Edukhabar
मंगलबार, ११ मंसिर २०८१
खबर/फिचर

उपकुलपति नियुक्तिको विरोध गर्दै तालाबन्दी

सोमबार, ०७ भदौ २०७२

काठमाडौं ७ भदौ / उपकुलपति नियुक्तिको विरोध गर्दै एमाले निकट नेपाल प्रगतिशील प्राध्यापक संगठनले त्रिभुवन विश्वविद्यालय सहित ४ वटै विश्वविद्यालयमा तालाबन्दी गरेको छ ।

आईतबार अबेर प्रधानमन्त्री एवं कुलपति सुशील कोइरालाले नियुक्ति गरेका उपकुलपतिहरुलाई सोमबार नियुक्ति पत्र दिईएको थियो । त्रिविका नवनियुक्त उपकुलपति डा. तीर्थ खनियाले पदवहाली गरेपछि संगठनले ताला लगाएको हो । उपकुलपति कार्यकक्ष सहित कार्यालयको मूल गेटमा तालाबन्दी गरिएको छ ।  

सत्ता साझेदारीको मूल्यलाई लत्याउँदै काँग्रेसले एकलौटी रुपमा आफ्ना मान्छे नियुक्ति गरेको आरोप सहित संगठनले तालाबन्दी गरेको जनाएको छ । कुलपति समेत रहेका प्रधानमन्त्री र सहकुलपति रहेकी शिक्षा मन्त्रीले सत्ता साझेदारीको कुरालाई विर्सेर एकलौटी गरेको विरोध गरेका हौं, संगठनका अध्यक्ष डा. यादव लामिछानेले भने निर्णय फिर्ता नभए सम्म तालाबन्दी कायम रहन्छ ।

अन्य विश्वविद्यालयमा पनि संगठनका स्थानीय नेताहरुले तालाबन्दी गरेको उनले बताए ।

२०६८ साल साउनमा तत्कालिन प्रधानमन्त्री झलनाथ खनालले सातैवटा विश्वविद्यालयमा एकैपटक उपकुलपति नियुक्त गरेका थिए । त्यसवेला चारवटा विश्वविद्यालयमा एमालेनिकट प्राध्यापकलाई उपकुलपति बनाईएको थियो ।  अहिले कांग्रेस का प्रधानमन्त्री भएको बेलामा देशको सबैभन्दा ठूलो र पुरानो त्रिभुवन विश्वविद्यालय सहित चारवटा विश्वविद्यालय आफूले पाउनु पर्ने तर्क गर्दै काग्रेसले आफ्ना मान्छे नियुक्ति गरेको हो ।

तर, संगठनका अध्यक्ष लामिछानेले त्यसबेलाको सत्ता साझेदारी र अहिलेकोमा फरक भएकोले काँग्रेसले पेलेको दावी गरे । उतिखेर सत्तामा नभएको काग्रेसलाई पनि भाग दिईएको थियो अहिले त हामी समान हैसियतका साझेदार हौ उनले भने ।

११ विद्यार्थी संगठनले उपकुलपनि नियुक्तिमा भागबण्डा नगर्न दवाव दिदैं आएका छन् । 

प्रतिक्रिया