Edukhabar
शनिबार, ०५ असोज २०८१
खबर/फिचर

पाठ्यपुस्तक छाप्ने चटारोमा साझा

बुधबार, ०९ भदौ २०७२

आगामी शैक्षिक सत्रमा पाठ्यपुस्तककोे हाहाकार नहुने दावी

- श्याम दाहाल / काठमाडौं ९ भदौ / साझा प्रकाशनले विद्यालयस्तरीय पाठ्यपुस्तक छाप्ने काम धमाधम शुरु गरेको छ । भदौ ६ गतेदेखी शुरु छपाईको काम अन्र्तगत अहिले कक्षा १० को गणितको किताब छापिरहेको छ ।

गत साउन १२ गते शिक्षा मन्त्री चित्रलेखा यादवको अध्यक्षतामा बसेको साझा प्रकाशनको ब्यवस्थापन सम्बन्धि बैठकले आउँदो शैक्षिक सत्रका लागि पाठ्यपुस्तक छाप्ने जिम्मा साझालाई समेत दिने निर्णय गरेको थियो ।  सोही निर्णय बमोजिम जनक शिक्षा सामग्री केन्द्रले छाप्दै आएको पाठ्यपुस्तक साझाले पनि छाप्न पाउने भएको हो । 

सामुदायिक विद्यालयहरुका कक्षा १ देखि १० सम्मका पाठ्यपुस्तकको मुद्रण जनक शिक्षा र वितरण साझा प्रकाशनले एकद्धार नीति अन्र्तगत गर्ने, जनक शिक्षाले छाप्न नभ्याएका पुस्तकहरु साझा  प्रकाशनले पनि छाप्ने र समयमै माग अनुसार पुस्तकहरु आपूर्तिको ब्यवस्था मिलाउने र यस अघि शिक्षा मन्त्रालयद्धारा जारी विद्यालय पाठ्यपुस्तक तथा पाठ्य सामाग्री छपाई तथा वितरण निर्देशिका २०६७ खारेज गर्न सिफारिस गर्ने उक्त बैठकमा निर्णय भएको थियो ।

उक्त बैठकमा मन्त्री यादव सहित तत्कालिन मुख्य सचिव लिलामणी पौडेल, सझाका सदस्यहरु प्रदिप नेपाल, दीनानाथ शर्मा र कृष्णहरी बराल, शिक्षा मन्त्रालयका सहसचिवहरु लवदेव अवस्थी र खगेन्द्र नेपाल तथा साझाका महाप्रवन्धक डोलिन्द्रंप्रसाद शर्मा र जनक शिक्षाका महाप्रवन्धक अनिल कुमार झा सहभागि थिए ।

जनक शिक्षाले छाप्ने पाठ्यपुस्तक साझाले विक्रि वितरण गर्ने गथ्र्यो । तर, ६० को दशक देखि मुद्रण र विक्रि वितरणको कार्यमा निजी क्षेत्रलाई पनि संलग्न गराईएपछि दुवै संस्थाको कारोवारमा संकुचन आएकोले पाठ्यपुस्तक छपाई र विक्रि वितरणमा फेरी दुवै संस्थालाई सहभागि गराईएको हो । नेपाल सरकार मातहत रहेका दुई संस्थालाई एकद्धार प्रणाली अन्र्तगत पाठ्यपुस्तक छपाईमा सहभागि गराईएको हो ।

साझाको नयाँ सञ्चालक समिति गठन भएसँगै  ऐतिहासिक धरोहरका रुपमा रहेका दुवै संस्थालाई जिम्मेवारी दिदाँ राज्यको ठूलो लगानी सदुपयोग हुने भन्दै सरोकारवालाहरुले लविङ् गरेका थिए ।  सरकारले समयमा बजेट भुक्तानी नगरिदिने पुस्तक चाहिने २ महिना अघि मात्रै बजेट निकासा हुने तथा पाठ्यपुस्तक छाप्न चाहिने सामाग्री किन्न पर्याप्त रकमको अभावका कारण पाठ्यपुस्तक छाप्न नसकेको जनक शिक्षाको बताउँदै आएको थियो ।

तर साझालाई पुस्तक छाप्न दिने बारे मन्त्री सहित बसेको उक्त बैठकले  आगामी शैक्षिक सत्रका लागि आवश्यक कक्षा १ देखि १० सम्मका पुस्तकहरुको समयमै आपूर्ति ब्यवस्था मिलाउन जनकले तत्कालै कागज लगायतका सामाग्री खरिद गरी छपाई कार्य शुरु गर्ने समेत निर्णय गरेको थियो ।

शैक्षिक सत्र २०७१ मा साझाले कर्णाली अञ्चलका ५ सहित धवलागिरी र गण्डकी अञ्चलका २ दुर्गम हिमाली जिल्लामा पुस्तक विक्रि वितरण गरेको थियो । तर आर्थिक दुरावस्था र गिर्दो शाखलाई कारण देखाउँदै गत शैक्षिक सत्रमा पुस्तक विक्रिविरणको काम साझालाई दिईएको थिएन । 

आउँदो शैक्षिक सत्रका लागी पाठ्यपुस्तककोे छपाई गर्ने जिम्मेवारी पाएसँगै धमाधम काम शुरु गरेको महाप्रबन्धक शर्माले बताए । 'हरेक बर्षको नयाँ शैक्षिक शत्र सुरु भएपछि सधैं पाठ्यपुस्तकको  हाहाकार हुने प्रवृती रहेकाले यसलाई निर्मुल गर्नका निमित्त प्रकाशनले समयमै पाठ्यपुस्तककोे छपाई सुरु गरेको हो' उनले भने, 'दशैं सम्ममा कक्षा १ देखी १० सम्मका सम्पुर्ण किताबको १ लाख प्रति उत्पादन गर्ने लक्ष्य बनाएका छौं, आगामी शैक्षिक सत्रमा पाठ्यपुस्तककोे कमि भयो भनेर तपाईले समाचार लेख्नु पर्दैन ।'

केही महिना भित्रै किताब छाप्ने २ वटा नयाँ मेसिन किन्ने तयारीमा रहेकोले अब पाठ्यपुस्तकको कमि कहिलै पनि नहुने उनले जिकिर गरे ।
पूर्व शिक्षा मन्त्रीहरु सहित नयाँ सञ्चालक समिति गठन भएसँगै साझाले ब्यवस्थापकीय सहित अन्य काममा पनि आफूलाई सुदृढ बनाउँदै लगेको शर्माले दावी गरे । प्रकाशनसँग स्टक रहेका १२ करोड पुस्तक वितरण शुरु गर्ने सहित स्थानीय निकायसँग सहकार्य गर्दै साझालाई थप चुस्त बनाउने योजना अघि सारेको उनको भनाई छ ।

२०६५ सालमा खातामा २ करोड रुपैंया बजेट भएको संस्थामा २०७१ सालमा आईपुग्दा ३८ करोड दायित्व हुनुको पछिल्तिर काम चोर प्रबृत्ति, मनलाग्दि खर्च र अब्यवस्थित ब्यवस्थापन मुख्य जिम्मेवार रहेको फेला पारेको छु उनले भने, विगत बर्षहरुका फाईललाई मिहिन तरिकाले अध्ययन गर्ने काम शुरु गरेको छु, त्यसबाट साझा डुब्नाको थप कारण पत्ता लाग्ने छ ।

साझाले कर्मचरीको बाँकी रहेको तलब भुक्तानी शुरु गरेको, बैंकले लिलामी गर्न लागेको अचल सम्पत्ति रोक्का, बजारमा सट्रेज भएका पुस्तक पुन प्रकाशन लगायतका योजना बनाएको उनले बताए । नयाँ आउने मेसिनले सरकारी कार्यालयका छपाई सम्बन्धि सबै काम साझा मार्फत गराउने, राष्ट्रबैंकका चेक, हुलाक टिकट लगायतका सामग्री छाप्ने काम गरेर साझालाई सुधार गरि छाड्ने उनले बताए ।

लाखौंको संख्यामा आवश्यक पाठ्यपुस्तक मात्रै छापिने हो भने साझालाई कामको खाँचो नहुने भन्दै उनले आफ्नो कार्यकाल भरी प्रकाशनले जनक शिक्षा सामाग्रीसँग मिलेर पाठ्यपुस्तक छाप्ने योजना बनाएको बताए ।

'प्रकाशन भित्रै विचौलिया रहेकाले प्रकाशन माथि उठ्न नसकेको रैछ' उनले भने, 'अस्वस्थ्य राजनीति, अस्वस्थ्य भर्ती केन्द्र, दुरदृष्टि नभएका मानिसहरुले गर्दा ओरालो लागेको संस्थालाई पूर्व मन्त्री सहित साहित्य र प्राज्ञहरुको साथ रहेको छ। साझाको सुधार शुरु भयो ।'

प्रतिक्रिया