Edukhabar
शनिबार, ०५ असोज २०८१
खबर/फिचर

एमबीबीएसको प्रवेश परीक्षा असोज पहिलो साता

शनिबार, ०५ भदौ २०७२

काठमाडौ ५ भदौ/ त्रिभुवन विश्वविद्यालय चिकित्सा अध्ययन संस्थान (आइओएम) डीन कार्यालयले एमबीबीएस लगायत अन्य कार्यक्रमको प्रवेश परीक्षा असोज पहिलो साता गर्ने भएको छ । 

संस्थान अन्तर्गतका आगिंक तथा सम्बन्धन प्राप्त क्याम्पसमा सञ्चालन हुने स्नातक तहको कार्यक्रमको मिति तय गरेको हो । आइओएमका अनुसार एमबीबीएस र बीपीएचको प्रवेश परीक्षा आसोज २ मा र अन्य कार्यक्रमको असोज ३ गते बिहान आठ देखि १० बजेसम्म सञ्चालन हुने भएको छ । 

आवेदन फारम भदौ ४ गते बिहान १० देखि भदौ २४ गते पाच बजेभित्र भरिसक्नु पर्ने हुन्छ । आइओएम डट इडियू डट एनपी मार्फत अनलाइनबाट फारम भर्न सकिन्छ  । आवेदन दस्तुर हिमालयन बैकको ००२००५५५५७००५७ मा तीन हजार रुपैया दाखिला गर्नु पर्ने हुन्छ । आइर्आएमका अनुसार बैकमा रकम दाखिला गरेको भौचर पनि स्क्यान गरेर वेभसाइटमा अपलोड गर्नु पर्ने व्यवस्था गरेको छ । ‘आवेदन फारम सबमिट नभएमा त्यसको जिम्मेवारी आइओएम हुने छैन,’सूचनामा भनिएको छ,‘फारम सबमिट गरिसकेपछि कुनै पनि विवरण सच्याउन पाउदैन ।’ एडमिट कार्ड पनि विद्यार्थी आफैले प्रिन्ट गरेर लिनु पर्ने हुन्छ । 

प्लस टुको परीक्षामा सहभागि भएका तर, नतिजा नभएका विद्यार्थीले पनि आवेदन फारम अनलाइनबाट भर्न पाउने व्यवस्था गरेको छ । यस्ता परीक्षार्थीहरुले योग्यताक्रमनुसार भर्नाको लागि छनौट भएमा भर्ना हुने बेलामा विज्ञान बिषय उतिर्ण गरेको लब्धाङक पत्र  लगायतका अन्य कागजपत्र पेश गर्नु पर्ने हुन्छ । 

एमबीबीएस र बीडीएस अध्ययन गर्न चाहने विद्यार्थीले विज्ञान बिषयमा प्रमाणपत्र तह वा प्लस टुमा न्यूनतम ५० प्रतिशत ल्याई उतिर्ण हुनु पर्ने हुन्छ । त्यस्तै फिजिक्स, केमेस्ट्रिी र बाइलोजीमा समेत न्यूनतम ५० अंक ल्याएको हुनुपर्छ । 

ब्याचलर अफ नर्सिङ साइन्स अध्ययन गर्न प्रवीणता प्रमाणपत्र तह नर्सिङमा ५० प्रतिशत ल्याई उतिर्ण गरी नर्सिङ परिषद्मा दर्ता भएको प्रमाणपत्र प्राप्त गरेपछि मान्यता प्राप्त स्वास्थ्य संस्थामा कम्तीमा एक बर्ष काम गरेको अनुभव हुनु पर्ने प्रावधान छ । अन्य कार्यक्रममा प्लस टुमा ५० प्रतिशत उतिर्ण हुनु पर्छ । 

 

 

 

 

प्रतिक्रिया