Edukhabar
शुक्रबार, ०४ असोज २०८१
अन्तैवाट

एसएलसी लब्धांकपत्रमा लापरबाही

सोमबार, २८ असार २०७२

काठमाडौं २८ असार / एसएलसी परीक्षाको लब्धांकपत्र निर्माणमा परीक्षा नियन्त्रण कार्यालयले लापरबाही गर्दा एउटा विषयको नम्बर अर्कैमा राखेको पाइएको छ । रुपन्देहीको फर्साटिकर उमावि परीक्षा केन्द्रबाट परीक्षामा सहभागी विद्यार्थीको नतिजा प्रकाशित गर्दा एउटा विषयमा प्राप्त गरेको अंकलाई अर्को विषयमा पनि चढाएको तथ्य भेटिएको हो । सो केन्द्रबाट परीक्षा दिएका सातवटा विद्यालयका परीक्षार्थीको सामाजिक शिक्षाको विषयमा स्वास्थ्य, जनसंख्या तथा वातावरण विषयको नम्बर राखी परीक्षाफल सार्वजनिक गरिएको तथ्य भेटिएको छ ।

सामाजिक शिक्षा र स्वास्थ्य जनसंख्या तथा वातावरण विषयमा समान अंक आएपछि विद्यालयले सामाजिक विषयको नतिजाको पुनर्मूल्यांकन गर्न निवेदन दिएका थिए । पुनर्याेगपछि अहिले पहिलाकोभन्दा फरक नम्बर आएपछि गल्ती पुष्टि भएको हो । पहिलाको नम्बरमा अहिले सच्याएर आएको दुर्गा शैक्षिक गृहका प्रबन्ध निर्देशक राजन ज्ञवालीले बताए । आफ्नो विद्यालयबाट एसएलसी उत्तीर्ण ४७ जना विद्यार्थीको दुइटा विषयमा समान अंक पाएको देखेपछि परीक्षाफल पुन: जाँचका लागि निवेदन दिएको उनले बताए । सामाजिक शिक्षाको नम्बर दिनुपर्नेमा स्वास्थ्य जनसंख्या तथा वातावरण विषयमा पाएको नम्बरलाई सीधै कपी गरी विद्यार्थीलाई अंक दिएकाले गलत भएको भन्दै परीक्षा नियन्त्रण कार्यालयले सच्याएर पठाएको उनले बताए ।

अंक सच्याएपछि दुर्गा शैक्षिक गृहबाट यसअघि सामाजिक शिक्षामा ६८ अंक ल्याएकी दीक्षा नेपालले अहिले ८८ अंक ल्याएकी छिन् । योसँगै उनको प्रतिशत ८९ दशमलव ६० बाट बढेर ९२ दशमलव १३ पुगेको छ । त्यस्तै यसअघि १२ जना विशिष्ट श्रेणीमा उत्तीर्ण भएकामा अहिले १४ जना पुगेकोसमेत उनले जनाए । त्यसैगरी प्याब्सन रुपन्देहीका अध्यक्षसमेत रहेका तिलोत्तमा उमाविका म्यानेजिङ डाइरेक्टर सुदीप केसीले फर्साटिकर उच्चमावि परीक्षा केन्द्रबाट एसएलसी परीक्षामा सहभागी सात विद्यालयको नतिजामा परीक्षा नियन्त्रण कार्यालयको गैरजिम्मेवारीले गर्दा समस्या भोग्नुपरेको बताए ।

दुर्गा शैक्षिक गृहका विद्यार्थीको अंक सच्याएर आइसकेको र अन्य विद्यालयले निवेदन दिने काम गरिरहेको उनले जानकारी दिए । उनले नम्बर सच्याउन आफू काठमाडांैमै रहेको जानकारी दिए । फर्साटिकर उमावि परीक्षा केन्द्रमा दुर्गा शैक्षिक, तिलोत्तमासँगै मदरल्यान्ड, नेपाल एभर ग्रिन, लिटिल फ्लावर, ड्रिम भिजन र सिद्धार्थका विद्यार्थीले परीक्षा दिएका थिए । यीमध्ये बाँकी ६ विद्यालयले आइतबारसम्ममा सच्याउन निवेदन दिने केसीले बताए । 

नयाँ पत्रिकामा खबर छ ।

प्रतिक्रिया