्यवस्था कसरी भयो ?,'सीटीइभीटीका सदस्य सचिव रामहरी लामिछानेले भने,'सीटीइभीटी डुबाउने र अयोग्य जनशक्ति उत्पादन गर्ने खेल हुदैछ । हामीसंग योग्य र दक्ष शिक्षक, पूर्वाधार हुदा हुदै केही व्यवस्था नभएको ठाउँमा पढाउन अनुमति दिइएको छ ।'

शिक्षा मन्त्रालयले सामुदायिक विद्यालयमा नौ र दश कक्षामा प्राविधिक बिषय अध्ययन गरेका विद्यार्थीलाई प्लस टु मा पनि प्राविधिक विषय पढन पाउने व्यवस्था गरेको छ । सरकारले ९९ विद्यालयमा कक्षा नौ देखि प्राविधिक धारको पढाई सुरु गरेको छ । मन्त्रालयले ९९ मध्ये पूर्वाधार पुगेको विद्यालयमा ११ र १२ कक्षा पढाउने निर्णय गरेको छ । शिक्षा मन्त्रालय सहसचिवहरुको अनुगमनले नौ र १० कक्षामा प्राविधिक बिषय अध्ययन गराउने विद्यालयमा दक्ष शिक्षक र आवश्यक पूर्वाधार नभएको प्रतिवेदन मन्त्रालयमा दिएको छ । 'हामीले दिएको प्रतिवेदन अध्ययन नगरी व्यक्तिगत स्वार्थका आधारमा यस्तो निर्णय भएको छ,'एक सहसचिवले भने,'जुन विद्यालयमा हरेक महिना शिक्षक फेरिन्छ, प्रर्याप्त पूर्वाधार छैन,'एक सहसचिवले भने,'तिनै विद्यालयलाई ११ र १२ मा विद्यार्थी पढाउन दिएर मुलुकमा आयोग्य जनशक्ति उत्पादन हुन्छन् ।'

प्राविधिक धारबाट एसएलसीमा ९० प्रतिशत भन्दा बढी -ए प्लस) अंक ल्याएका विद्यार्थीले साइन्स अध्ययन गर्न निजी प्लस टुमा प्रवेश परीक्षा दिदा बढीमा ६० प्रतिशत अंकमात्रै ल्याएका छन् । 'प्राविधिक धारबाट एसएलसीमा उत्कृष्ठ विद्यार्थीले पनि ६० प्रतिशत भन्दा बढी ल्याउन सकेनन्,'हिसानका उपाध्यक्ष रमेश सिलवालले भने,'प्राविधिकतर्फको नौ र १० को सिकाई उपलब्धी अरुको भन्दा कमजोर पाइयो ।' प्रवेश परीक्षामा साधारणतर्फका विद्यार्थीले ९० प्रतिशत भन्दा बढी ल्याएको उनले बताए ।

प्राविधिक धारबाट एसएलसी पास गरेका विद्यार्थीले प्लस टुमा विज्ञान संकाय पनि अध्ययन गर्न पाउछन् । 'प्राविधिक धारबाट एसएलसी गरेका विद्यार्थी कमजोर रहेको कलेजबाट जानकारी आएको छ,'उच्च माध्यमिक शिक्षा परिषदका उपाध्यक्ष प्रा.चैतन्य शर्माले भने,'गुणस्तरमा सुधार गर्नु जरुरी छ ।'

प्राविधिक बिषय अध्ययन गरेका विद्यार्थी र अभिभावक अन्यौलमा परेका छन् । उच्च माविमा विज्ञान संकाय पढ्न अरु विद्यार्थी भन्दा कमजोर छन् । परिषद्ले सञ्चालन गर्ने दुई बर्षे कोर्ष पढा उच्च शिक्षा अध्ययन गर्न पाइने हो/होइन ? सीटीइभीटीको तीन बर्षे डिप्लोमा गर्दा धेरै खर्च लाग्छ । सामुदायिक विद्यालयमा सित्तैमा पढेका विद्यार्थीले सीटीइभीटी अन्तर्गतको कलेजले लिने महंगो शुल्क तिर्न सक्षम छैनन ।

परिषद्ले सञ्चालन गर्ने दुई बर्षे कोर्ष अध्ययन गरेका विद्यार्थी योग्य हुनेमा शंका छ । किनकी परिषद्संग प्राविधिक जनशक्ति छैन । अनुगमन पनि अन्य निकायलाई गुहार्नु पर्छ । सीटीइभीटीका प्राविधिकले सघाउने पक्षमा छैनन । 'हाम्रो अधिकार कटौटी गरेर अरुलाई दिएपछि हामीले किन सहयोग गर्ने,'लामिछानेले भने ।

प्राविधिक बिषय पढाउने उच्च माविमा नियमित अनुगमनको खाचो पर्छ । जुन निकायलाई प्राविधिक सम्बन्धी जानकारी समेत छैन । उसैलाई प्राविधिक बिषय अध्ययन गराउन जिम्मेवारी दिएको छ । परिषद् र सीटीइभीटी दुबैमा शिक्षामन्त्री अध्यक्ष हुने व्यवस्था छ ।

नौ र १० कक्षामा प्राविधिक बिषय अध्ययन गराउने विद्यालयका समूहले सीटीइभीटीमा शुल्क तिर्नु पर्ने, प्लस टुको जस्तो शैक्षिक मान्यता नभएको र केही सहसचिवको स्वार्थ पुरा गर्न प्लस टुमा प्राविधिक शिक्षा पढाएको आरोप छ ।

१२ कक्षासम्म अध्ययन गरेर रोजगारीमा लाग्छु भन्नेका लागि त परिषदो दुई बर्षे कोर्षले काम गर्ला, तर उच्च शिक्षा अध्ययन अवसर पाउला नपाउला निश्चित छैन । शिक्षा मन्त्रालयले गठन गरेको सुझाव समितिको प्रतिवेदनमा भनिएको छ,'उच्च शिक्षा प्रवेशका लागि आवश्यक हुने न्यूनतम बिषयहरु दुई बर्षे अवधिमा पुरा नहुने अवस्थामा आवश्यक पर्ने बिषयको लागि थप पाठ्यभार तयारी कार्यान्वयन गर्न सकिने ।'

सीटीइभीटीको तीन बर्षे कोर्ष गरेपछि थप पाठ्यभार पढनु पर्दैन । जस्तो सीटीइभीटीमा डिप्लो इन सिभिल गरेका विद्यार्थीले इन्जिनियरिङ संस्थाले लिने प्रवेश परीक्षामा सहभागि हुन पाउछन । परिषद् अन्तर्गतको उच्च माविमा दुई बर्ष प्राविधिक बिषय पढेका बिद्यार्थीको भविष्य अन्यौल नहोस भनेर पाठ्यक्रम बनाउन सम्बन्धित विश्वविद्यालयका प्राध्यापकहरुलाई सहभागि गराउने तयारी गरेको छ ।  'हामीले दुई बर्ष पढाएर उच्च शिक्षा अध्ययन गर्न पाउने/नपाउने एकिन नभएकोले अब नयाँ पाठ्यक्रम बनाउदा सम्बन्धित विश्वविद्यालयको पदाधिकारी र डीन कार्यालय, प्राध्यापकलाई सहभागि गराएर पाठ्यक्रम बनाउने तयारीमा परिषद् जुटेका छौ,'परिषदा उपाध्यक्ष प्रा.चैतन्य शर्माले भने ।

परिषद्बाट कृषि बिषयमा १२ कक्षा सकाएका विद्यार्थीलाई उच्च शिक्षा अध्ययन गर्न र लोकसेवाले पनि सहभागि हुन पाएका छैनन् । यि विद्यार्थीको भविष्य पनि कृषि पढेका जस्तै समस्या नहोस् भनेर सम्बन्धित निकायका पदाधिकारीलाई सहभागि गराएर कक्षा ११ र १२ को पाठ्यक्रम बनाउन लागि परेको हो ।

मन्त्रालयले जेठ पहिलो सातामा कक्षा नौ र दशमा प्राविधिक बिषय अध्ययन गरेका विद्यार्थीलाई सीटीइभीटीमा पठाउने भन्दै विद्यालयलाई सम्बन्धन दिन निर्देशन दियो । यो निर्देशन कार्यान्वयन गर्दै सीटीइभीटीले फारम वितरण समेत गरिसकेको थियो । '२५ वटा संस्थाले फारम समेत लगिसकेको थियो,'सीटीइभीटीका सदस्य सचिव रामहरी लामिछानेले भने,'हामीले तीन बर्ष पढाउदा पढाउदै मन्त्रालयले दुई बर्ष मात्रै पढे हुने गरी अर्को निकायलाई जिम्मेवारी दियो ।' एउटै मुलुकमा दुई थरीको पढाई हुने भएको छ ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 आजको कान्तिपुर दैनिकमा यो खबर छापिएको छ । 

प्रतिक्रिया