काठमाडौं १३ साउन / उनले भर्खर १४ वर्ष पुगेर १५ मा पाइला टेके । काँधमा बोकेको ढुंगाले बेलाबेलामा झटारिरहेको हुन्छ उनलाई । शरीरमा जति थकाइ र मनमा पीर भए पनि साथीहरूसँग हाँस्दै–रमाउँदै दिनभरि काँधमा ढुंगा बोक्नु उनको दैनिकी हो ।
प्युठान जबरा गाविस–७ का चुमान बोहोरा गाउँमा कक्षा ६ मा पढ्छन् । उनीजस्तै अरू २४ जना बालबालिका विद्यालयमा बर्खेबिदा भएको मौका छोपेर पढाइखर्च जुटाउन काम खोज्दै गुल्मी सदरमुकाम तम्घास आइपुगेका छन् । उनीहरू कक्षा ६ देखि ९ सम्म पढ्दै गरेका छन् ।
घरको आर्थिक स्थिति कमजोर भएका कारण आमाबाबुले विद्यालय जान जेनतेन कापीकलम किनिदिए पनि अन्य खर्च जुटाउन उनीहरूलाई मुस्किल पर्छ । पढाइखर्च जुटाउन काम खोज्दै वर्षेनि तम्घास आउने गरेको उनीले बताए ।
‘हाम्रो परिवार ठूलो छ, बाआमाले दिनभर अरूको मेलापात गरेर कमाउनुहुन्छ । एक महिना स्कुल छुट्टी छ, त्यही भएर काम गर्न आएको’, अर्खा माविको कक्षा ९ मा पढ्ने हरि रानाले भने ।
उनीहरूले मजदुरी गरेर दैनिक तीन सय ५० रुपैयाँसम्म कमाउने गरेका छन् । यसबाट खाना खर्च कटाएर दैनिक एक सय ५० रुपैयाँ बचत गर्ने गरेका छन् । ‘यही पैसाबाट स्कुलको डे«स, कापीकलम र घरमा चिनी चियापत्ती लैजाने हो’, पूजा गाविसस्थित ज्ञानोदय माविको कक्षा ९ मा पढ्ने १६ वर्षीय कुलजित घर्तीले भने ।
प्युठानबाट मात्र होइन, बागलुङको उत्तरी क्षेत्रबाट समेत बालबालिका काम खोज्दै बर्खेबिदामा दुई दिन पैदल हिँडेर तम्घास आइपुग्छन् । गाउँबाट आएका बालबालिका सदरमुकामका होटेल र चियापसलमा भाँडा माझ्नेदेखि सडक र भवन निर्माणमा खटिन्छन् ।
बर्खेबिदामा पढाइखर्च जुटाएर एक महिनापछि उनीहरू पढ्न फेरि घर फर्कन्छन् । गुल्मीको सिमानामा पर्ने बागलुङ र प्युठानका धेरै बालबालिका यतिबेला सदरमुकाम तम्घासका होटेलमा भाँडा माझ्ने र दैनिक ज्यालादारीमा काम गरेको देख्न सकिन्छ ।
कतिले त पढ्ने रहर हु“दाहु“दै पनि आर्थिक स्थिति कमजोर भएका कारण बीचैमा पढाइ छोड्नुपरेको गुनासो गरे ।
अन्नपूर्ण पोष्टमा जनार्दन घिमिरेले लेखेका छन् ।
प्रतिक्रिया