Edukhabar
मंगलबार, ११ मंसिर २०८१
अन्तैवाट

त्रिविमा अनुसन्धानबिनै प्राध्यापकमा बढुवा

बुधबार, २० साउन २०७२

५५ विषयका २ सय ८३ जनालाई प्राध्यापकमा बढुवा गरिए

विद्यमान आन्तरिक बढुवा कार्यविधि फेर्नुपर्छ : विज्ञ

TUकाठमाडौं २० साउन / प्राध्यापक हुन निरन्तर अध्यापनका साथै धेरै अध्ययन अनुसन्धान गरेका विषय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशन हुनुपर्छ । तर, त्रिभुवन विश्वविद्यालयमा भने नियमित पढाउनेलाई मात्र प्राध्यापक बनाउने गरेको छ । त्रिविमा अध्ययन अनुसन्धान गर्नेले भन्दा राजनीतिक दलनिकट व्यक्तिले प्राध्यापक बन्ने मौका पाएको गुनासो सहप्राध्यापकहरूले गरेका छन् ।

विद्यावारिधिप्राप्त एक सहप्राध्यापकका अनुसार आन्तरिक बढुवामा अनुभवी प्राध्यापकलाई प्राथमिकता दिइँदा अनुसन्धानमा जुटेका धेरै सहप्राध्यापक पछाडि पारिएका छन् । ‘फिजिकल रिभ्यु लेटर (पीआरएल) जर्नलमा एउटा मात्र लेख छापियो भने पनि अन्तर्राष्ट्रिय रूपमा जागिर पाइन्छ,’ ती सहप्राध्यापकले भने, ‘त्यो जर्नलमा मेरो तीनवटा लेख छापिएका छन् । प्राध्यापक बढुवाका लागि त्योलगायत आठवटा लेख बुझाएँ, तर अन्तर्राष्ट्रिय जर्नलमा छापिएकालाई थोरै अंक र स्थानीय पत्रपत्रिकामा छापिएकालाई बढी अंक दिइएको पाइयो ।’ त्रिविले अध्ययन, अनुसन्धान, शोधकार्यलाई निरुत्साहित तुल्याएको ती सहप्राध्यापकको गुनासो छ ।

प्राध्यापक हुन स्नातकोत्तर, एमफिल, पीएचडीको शोधनिर्देशक लगायतको भूमिका निर्वाह गर्नुपर्ने हुन्छ । विषयगत शोधकृति प्रकाशन भएको र पाठ्यक्रमानुसारका पुस्तक लेखेको हुनुपर्छ । त्रिवि सेवा आयोगले आन्तरिक प्रतियोगिता (०७०/७१ मा जारी विज्ञापन) का आधारमा विषयगत प्राध्यापकको बढुवा प्रक्रियाले अध्यापन गरेकालाई मात्र प्राथमिकता दिएको पाइएको छ । गणित विषयमा प्राध्यापक बढुवा भएका आठमध्ये तीनले मात्र विद्यावारिधि गरेका छन् । भौतिकशास्त्रमा बढुवा पाएका १३ मध्ये ६ जना विद्यावारिधिवाला छन् । अंग्रेजीका चारमध्ये तीनजना विद्यावारिधि प्राप्त छन् ।

प्राज्ञिकहरूमाझ दुई दशकयता विद्यावारिधि हासिल गर्ने र नामको अगाडि ‘डा.’ झुन्ड्याउने चलन बढेको छ । विदेशका विश्वविद्यालयबाट शोध गर्नेहरू पनि बढेका छन् । तर, त्रिविले भने विदेशबाट अध्ययन, अनुसन्धान र विद्यावारिधि उपाधिप्राप्त सहप्राध्यापक र नयाँ प्रवेशमा अप्रत्यक्ष रूपमा रोक लगाएको अर्का सहप्राध्यापकले गुनासो पोखे । ‘त्रिविको कार्यविधिले नियमित पढाउनेलाई मात्र प्राध्यापक बनाउने तर खुला प्रतियोगिताबाट प्राध्यापक बन्न बन्देज लगाएको छ,’ प्राध्यापक पदको गहनता र गम्भीरतालाई लत्याइएको उल्लेख गर्दै ती सहप्राध्यापकले भने, ‘त्यसो हुँदा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा उत्रिन नसकेका तर दलनिकट व्यक्तिले प्राध्यापक बन्ने मौका पाएका छन् । पार्टीको झोला बोकेसँगै प्राध्यापक बन्न पाउने संयन्त्रले नेपालको प्रोफेसरको गुणस्तर घटेको छ ।’

त्रिविमा शिक्षक तथा कर्मचारीको नियुक्ति, बढुवाको नियम, विनियम कार्यविधिको निर्माण तथा संशोधन कार्यकार्यकारी परिषदले गर्छ । परिषदले ‘त्रिवि शिक्षक नियुक्तिका आधार, कार्य सम्पादन मूल्यांकन तथा कार्यक्षमता, अंक विभाजन एवं सिफारिससम्बन्धी प्रक्रिया, २०५७’ लाई पछिल्लोपटक २०७० मा  संशोधन गरी आफूअनुकूल बनाएपछि कमजोरी फेला परेको हो । दलनिकटका प्राध्यापक संघ/संगठनको दबाबमा मूल्यांकन प्रक्रिया संशोधन गरिएको आरोप लाग्ने गरेको छ ।

संशोधित कार्यविधिअनुसार प्राध्यापक बढुवा गरिँदा शैक्षिक योग्यतालाई ६०, शिक्षण सेवा अनुभव ८०, अनुसन्धान तथा कृति प्रकाशन ३२, कार्यसम्पादन मूल्यांकन ८ र अन्तर्वार्तालाई २० अंकभार दिइन्छ । न्यूनतम शैक्षिक योग्यता समान रहे पनि अनुभवलाई बढी र अनुसन्धानमा कम प्राथमिकता दिइएकाले प्रतिभावान् सहप्राध्यापकहरू मूल्यांकनमा पर्न सकेका छैनन् । जसले गर्दा अन्तर्राष्ट्रिय अनुभवप्राप्त सहप्राध्यापकहरू पछाडि पारिएका छन् । ‘धेरै अल्छी प्राध्यापकहरू छन् जसको अनुसन्धान कृति छैन,’ एक प्राध्यापक भन्छन्, ‘तर कार्यविधिको हवाला दिएर अनुभव धेरै भएकालाई बढी अंक दिएर प्राध्यापक बनाइएका छन् ।’

त्रिवि सेवा आयोगका अध्यक्ष प्रा.डा. ईश्वरचन्द्र दत्त आयोगले कार्यविधिअनुसार पदपूर्ति र पदोन्नतिको काम गरेको दाबी गरे । ‘कार्यविधिमै त्यस्तो व्यवस्था छ,’ सेवा आयोग दोषी नरहेको उल्लेख गर्दै उनले भने, ‘हामीले अन्तर्राष्ट्रिय मापदण्डको विषय उठाउन चाहँदा पनि त्रिवि कार्यकारी परिषद्ले बेवास्ता गरेको छ ।’

सेवा आयोगका सदस्य प्रा.डा. केदारनाथ घिमिरेका अनुसार यसपटक ५५ विषयका २ सय ८३ जनालाई प्राध्यापकमा बढुवा गरिएको छ । त्यसमा मानविकी, व्यवस्थापन, शिक्षाशास्त्र, विज्ञान, कानुनका २ सय ६८  र चिकित्साशास्त्रका १५ जना छन् । बढुवाका लागि ६ सय ७१ जनाले आवेदन दिएका थिए ।

विद्यार्थी नै नभएका वा निकै निकै न्यून भएका कतिपय विषयका शिक्षकलाई प्राध्यापकमा बढुवा गरिएका छन् । तिनमा राजनीतिशास्त्र, भूगोल, इतिहास, संस्कृति, जनसंख्यालगायत पर्छन् । यसपटक राजनीतिशास्त्रका मात्र १७ प्राध्यापक बनेका छन् । ‘त्रिवि कार्यकारीले पदपूर्ति गर भनेर दरबन्दी दिएपछि त्यसैअनुसार आयोगले गर्ने हो,’ सदस्य घिमिरेले भने ।

त्यसैगरी त्रिविले प्रमाणपत्र तह हटाएपछि स्नातक तह मात्र पढाउँदै आएका शिक्षकलाई समेत कार्यानुभवका आधारमा प्राध्यापकमा बढुवा गरिएको छ । यसअघि स्नातक तह मात्र पढाउने र विद्यावारिधि हासिल नगर्नेलाई प्राध्यापक बन्न रोक लगाइएको थियो ।

प्रा. शेखर गुरुङले शिक्षकको मूल्यांकनमा कार्यविधि बाधक रहेको बताए । ‘प्राज्ञिक क्षेत्रको विकास गर्न योग्य व्यक्तिलाई प्राथमिकता दिन विद्यमान प्रावधान नै बाधक छ,’ उनले भने, ‘त्यसैले अहिलेको आन्तरिक बढुवाको कार्यविधि फेर्न जरुरी छ ।’ त्रिविले अनुसन्धानलाई जोड दिनसके मात्र अन्तर्राष्ट्रिय रूपमा साख कायम रहने उनले उल्लेख गरे ।

कान्तिपुरमा गणेश राईले लेखेका छन् ।

प्रतिक्रिया