Edukhabar
शनिबार, ०५ असोज २०८१
खबर/फिचर

नीजि विद्यालयले मुस्लिम समुदायको अवमूल्यन गरेको आरोप

शनिबार, ०९ असोज २०७२

- छवि अनित्य / हेटौंडा ९ असोज / मुस्लिम धर्माबलम्बिहरुको पवित्र पर्व बकर ईदका अवसरमा शुक्रबार मकवानपुरका नीजि तथा संस्थागत विद्यालयहरुमा बिदा नदिइएको प्रति जिल्लाका मुस्लिम समूदायले बिरोध जनाएका छन् । देशमा नयाँ संविधान जारी भएर यसले सबै पक्षको आवाजलाई सम्बोधन गरेको शीर्ष राजनीतिक नेतृत्वले भनिरहँदा अल्पसंख्यक मुस्लिम समूदायलाई नीजि विद्यालय संचालकहरुले अवमूल्यन गरेको उनीहरुले आरोप लगाएका छन् ।

शनिबार प्रेस विज्ञप्ति जारी गर्दै जामे मस्जिद मकवानपुरका अध्यक्ष अब्दुल रहमान मिया अन्सारीले संविधानले तोकेको स्वतन्त्रताको हक खोस्न खोज्ने व्यक्ति वा संस्थालाई कानूनी दायरामा ल्याउन समेत अपील गरेका छन् । नेपालको संविधान २०७२ ले धर्म निरपेक्षता स्वीकारेको अवस्थामा पनि मकवानपुरमा रहेका अल्पसंख्यक मुस्लिम समूदायको धार्मिक स्वतन्त्रता खोसिएको भन्दै यसलाई अशोभनीय कार्य भनिएको छ ।  मुस्लिमहरुको पवित्र पर्व बकर ईदका अवसरमा नेपाल सरकारले शुक्रबार सार्वजनिक बिदाको घोषणा गरेपनि जिल्लाको आधाभन्दा बढी नीजि तथा संस्थागत विद्यालयहरुले पठनपाठन जारी राखेका थिए ।

प्याब्सन मकवानपुरका अध्यक्ष मदन दाहालले भने आफूहरुले कसैको अवमूल्यन गर्ने ढंगले विद्यालय सञ्चालन नगरेको बताए । विद्यालय सन्ञलन गर्ने प्याब्सनको आधिकारीक निर्णय नभएको भन्दै उनले अरु समयमा पनि सार्वजनिक बिदाका अवसरमा पठनपाठन सञ्चालन गर्ने गरिएकोले विद्यालय सञ्चालकहरुले विद्यालय खोलेको हुनसक्ने बताए । तर नीजि विद्यालय शिक्षक संगठन एन ईस्टु मकवानपुरका अध्यक्ष दीपक गौतमले भने सरकारले सार्वजनिक बिदा दिएको दिन पनि जबरजस्ती शिक्षकहरुलाई काम गर्न बाध्य बनाइनुलाई श्रम शोषणको संज्ञा दिएका छन् ।

ईदका दिन जबरजस्ती विद्यालय खोलिएको भन्दै उनले पेशागत हकहित माथि अन्याय भएकाले प्रशासनले पनि यसमा गम्भिर चासो दिनुपर्ने बताएका छन् । गृह मन्त्रालयले सार्वजनिक बिदा दिएका दिन पनि विद्यालय सञ्चालन भएको सन्दर्भमा जिल्ला शिक्षा कार्यालयका सहायक जिल्ला शिक्षा अधिकारी खेमनन्द भुषालले नीजि विद्यालय सञ्चालकहरुले ईदको बिदालाई पनि शनिबारको सार्वजनिक बिदाको रुपमा लिएको हुन सक्ने भन्दै त्यसो गर्नु उचित नहुने प्रतिक्रिया दिए । कार्यालयले यस विषयमा अनुसन्धान गर्ने भुषालले जनाएका छन् । धार्मिक पर्वका अवसरमा दिइएको सार्वजनिक बिदालाई सामान्य रुपमा लिन नहुने उनको भनाई छ ।

प्रतिक्रिया