Edukhabar
मंगलबार, ११ मंसिर २०८१
अन्तैवाट

आखिर शिक्षा केका लागि ?

सोमबार, १८ साउन २०७२

आखिर शिक्षा केका लागि ?- नीरज गौतम / मानवजातिको आधारभूत आवश्यकता गाँस, वास, कपास र स्वास्थ्यका साथसाथै शिक्षा पनि एक हो । यसले नै देशको भविष्य निर्माण तय गर्छ । प्रस्तुत आलेखमार्फत प्राध्यापनका क्रममा आफूले प्रत्यक्ष देखेका–भोगेका शिक्षा क्षेत्रभित्रका पीडालाई यथासम्भव उतार्ने प्रयास गरेको छु ।

समाज विकास गर्नु, शान्ति कायम गर्नु र माया–सद्भाव कायम राख्नु नै शिक्षाको मूलभूत उद्देश्य हो । कुनै पनि देशको शिक्षा सर्वप्रथम असल समाज निर्माणका लागि समर्पित हुनुपर्छ । शिक्षाको उद्देश्य सकारात्मक रबैया (पोजिटिभ एटिच्युड) निर्माण गर्ने हुनुपर्छ । हामी कुरा गरिरहेका छौँ, सकारात्मक सोच, सकारात्मक चिन्तन र सकारात्मक मानसिकताबारे । सायद यसैको कमीले होला, आज हामी फोहोरी राजनीतिक दरिद्रताको सिकार भइरहेका छौँ । त्यस्तो सोच, जसले मानिसलाई बिल गेट्स बनाउँछ र त्यही सोचकै कारण मानिस बिरालोबाट मुसा बन्छ ।

तर, हाम्रो नेपाली शिक्षा के यो मार्गदर्शनका पथमा लम्किरहेको छ त ? कतै हाम्रो शिक्षा प्रणाली शैक्षिक योग्यताका प्रमाणपत्रमै मात्र सीमित त छैन ? कतै हामी खालि पूर्ण साक्षर जिल्ला घोषणा गर्न मात्रै शिक्षा बाँडिरहेका त छैनौँ ? नवलपरासीलाई यसअघि नै पूर्ण साक्षर जिल्ला घोषणा गरिएको थियो, त्यही जिल्लाभित्र १० वर्षे बालकलाई बलि दिइयो । यी हाम्रो समाजमा रहेको शैक्षिक प्रणालीबारे सोच्न बाध्य पार्ने गहन प्रश्नहरू हुन् ।
शिक्षक कक्षाकोठाभित्र छिर्छ, न त शिक्षकलाई विद्यार्थीको वास्ता हुन्छ, न त विद्यार्थीलाई शिक्षकप्रति कुनै सम्मानभाव हुन्छ ।

प्लस टुसम्म पुग्नुअघिको एउटा विद्यार्थीले कम्तीमा पनि ६ घन्टाको समय विद्यालयमा बिताउँछ । २४ घन्टामा ६ घन्टा अर्थात् एकचौथाइ उसको समय शिक्षक र विद्यालयसँग गाँसिएको हुन्छ । यो एकचौथाइ समयले एउटा नागरिकको भविष्य तय गर्छ, असल व्यक्ति या खराब व्यक्तिका रूपमा । यो ६ घन्टा लामो समयमा एउटा शिक्षकले विद्यार्थीलाई सुई रोप्ने काम मात्र गरिरहेको हुन्छ— जसरी हुन्छ परीक्षा पास गर्नुपर्छ, जसरी हुन्छ राम्रो अंक ल्याउनुपर्छ । बरु चोर, तर फेलचाहिँ नहोऊ ।

हाम्रो मानसिकतामा शिक्षा केवल परीक्षामा राम्रो अंक ल्याउनुसँग मात्र जोडिएको छ । विद्यार्थीको पढ्ने मन हुँदैन, त्यही पनि जबर्जस्ती रटाउन खोजिन्छ । जब विद्यार्थीमा पढ्ने इच्छै छैन भने त्यसरी जबर्जस्ती रटाउनुको के अर्थ ? पढ्ने वातावरण निर्माण गरेर पठनपाठनमा लगाव बढाउने दायित्व भनेको शिक्षक र अभिभावकको हो । हामी कस्ता शिक्षकलाई पढाउन लगाइरहेका छौँ त ? महान् शिक्षक त्यो हो, जसले आफ्नो विद्यार्थीलाई हौसला, साहस र ज्ञान सिक्न प्रेरणा दिन्छ । विद्यार्थीको मानसिकता बुझ्ने काम पहिलो हो, त्यसैअनुरूप शिक्षकले विद्यार्थीलाई निर्देशन गर्नुपर्छ । अनुशासन कायम भए मात्र समाजमा शान्ति स्थापना हुन सक्छ । तर, के हामीले शिक्षालाई अनुशासनसँग मिश्रण गरिरहेका छौँ त ? ठूलालाई आदर सम्मान र सानालाई माया गर्न के हामीले आफ्ना विद्यार्थीलाई सिकाइरहेका छौँ त ? हाम्रो पुस्तालाई नैतिक पाठका ज्ञान के हामीले सिकाइरहेका छौँ त ? जहाँसम्म लाग्छ, छैनौँ । हामीले यी सबै कुरा वेलैमा सिकाएको भए आज देशमा भ्रष्टाचार हुँदैनथ्यो होला । के सही, के गलत सिकाएको भए हत्या, हिंसा, अपहरण, बलात्कार, ठगीजस्ता घटनामा कमी आउँदैनथ्यो होला र ?

हामी बालबालिकामा क्षमता कति छ, सिप विकास भएको छ वा छैन, त्यो बुझ्नतिर पटक्कै ध्यान लगाउँदैनौँ । हामीलाई त चाहियो बस डिस्टिङ्सन, राम्रो अंक । ‘फलानाको छोरा त आहा † स्कुलटप, कक्षाप्रथम, तँ पाजी चाहिँ नालायक, खतम भइस् † कुलको इज्जत फालेरै छाड्ने भइस् †’ आखिर हामी यस्तो गलत मानसिकताको सिकार कहिलेसम्म हुने ? राम्रो अंक ल्याउन एक महिना राम्ररी पढ्ने हो भने कठिन छैन । तर, विद्यार्थीमा दक्षता, सीप, गुणस्तर बढाउन वर्षौंवर्षको अधिक मिहिनेत र साधना आवश्यक पर्छ । यस्तो तत्त्वले नै हो, कुनै पनि राष्ट्रको भविष्य तय गर्ने । के हामी यही बाटामा हिँडिरहेका छौँ त ?

अहिले प्रतिस्पर्धात्मक युगमा हरेकले आफूलाई बजारमा बेचिरहेको हुन्छ । एउटा टिस्यु पेपर हामी प्रयोग गर्छौं अनि फालिदिन्छौँ, तर एउटा पैसाको नोट के हामी त्यसरी नै फाल्छौँ ? पक्कै फाल्दैनाँै । त्यसरी नफाल्नुको कारण हो, त्यसको मूल्य र महत्त्व । अब हामीले हाम्रो युवापुस्तालाई टिस्यु पेपर बनाउने कि नोट ? यो गहन प्रश्न हाम्रो शिक्षा प्रणाली, हाम्रा शिक्षक र अभिभावकसामु छाडिदिऔँ ।

यतिखेर हाम्रो शिक्षा कुनै औषधिको एउटा क्याप्सुलजस्तो भइसकेको छ । खाएन भने त खत्तम नै हुन्छ, खानैपर्‍यो जसरी भए नि । तर, यो बिल्कुलै गलत मानसिकता हो । कलेज तहमा प्राध्यापनरत भएको हिसाबले पनि यस सम्बन्धमा मेरो पनि चासो हुनु स्वाभाविक हो । मेरो मान्यतामा असली शिक्षण सिकाइ भनेको ‘लर्निङ विथ फन’ हुन सक्नुपर्छ । ताकि सबै युवा पुस्ता गुणस्तरीय शिक्षाप्रति अग्रसर रहोस् । गुणस्तरीय शिक्षाको खाका तयार गर्ने काम राज्यको हो । यतिखेर हाम्रो देशमा जो व्यक्ति प्रणाली शिक्षाबारे पटक्कै सचेत वा जानकार छैन, उसले नै कलेज, स्कुल खोलेर बसेको छ, केवल पैसाका लागि । उसलाई विद्यार्थीको भविष्यप्रति चासो हुने कुरै भएन, उसलाई त सकभर धेरैभन्दा धेरै विद्यार्थी संकलन गर्नु छ र सकभर बढीभन्दा बढी शुल्क असुलेर रातारात धनी बन्नु छ । त्यस्तो व्यापारिक सोच भएका व्यक्ति नै शैक्षिक संस्थाका अध्यक्ष, प्रिन्सिपल भएर बसेका छन् । यस्ता ‘महान्’ हस्तीबाट हामीले कस्तो अपेक्षा गर्नु ?

शैक्षिक नीतिको उद्देश्य भनेको मिलेसम्म विद्यार्थीलाई उत्तीर्ण गराउनु हो । उत्तरपुस्तिका जाँच गर्दा जाँचकर्ताले आफ्नो तहमा होइन, विद्यार्थीको तहमा आफूलाई राखेर जाँच गर्नुपर्छ । प्रश्नहरू कठिन नभई समयसापेक्ष, सरल र सबैका लागि उपयोगी हुने खालका हुनुपर्छ । तर, जसले कठिन प्रश्न बनायो, कठोर तरिकाले जाँच गर्‍यो उसले नै आफूलाई महानायक सम्झिरहेको हुन्छ । के यो सही हो ? कक्षामा शिक्षकले पढाएको कसैले बुझिरहेको हुँदैन, त्यही पनि शिक्षक घाँटी सुकाई–सुकाई चिच्याइरहेको हुन्छ । प्रिन्सिपलसँग भन्न जाने हो भने गाली, थर्काइ पो खाने हो कि भन्ने चिन्ता हुने गर्छ ।

तीन वर्षको उमेरदेखि एउटा बालक स्कुल जान थाल्छ, स्नातकोत्तर पूरा गर्दासम्म २७—२८ वर्ष काटिसकेको हुन्छ । अब ऊसँग बाँकी रहन्छ, आधा उमेर मात्र । एक वर्षको कोर्स भए पनि परीक्षाको नतिजा आउँदासम्म डेढ–दुई वर्ष कटिसकेको हुन्छ । कति भाग्यमानी हामी † झन् धेरै पढ्न पाइने भयो । रह्यो पाठ्यक्रमको कुरा, बदलिँदो देशको परिवेशअनुसार पाठ्यक्रम बदल्न जरुरी छ । नेपालको तेह्रौँ योजना अन्तिम चरणमा आइसकेको छ, तर हामी पाठ्यक्रममा आधारित दशौँ योजना पढाइरहेका हुन्छौँ । तेह्रौँ योजनाको त कतै नामोनिसान नै छैन । यो त केवल पोखरा विश्वविद्यालयको एउटा त्रुटिको सानो उदाहरण मात्र हो । यही कुराले समग्रमा हाम्रो शैक्षिक प्रणाली झल्काइरहेको छ । देशको बदलिँदो अवस्थासँगै पाठ्यक्रम पनि बदलिनुपर्छ । किनकि, हामी वर्तमानमा जिउने हो न कि भूतमा ।

यी यावत् चुनौती, समस्याका बाबजुद आमनेपालीको सोचाइमा छोराछोरीलाई राम्रा स्कुल, कलेजमा पढ्न पठाउनुपर्छ भन्ने चेतको विकास भएको देखिन्छ । यही मौकामा हाम्रो राज्यले केही गर्ने वेला आएको छ । समाज विकासका लागि शिक्षा, उन्नति, प्रगति, माया—सद्भाव, सकारात्मक सोचका लागि शिक्षा भन्ने महान् दर्शनलाई अँगालेर शैक्षिक नीति तथा कार्यक्रममा रूपान्तरण गर्ने वेला आएको छ ।

प्रेमले नै संसारलाई बदल्न सक्छ भने खराब विद्यार्थीलाई असलमा परिणत गर्न सक्दैन र ? साथ चाहियो त बस घरमा अभिभावकको र स्कुल–कलेजमा शिक्षकको । यो कुरा राज्य, शैक्षिक संस्था र शैक्षिक पेसामा संलग्न व्यक्तिले बुझ्न जरुरी छ । तब मात्र हामीले सुन्दर, शान्त, विकसित, माया, प्रेम, सद्भावले भरिएको नेपालको कल्पना गर्न सक्छौँ । के अझै पनि चिन्तनमनन गरेर अघि बढ्ने वेला भएको छैन र ?

साभार : नयाँ पत्रिका

प्रतिक्रिया