Edukhabar
शुक्रबार, ०४ असोज २०८१
अन्तैवाट

बाढीले विद्यालय जानबाट वञ्चित

विहीबार, २१ साउन २०७२

काठमाडौं २१ साउन / वर्षा सुरु भएपछि चितवनको सिद्धी ८ जिङलावकी १५ वर्षीया अनिषा चेपाङलाई विद्यालय पुग्न कठिन छ। नेपाल राष्ट्रिय मावि सिद्धीमा कक्षा ६ मा अध्ययनरत उनलाई विद्यालय पुग्न २ घण्टा पैदल यात्रा गर्नुपर्छ। भीरमा उनको घर छ। त्यहाँबाट खोलाको बाटो भएर विद्यालय पुग्ने गर्छिन्। एउटै खोला २ दर्जनपटक तर्नुपर्छ।

गाउँमा दैनिक वर्षा हुने गरेको छ। वर्षाका कारण बाढी आएर खोला तर्न समस्या हुने गरेको छ। ‘गाउँका मानिस भेटिए खोला तारिदिन्छन्,’ उनले भनिन्, ‘नत्र घर फर्किनुपर्छ।’ बिहान ८ बजे घरबाट खोलैखोला हिँडेपछि गाउँलेको सहयोगमा खोला तरेर १० बजे विद्यालय पुग्ने गरेको उनले बताइन्। उनीहरूले कहिलेकाहीं विद्यालय पुग्न ज्यानकै माया मारेर खोला तर्नुपर्छ। उनीजस्ता गाउँका २ दर्जनभन्दा बढी विद्यार्थी छन्।

जसलाई यस्तै समस्या छ। घरमा खान नपाएर विद्यालय नजाने समस्या पनि छ।

सिद्धी ६ नान्दारकी ११ वर्षीया पार्वती चेपाङलाई विद्यालय पुग्न बाढीले सास्ती खेप्नुपर्छ। उनी पनि कक्षा ६ मा पढ्छिन्। उनीहरू सबैलाई तीनदोभानस्थित खोलाले विद्यालय पुग्नमा बाधा पुर्‍याउने गरेको छ। खोला तर्न नसकेर धेरैपटक विद्यालयन नपुगी घर फर्किनुपरेको उनले बताइन्। ‘जसोतसो गरेर पढ्न पाएको छुँ,’ उनले भनिन्, ‘धेरैले विद्यालय जान छाडिसके।’ उनका अनुसार विद्यालय खाली जानुपर्छ।

खोलाको बेगले किताबरकपी पनि जोगाउन सकिँदैन। उनको २ पटक किताबरकपी खोलामा बगिसके। धेरैले ज्यान जोगाउँदा किताबरकपी सम्हाल्न सक्दैनन्। उक्त खोलामा बगेर बर्सेनि २र३ जनाले ज्यान गुमाउँदै आएको स्थानीय बताउँछन्।

यस क्षेत्रका अधिकांश विद्यार्थीको समस्या यस्तै रहेको चेपाङ संरक्षण क्षेत्रमा कार्यरत केपी किरण शर्माले बताए। ‘असुविधाका कारण पढ्न चाहनेले पनि पढ्न पाएका छैनन्,’ उनले भने, ‘उनीहरूका लागि सरकारी निकायले पनि केही गर्न सकेको छैन।’ जिल्ला शिक्षा कार्यालयले पनि पहाडी गाविसका विद्यार्थीलाई सरकारी सुविधा उपलब्ध गराउन नसकेको उनको गुनासो छ।

‘वर्षातमा विद्यार्थी आउँदैनन्,’ नेराप्रावि सिद्धीकी शिक्षिक सुशीला श्रेष्ठले बताइन्, ‘हल्का पानी पर्नासाथ खोला बढ्छ, खोला तर्न नसक्दा आउँदैनन्।’ उनका अनुसार खोला बढेको दिन विद्यालयमा विद्यार्थीको संख्या एक्कासि हातै घट्छ। अन्य बेला पनि विद्यालयमा विद्यार्थीको संख्या कम रहने गरेको छ। ‘घरमा खान पुग्दैन। त्यसैले विद्यार्थी विद्यालय आउँदैनन्,’ उनले भनिन्। सिद्धी गाविसभरमा एकमात्र माध्यमिक विद्यालय छ ।

कान्तिपुरमा पवन यादवले लेखेका छन् ।

प्रतिक्रिया