Edukhabar
शुक्रबार, ०४ असोज २०८१
अन्तैवाट

एमबीबीएस छात्रबृतिको परीक्षा विश्वविद्यालयले लिने

शनिबार, ०९ साउन २०७२

काठमाडौं ९ साउन/ शिक्षा मन्त्रालयले एमबीबीएसको छात्रबृतिको प्रवेश परीक्षा सञ्चालनको अधिकार त्रिभुवन  विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयलाई दिने प्रक्रिया अघि बढाएको छ ।  

नीति निर्माण र अनुगमन गर्नु पर्ने निकायले परीक्षा सञ्चालन गरेको भन्दै बिरोध भएपछि छात्रबृति सम्बन्धी नियमावली, २०६० शंसोधन गरेर मन्त्रालयले त्रिभुवन विश्वविद्यालय (त्रिवि) र काठमाडौं विश्वविद्यालय (केयु)लाई अधिकार दिन लागेको हो । ती विश्वविद्यालयले सञ्चालन गरेको प्रवेश परीक्षालाई मन्त्रालयले प्रयोग गर्नेछ । 

मन्त्रालयले प्रवेश परीक्षा सञ्चालन नगरी विश्वविद्यालयहरुले गरेको प्रवेश परीक्षाको प्राप्ताङकका आधारमा पारदर्शी रुपमा कार्य सम्पादन गर्न लागेको जनाइएको छ । विश्वविद्यालयले उपलब्ध गराएको विवरणको आधारमा मन्त्रालयले  स्वदेशको मेडिकल कलेज र विदेशमा छात्रबृतिमा अध्ययन गर्न छनौट गर्नेछ । 

विश्वविद्यालयबाट सञ्चालित परीक्षाको आधारमा छनौट गर्दा समय र लागत कम हुने, मन्त्रालयको काम अझ प्रभावकारी हुने दाबी गरिएको छ । 

मन्त्रालयले नियमावली संसोधनको सहमतिका लागि दुई साताअघि कानुन मन्त्रालयमा पठाइसकेको छ । ‘परीक्षा सञ्चालन विश्वविद्यालयलाई दिन र  अनुगमन, नियमनको काम मन्त्रालयले गर्न लागेको हो,’ शिक्षा मन्त्रालयका उच्च शिक्षा महाशाखा प्रमुख हरिप्रसाद लम्सालले भने, ‘यो व्यवस्थाले परीक्षा थप व्यवस्थित र मर्यादित हुनेछ । विश्वविद्यालयले सञ्चालन गरेको प्रवेश परीक्षाको प्राप्ताङकको आधारमा योग्यताक्रम काम गर्ने व्यवस्था गर्छौ ।’ यी दुई विश्वविद्यालयले प्रवेश परीक्षा सञ्चालन गर्न तयार रहेको र सहमती जनाएपछि मन्त्रालयले कानुनी जटिलता फुकाउन लागेको हो ।

आजको कान्तिपुर दैनिकमा मकर श्रेष्ठले यो खबर लेखेका छन् । 

प्रतिक्रिया