Edukhabar
शुक्रबार, ०४ असोज २०८१
अन्तैवाट

एसएलसी पुनर्योगको नतिजा, डेढ महिनापछि ४४१ पास

मंगलबार, १९ साउन २०७२

काठमाडौं १९  साउन / ०७१ को एसएलसी परीक्षामा अनुत्तीर्ण देखिएका साढे चार सय विद्यार्थी परीक्षाफल प्रकाशित भएको डेढ महिनापछि उत्तीर्ण पाइएका छन् । परीक्षा नियन्त्रण कार्यालयको त्रुटिका कारण परीक्षाफल प्रकाशित हुँदा उनीहरू उत्तीर्ण सूचीमा थिएनन् । नतिजा चित्त नबुझेर पुनर्योगका लागि आवेदन दिएपछि चार सय ४१ विद्यार्थी उत्तीर्ण पाइएका हुन् ।

नतिजा चित्त नबुझेर १३ हजार सात सय सातजनाले पुनर्योगका लागि निवेदन दिएकोमा एक हजार चार सय ९५ विद्यार्थीको नतिजा परिवर्तन भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । तीमध्ये पहिले अनुत्तीर्ण भनिएका चार सय ४१ जना उत्तीर्ण पाइए भने प्राप्तांक चित्त नबुझेर पुनर्योगको आवेदन दिएकामध्ये एक हजार ५० जनाको प्राप्तांकसमेत परिवर्तन भएको छ ।

परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेले भने, ‘पुनर्योगबाट पहिले अनुत्तीर्ण भएका चार सय ४१ परीक्षार्थी उत्तीर्ण भएका छन् भने उत्तीर्ण भएकाहरूको पनि नतिजा परिवर्तन भएको छ ।’ द्वारेले पुनर्योगको नतिजा आएपछि एक्ज्याम्टेडमा परेका कतिपय विद्यार्थीले मौका परीक्षासमेत दिन पाउने भएको बताए । पुनर्योगबाट केही विषयमा उत्तीर्ण भई मौकामा परेका विद्यार्थीलाई परीक्षामा सहभागी गराउन जिल्ला शिक्षा अधिकारीहरूसँग कुराकानी गरेको उनले जानकारी दिए ।

परीक्षामा राम्रो नम्बर ल्याएर उत्तीर्ण भएका र अनुत्तीर्ण भएका दुवैथरी विद्यार्थीले पुनर्योगका लागि आवेदन दिएका थिए । नियन्त्रक द्वारेका अनुसार ८७–८८ प्रतिशत अंक ल्याएर पास भएका विद्यार्थीले पनि नतिजामा चित नबुझाएर पुनर्योगका लागि निवेदन दिएका थिए । अघिल्लो वर्ष १७ हजारको हाराहारीमा पुनर्योगको आवेदन आएको थियो । यस वर्ष भने १४ हजारमा सीमित भएको छ । सुरुको नतिजामा अनुत्तीर्ण भएर पुनर्योगबाट उत्तीर्ण हुनेको संख्या कम हुने गरेको छ।

०७१ को परीक्षामा नियमिततर्फ कुल चार लाख पाँच हजार तीन सय ३८ सहभागी भएकामा एक लाख ९२ हजार दुई सय ६७ उत्तीर्ण भएका छन् । एक्ज्याम्टेडतर्फ एक लाख ३६ हजार ५१ सहभागी भएकामा १८ हजार सात सय ७८ उत्तीर्ण भए । नियमिततर्फ विशिष्ट श्रेणीमा २१ हजार दुई सय ४७, प्रथम श्रेणीमा ९० हजार एक सय ७६, दोस्रो श्रेणीमा ७६ हजार चार सय ८२ र तेस्रो श्रेणीमा चार हजार तीन सय ६२ उत्तीर्ण भएका छन् ।
एसएलसीमा दुई विषयसम्म अनुत्तीर्ण भएका विद्यार्थीका लागि २० साउनदेखि मौका परीक्षाको व्यवस्था गरिएको छ । परीक्षाका लागि प्रश्नपत्र छपाइको काम सकेर परीक्षा नियन्त्रण कार्यालयले जिल्लाहरूमा पठाइसकेको छ । परीक्षा नियन्त्रक द्वारेले प्रश्नपत्रहरू जिल्ला–जिल्लामा पठाइसकेको बताए ।

नयाँ पत्रिकामा भवानीश्वर गौतमले लेखेका छन् ।

प्रतिक्रिया