Edukhabar
शुक्रबार, ०४ असोज २०८१
अन्तैवाट

लागुऔषधको लतमा प्लस टु पुस्ता

विहीबार, ३१ असार २०७२

लागुऔषधको लतमा प्लस टु पुस्ता

काठमाडौंं, ३१असार/एसएलसीपछि उज्यालो भविष्यको सपना बोकेर उच्च शिक्षाका लागि कलेज पढ्न जाने विद्यार्थी लागुऔषधको लतमा फस्ने गरेका छन् । गलत संगतका कारण प्लस टु पुस्ता लागुऔषध दुव्र्यसनीको उच्च जोखिममा रहेको प्रहरी अध्ययनको निष्कर्ष छ ।

गलत संगतका कारण प्लस टु तहमा धेरै विद्यार्थी बिग्रिएकाले सुरुदेखि नै उनीहरूमाथि निगरानी आवश्यक हुने प्रहरी अधिकारी बताउँछन् । उनीहरूका अनुसार कलेजमा साथीहरूको लहलहैमा लागेर धेरैले लागुऔषध सेवन गर्ने गरेका छन् । नयाँ कुराप्रति आकर्षण हुने र रमाइलोका नाममा प्लस टु पुस्ता लागुऔषध दुव्र्यसनी हुन सक्ने भएकाले सावधानी अपनाउन अभिभावकलाई प्रहरीको सुझाब छ ।

लागुऔषध नियन्त्रण ब्युरोका एसपी धीरजप्रताप सिंहका अनुसार नेपालमा धेरैजसोले स्कुल र कलेजमा लागुऔषध प्रयोग गर्न सिक्ने गरेका छन् । ‘प्लस टु तहका विद्यार्थी लागुऔषधको उच्च जोखिममा छन्,’ एसपी सिंह भन्छन्, ‘लागुऔषध कारोबारीले पनि प्लस टु तहका विद्यार्थीलाई लक्षित गरी कारोबार बढाउने गरेका छन् ।’

गृह मन्त्रालयले आगामी भदौदेखि स्कुल–कलेजलाई लक्षित गरी जनचेतना कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ । यसका लागि स्कुल–कलेज आफैँले पनि शिक्षा दिनुपर्ने र नियन्त्रणका लागि कडा निगरानी गर्नुपर्ने प्रहरी अधिकारी बताउँछन् ।

लागुऔषध दुव्र्यसनीको उपचार गराउँदै आएका नेपाल प्रहरीका पूर्वएसएसपी तथा नार्कोनन नेपालका सञ्चालक वसन्त कुँवरले पनि किशोर–किशोरीलाई सजिलै फसाउन सकिने भएकाले ८ देखि १२ कक्षासम्मका विद्यार्थी लागुऔषधको धेरै जोखिममा रहेको बताए । उनका अनुसार नेपालमा डेढ लाखभन्दा धेरै विद्यार्थी लागुऔषधको दुव्र्यसनमा फसिसकेका छन् ।

प्रहरीका अनुसार सुरुमा साथीहरूले पढ्न आउँछ, स्मार्ट होइन्छ भनेर गाँजा सित्तैमा खान सिकाउँछन् । जब उसलाई बानी पर्छ, त्यसपछि किन्न लगाउने गरेका छन् । खासगरी धनी बाबुआमाका छोराछोरीलाई लागुऔषधका कारोबारीले टार्गेट गर्ने गरेका छन् ।

भर्ना लिँदा नै कलेजले लागुऔषध दुव्र्यसनीलाई भर्ना लिन नहुने कुँवरको भनाइ छ । पिसाब जाँचबाट लागुऔषध दुव्र्यसनी पत्ता लाग्ने भएकाले भर्नाअघि त्यस्तो जाँच गर्ने व्यवस्था लागू गर्नुपर्ने उनी बताउँछन् ।

स्कुल–कलेजले पनि लागुऔषधविरुद्ध नियमित रूपमा कार्यक्रम गरेर सचेतना जगाउनुपर्ने कुँवरको भनाइ छ । लागुऔषधबारे जानकारी दिने शिक्षक नै राख्नुपर्ने अवस्था आइसकेको उनले बताए ।

केही स्कुल–कलेजले त आफ्ना विद्यार्थीले लागुऔषध सेवन गरेको थाहा पाएपछि अभिभावकलाई खबर गर्नुको सट्टा कलेजको छवि बिग्रन सक्ने भएकाले लुकाउने गरेका घटनासमेत छन् । व्यस्त जीवनशैलीका कारण अभिभावकले पनि छोराछोरीमाथि ध्यान दिन नसक्दा धेरैजना दुव्र्यसनमा फस्ने गरेका छन् ।

नेपालमा सिरिन्जमार्फत धेरैले लागुऔषध प्रयोग गर्छन् । खुला सिमानाका कारण भारतबाट त्यस्तो लागुऔषध सजिलै भित्रने गरेको छ । प्रहरीले दैनिकजसो लागुऔषध बरामद गर्दै आएको छ । लागुऔषधको कारोबारमा धेरै नाफा हुने भएकाले जोखिम लिएर ओसारपसार हुने गरेको प्रहरी अधिकारी बताउँछन् । खासगरी दुव्र्यसनी नै यस्तो धन्दामा लाग्ने गरेका छन् । नार्कोनन नेपालका निर्देशक कुँवरका अनुसार लागुऔषध किन्न पैसा नभएपछि अरू तीनजनालाई दुव्र्यसनमा फसाएर सित्तैमा खान दिने भन्दै कारोबारीले बजार विस्तार गर्छन् ।

कसरी थाहा पाउने ?

छोराछोरीलाई लागुऔषध दुव्र्यसनबाट बचाउन उनीहरूमाथि नियमित निगरानी गर्नुपर्ने प्रहरी अधिकारी बताउँछन् । प्रहरीका अनुसार लागुऔषध दुव्र्यसनमा फसेपछि किशोर–किशोरीमा मुख्य चार लक्षण देखिन्छ । लागुऔषध दुव्र्यसन थालेपछि उनीहरू दुब्लाउँछन् । बेलुका अबेर सुत्ने र बिहान ढिलासम्म सुत्ने बानी हुन्छ । राम्रा विद्यार्थी पनि पढाइमा फेल हुन थाल्छन् । साथै, उनीहरूको मौलिक व्यवहारमा परिवर्तन आउँछ । एक्लै बस्ने तथा रिसाउने बानी विकास हुने गरेको छ ।

यस्तो छ गृहको सर्वेक्षण

गृह मन्त्रालयले दुई वर्षअघि गरेको सर्वेक्षणमा १५ देखि २० वर्ष उमेर समूहका ४९ प्रतिशत किशोर–किशोरी लागुऔषध दुव्र्यसनमा फसेका छन् । यसमध्ये धेरै प्लस टु तहका विद्यार्थी रहेको गृहले जनाएको छ ।

सबैभन्दा धेरै दुव्र्यसनी राजधानीमा छन् । राजधानीका हरेकजसो कलेजमा कुनै न कुनै विद्यार्थी लागुऔषध दुव्र्यसनमा फस्ने गरेको गृहको सर्वेक्षणले देखाएको छ ।

सर्वेक्षणअनुसार राजधानीमा ३६ हजार दुव्र्यसनी छन् । त्यसपछि सुनसरी, कास्की, मोरङ, झापा, रुपन्देही, चितवन, बाँके, पर्सा र मकवानपुर धेरै लागुऔषध दुव्र्यसनी भएका जिल्लामा पर्छन् ।

जनचेतनाको कमीका कारण लागुऔषध दुव्र्यसनीको संख्या बढ्दै गएको सरकारी तथ्यांक छ । गृहले ०६३ मा गरेको सर्वेक्षणमा नेपालमा ४६ हजार तीन सय नौ दुव्र्यसनी रहेकोमा ०६९ मा यो संख्या दोब्बर भएको थियो । ०६९ मा ९१ हजार पाँच सय ३४ जना ‘हार्ड’ लागुऔषध दुव्र्यसनी रहेको गृहको तथ्यांक थियो । तर, अहिले दुई लाख नाघिसकेको प्रहरी अनुमान छ ।

नया पत्रिकाबाट 

प्रतिक्रिया