काठमाडौं २७ असार/ धादिङको जोगीमारा १ स्थित लैताककी सरिता चेपाङले विद्यालयमा सबैभन्दा धेरै नम्बर ल्याएर एसएलसी उत्तीर्ण गरिन् । उनीसगै राष्ट्रिय मावि खोरभन्ज्याङबाट २२ छात्रछात्रा एसएलसीमा सहभागी थिए । जसमा २ जना प्रथम र ३ जना द्वितीय श्रेणीमा उत्तीर्ण भए । उनले विद्यालय इतिहासमै सबैभन्दा धेरै ७४ दशमलव १३ प्रतिशत अंक ल्याउन सफल भइन् । धेरै नम्बर ल्याएर एसएलसी पास गरे पनि उनको मुहारमा खुसी छैन ।
चाहना उनको नर्सिङ पढ्ने छ । घरको आर्थिक अवस्थाले धान्दैन । ‘राम्रो अंक ल्याएर पास भए भने नर्सिङ पढ्न पाउछु भन्ने लागेको थियो,’ घास काटदै गरेको अवस्थामा भेटिएकी उनले भनिन्, ‘बुबाआमाले पढाउन सक्ने अवस्था छैन, धेरै खर्च लाग्छ भन्छन् ।’ उनले नर्स बनेर बिरामीको सेवा गर्ने चाहना भएको सुनाइन् । पाखोबारीको अन्नले जेनतेन ८ महिना पुग्छ । त्यसपछि अनिकालको सामना गर्नुको विकल्प छैन । बुबा शेरबहादुर कुल्ली काम गर्छन् । आमा सोमी घर धन्दामा व्यस्त हुन्छिन् । ४ दिदीबैनीमध्येकी सरिता माइली हुन् ।
‘छोरीले पढ्न खोजे पनि पढाउन सक्ने अवस्था छैन,’ बाबु शेरबहादुरले भने, ‘स्कुलसम्म तरकारी बेचेर भए पनि पढाए, अब उसले चाहेको विषय पढाउन सक्ने आर्थिक अवस्था छैन ।’ उनले कसैले पढाइमा सहयोग गरिदिएदेखि छोरीको नर्स बन्ने सपना पूरा हुने बताए । जेठी छोरी भीममायाले ०६७ सालको एसएलसीमा विद्यालयमै सबैभन्दा धेरै ६४ प्रतिशत अंक ल्याएर एसएलसी पास गरिन् । परिवारले खर्च नहुदा राम्रोसग पढाउन सकेनन् । घरबाट धाएर जोगिमारा ९ मझिमटारस्थित शंखादेवी उमाविमा प्सलटु पढिन् ।
पढदापढदै केटा माग्न आएपछि पारिवारिक दबाबले बिहे गरिन् । ‘दिदीको जस्तै हुने हो कि भन्ने डर लागेको छ,’ उनले भनिन्, ‘मेरो सोच पढाइ पूरा गरेर मात्र बिहे गर्ने छ ।’ राति ११ बजेसम्म पढ्ने उनी बिहान उठ्नासाथ घास काट्न जान्थिन् । घास लिएर आउदा ९ बज्थ्यो । विद्यालय पुग्न १ घण्टा लाग्छ । हतारहतार खाना खाएर कुद्नुको विकल्प हुदैनथ्यो । ‘हामी अनपढ भयौं, गरिबीले गर्दा पढ्न सकिएन,’ आमा समिले भनिन्, ‘हामी पढ्न नपाए पनि दुःख गरेर छोराछोरी पढायौं ।’
आजको कान्तिपुर दैनिकमा यो खबर छापिएको छ ।
प्रतिक्रिया