Edukhabar
शुक्रबार, ०४ असोज २०८१
अन्तैवाट

माथिल्लो पद ओगट्ने शिक्षकलाई घटुवा

शनिबार, ०२ साउन २०७२

काठमाडौ, २ श्रावण / आफ्नो दरबन्दीमा अरूलाई जागिर खुवाएर माथिल्लो तहमा जिम्मेवारी लिएका शिक्षक साउनसम्ममा आफ्नो पदमा र्फकनुपर्ने भएको छ । अर्काको दरबन्दीमा जागिरमा रहेका लियन शिक्षकलाई असारसम्मको तलब दिएर हटाउन विभागले शिक्षा कार्यालयलाई मंगलबार निर्देशन दिएको छ ।

 प्राथमिक तहका कतिपय शिक्षक आफ्नो दरबन्दीमा अर्कै व्यक्ति राखेर आफूचाहिँ निमावि र माविका अस्थायी शिक्षकका रूपमा कार्यरत छन् । विभागले यस्ता शिक्षकलाई आफ्नै पदमा झार्न जिल्ला शिक्षा कार्यालयहरूलाई निर्देशन दिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनका आधारमा सोमबार शिक्षामन्त्रीस्तरीय बैठकले लियन शिक्षक हटाउन लागेको हो । तल्लो तहका शिक्षकले कतिपय विद्यालयमा प्रधानाध्यापकको समेत जिम्मेवारी लिएका छन् । उनीहरूलाई माथिल्लो तहमा राख्दा शैक्षिक गुणस्तर खस्केपछि विभागले लियन शिक्षक हटाउन लागेको हो ।

शिक्षा विभागले यस्ता शिक्षकलाई हटाउन बारम्बार निर्देशन दिए पनि कार्यान्वयन नभएपछि सोमबार भएको मन्त्रीस्तरीय बैठकले तल्लो तहमा लियन पद राखी माथिल्लो तहको दरबन्दीमा कार्यरत सामुदायिक विद्यालयका शिक्षकहरूलाई असार मसान्तसम्मको मात्रै तलब दिने निर्णय गरेको हो । बैठकले साउनभित्र आफ्नो पदमा अनिवार्य रूपमा फिर्ता हुनुपर्ने निर्णयसमेत गरेको छ । यो निर्णय कार्यान्वयन गराउन मंगलबार क्षेत्रीय र जिल्ला शिक्षा कार्यालयलाई निर्देशन दिँदै भनिएको छ, 'आफ्ना पदमा अनिवार्य रूपमा फिर्ता गरी त्यसको प्रगति प्रतिवेदन शिक्षा विभागमा पठाउन र तल्लो पदमा लियन राखी माथिल्लो पदमा कार्य गर्न नपाउने व्यवस्था पूर्णरूपमा कार्यान्वयन गराउनु ।' शिक्षा विभागका निर्देशक खगेन्द्र नेपालले असार १७ मा अख्तियारको निर्देशनअनुसार मन्त्रीस्तरीय निर्णय गरेर कार्यान्वयनको प्रक्रिया अघि बढाएको बताए । 'अब विगतमा जस्तो छलछाम गरेर पन्छिन सक्दैनन्,' उनले भने, 'लियन शिक्षक अनिवार्य बाहिरिनुपर्ने हुन्छ ।' विभागले यस्ता शिक्षकको तलबसमेत रोक्का गर्ने भएको छ । लियन दरबन्दीमा बसेका शिक्षकले माथिल्लो तहमा गएका शिक्षक फर्केपछि स्वतः आफू बाहिरिने गरी नियुक्ति लिएका हुन्छन् ।

शिक्षा विभागका अनुसार ३५ जिल्लाका तल्लो तहका सयौं स्थायी शिक्षकले माथिल्लो तहको जिम्मेवारी लिएका छन् । यसमध्ये काठमाडौंमा सबैभन्दा बढी ७६ जना छन्, यसमा विद्यालयकै नेतृत्व लिने (प्रधानाध्यापक) मात्रै २० जनाभन्दा बढी छन् । तल्लो पद स्थायी भएका शिक्षक माथिल्लो तहमा अस्थायी रूपमा काम गरिरहेका छन् । ललितपुरमा ४० भन्दा बढी यस्ता शिक्षक छन् । शिक्षा कार्यालयका अनुसार ललितपुरमा प्रधानाध्यापकको जिम्मेवारी लिने १० जना छन् ।

यस्ता शिक्षकले दोहोरो सुविधासमेत लिएका छन् । प्रावि र निमाविमा स्थायी पद राखेर माविमा अस्थायी भएका व्यक्तिको बढुवा प्रयोजनमा स्थायी सेवा अवधि नै गणना हुन्छ । निवृत्तिभरणमा पनि तल्लो तहकै गणना हुन्छ । सरकारले अस्थायी शिक्षकलाई दिने सुविधा पनि लिन्छन् । एकैपटक दुई पदको गणना भइरहेको छ । आफ्नो दरबन्दीभन्दा माथिल्लोमा अध्यापन गराउने शिक्षकलाई अब आफ्नो स्थायी दरबन्दीबाट राजीनामा दिएर माथिल्लो तहमा अस्थायी बस्ने वा माथिल्लो तहबाट आफ्नै दरबन्दीमा र्फकने विकल्प हुन सक्छ ।

आजको कान्तिपुर दैनिकमा मकर श्रेष्ठले यो खबर लेखेका छन् । 

प्रतिक्रिया