Edukhabar
शुक्रबार, ०४ असोज २०८१
अन्तैवाट

दोर्जी आइपुगे स्कुल

विहीबार, ३१ असार २०७२

काठमाडौं ३१ असार / नौ दिनअघिकै जस्तो स्थिति हुँदो हो त १० वर्षे बालक दोर्जी शेर्पा अहिले पनि ताप्लेजुङस्थित उनकै गाउँमा साहुका बस्तुभाउ चराउन व्यस्त हुन्थे । बिहान–बेलुकी घाँस दाउरा र दिउँसो गोठालो लाग्ने उनको दैनिकी बुधबारदेखि विल्कुलै बेग्लै भएको छ । बुधबार बिहान साढे १० बजे उनी लेलेप–३ टाँसीगाउँमा बस्तु फुकाइरहेका थिएनन्, बरु काठमाडौंको तहाचलस्थित माउन्ट ग्लोरी बोर्डिङ स्कुलभित्र पुगिसकेका थिए ।  

‘दोर्जी अब माउन्ट ग्लोरीको एक सदस्य हो । ताप्लेजुङको गाउँबाट उनी शिक्षा लिन यहाँ आइपुगेका छन्,’ उनलाई स्वागत गर्दै प्रिन्सिपल गोपाल आचार्यले कुरोमात्र के टुंग्याएका थिए, स्कुल प्रांगणमा भेला भएका एकदेखि १० कक्षासम्मका सबै विद्यार्थीले परर्र ताली बजाए ।  

 

चञ्चले स्वभावका दोर्जी दुई दिन लगाएर ताप्लेजुङ सदरमुकाम फुङलिङ आइपुगेका थिए । राजधानी आउने क्रममै उनले पहिलो पटक गाडी चढे । फुङलिङबाट पनि दुई दिन लगाएर उनी मंगलबार काठमाडौं आइपुगेका हुन् ।

गत असार २१ गते कान्तिपुर दैनिकमा ‘बर्खान्तको ऋण तिर्न गोठालो’ शीर्षकमा समाचार प्रकाशन भएपछि उनलाई काठमाडौंमा पढ्ने चाँजोपाँजो मिलेको हो । उक्त स्कुलले दोर्जीलाई १२ कक्षासम्मै पढाइदिने प्रतिबद्धता जनाएको छ ।

 

विद्यालय छिर्दा खुसी देखिएका दोर्जी उनको स्वागतमा आयोजित कार्यक्रममा भने केही डराएजस्तो देखिए । प्रिन्सिपल आचार्यले उनलाई स्कुलको पोसाक, झोला र किताब दिए । दोर्जीले लगाइहाल्न भने मानेनन्, बरु आँसु खसाले । खासै केही बोलेनन् । ‘उता र यहाँको वातावरण फरक भएकाले उनलाई परामर्श पनि आवश्यक छ,’ आचार्यले भने, ‘अब म सँगै बस्छन्, प्लस टुसम्मको पढाइ र आवास खर्च सबै हामीले नै बेहोर्ने छौं ।’

 

अनेरास्ववियुकी सचिव राधिका खतिवडाले प्रिन्सिपल आचार्यलाई आग्रह गरी पढाइदिने व्यवस्था मिलाएकी हुन् भने एमालेका सचिव योगेश भट्टराईले ताप्लेजुङका विभिन्न व्यक्तिलाई भनेर दोर्जी परिवारले लिएको ऋण तिरिदिने पहल गरेका थिए । ताप्लेजुङ घर भएका पर्यटन व्यवसायी ईश्वरी पौडेल, नेपाल हिमालय सीमापार वाणिज्य संघका सचिव रमेश बराल र वैदेशिक रोजगार व्यवसायी महासंघका पूर्वअध्यक्ष बलबहादुर तामाङ मिलेर दोर्जीको परिवारको ६० हजार रुपैयाँ ऋणमध्ये तिर्न बाँकी ५२ हजार चुक्ता गरिदिइसकेका छन् ।

इकान्तिपुर

प्रतिक्रिया