Edukhabar
शुक्रबार, ०४ असोज २०८१
अन्तैवाट

सात उपकुलपति सिफारिसमा ढिलाइ

विहीबार, २१ साउन २०७२

काठमाडौं २१ साउन /आगामी शनिबारदेखि सात विश्वविद्यालयका उपकुलपति पद रिक्त हुँदै छन् । उपकुलपतिका लागि प्राध्यापकका वैचारिक संगठनदेखि आकांक्षीहरू लबिङमा छन् ।

तर, नियुक्तिको सिफारिस प्रक्रिया अघि बढाउने शिक्षामन्त्री एवं सहकुलपति चित्रलेखा यादव भने विदेश भ्रमणमा छिन् । मन्त्री विदेशमा रहेकाले उपकुलपतिको सिफारिसका लागि कुनै गृहकार्य नभएको मन्त्रालयका एक अधिकारीले बताए । आइतबार मलेसिया प्रस्थान गरेकी मन्त्री यादव बिहीबार स्वदेश फर्किंदै छिन् ।

सबै विश्वविद्यालयको सहकुलपति शिक्षामन्त्री रहने व्यवस्था छ । सहकुलपतिको संयोजकत्वमा विश्वविद्यालय सभाका सदस्य सम्मिलित कमिटीले गरेको सिफारिसमा कुलपति रहेका प्रधानमन्त्रीबाट उपकुलपति नियुक्त हुने व्यवस्था छ ।

उपकुलपति नियुक्तिमा ढिलाइ हुने सम्भावना देखिएको मन्त्रालयका ती अधिकारीले बताए । उनले भने, ‘मन्त्रीज्यूले औपचारिकताका लागि भए पनि सिफारिस समिति बनाउनुपर्ने हो, त्यो पनि भएको छैन, यसले विश्वविद्यालयमा उपकुलपति नियुक्त प्रक्रिया केही ढिला हुने देखिन्छ ।’

०६८ मा तत्कालीन प्रधानमन्त्री झलनाथ खनालले कुलपतिका हैसियतले सातवटा विश्वविद्यालयमा एकैपटक उपकुलपति नियुक्त गरेका थिए । यसपटक कांग्रेसको नेतृत्वमा सरकार र शिक्षामन्त्रीसमेत रहेकाले उपकुलपति नियुक्तिमा कांग्रेसनिकट प्राध्यापकहरू हाबी हुने अनुमान गरिएको छ ।
   
कांग्रेसनिकट प्रजातन्त्रवादी प्राध्यापक संघका सचिव विष्णु केसीले कांग्रेसको शुभेच्छुक संगठन भएकाले सुझाबका रूपमा उपकुलपतिहरूको नाम सिफारिस गरिएको बताए । उनले भने, ‘प्राध्यापकको योग्यता, कार्यदक्षता, अनुभव र वरिष्ठतालाई आधार मानेर उपकुलपतिका लागि नाम सिफारिस गरिएको छ ।’ संघको केही दिनअघि हेटौँडामा बसेको पूर्ण बैठकबाट उम्मेदवारको नाम छनोट गरेको थियो । ती नाम प्रधानमन्त्री कोइरालालाई बुझाउने तयारी छ ।
   
संघले त्रिविमा सातजना र अरू विश्वविद्यालयमा पाँच–पाँचजनाको नाम सिफारिस गरेको छ । त्रिविका लागि प्रा. गुणनिधि न्यौपाने, प्रा.डा. तीर्थराज खनियाँ, प्रा. अम्बरराज जोशी, प्रा.डा. गोविन्द आचार्य, प्रा.डा. चन्द्रलाल श्रेष्ठ, प्रा. वासुदेव घिमिरे र डा. रेणुका जोशीको नाम सिफारिस भएको छ । प्रा. घिमिरे संघका अध्यक्ष हुन् । उनले आफ्नो नाम आफैँ सिफारिस गरेका छन् । ०६९ मा संघको अधिवेशनमा भने कुनै नियुक्तिमा नजाने भन्दै भोट मागेका थिए ।
   

पदमुक्त हुन तीन दिन बाँकी, नयाँको प्रक्रिया सुरु भएन

- २३ साउनबाट सात विश्वविद्यालयमा उपकुलपति रिक्त हुँदै

- उपकुलपति सिफारिसमा शिक्षामन्त्री चित्रलेखा यादवको बेवास्ता

- सिफारिसको कुनै प्रक्रिया सुरु नभएको मन्त्रालयका अधिकारीको भनाइ

- कांग्रेस र एमालेका प्राध्यापक संगठनहरूको लबिङ भने तीव्र

- सात विश्वविद्यालयका लागि ५१ प्राध्यापकको सिफारिस

- राजनीतिक भागबन्डा नगर्न नेपाल प्राध्यापक संघको आग्रह


नेपाल संस्कृत विश्वविद्यालयका लागि प्रा. माधवराज गौतम, प्रा. प्रेमकुमार आचार्य, प्रा. कार्तिके झा, प्रा.डा. भोजराज पन्त, प्रा. पुरुषोत्तम दाहालको नाम संघले सिफारिस गरेको छ । पूर्वाञ्चल विश्वविद्यालयका लागि प्रा. बद्रीनाथ श्रेष्ठ, प्रा.डा. धनश्यामलाल दास, प्रा.डा. महेन्द्रनारायण यादव, प्रा. अनिल पोखरेल र प्रा. पृथ्वी सुब्बा राईको नाम छ ।
   
मध्यपश्चिम विश्वविद्यालयका लागि प्रा. वसन्तराज शर्मा, प्रा. विमबहादुरसिंह ओली, मोहनजंग शाह, प्रा. कालीप्रसाद पाण्डे र डा. प्रदीप न्यौपानेको नाम गएको छ । सुदूरपश्चिम विश्वविद्यालयका लागि प्रा. भूषण श्रेष्ठ, प्रा.डा. चेतराज भट्ट, प्रा.डा. अक्कलदेव मिश्र, प्रा. बद्री बिडारी र गोरखराज ओझा तथा कृषि तथा वन विश्वविद्यालयका लागि प्रा.डा. जगतलाल यादव, प्रा.डा. तेजबहादुर केसी, प्रा.डा. चिरञ्जीवी उपाध्याय, प्रा.डा. सूर्यकान्त घिमिरे र प्रा.डा. हरिहर पौडेलको नाम सिफारिस भएको छ ।
   
एमालेनिकट प्रगतिशील प्राध्यापक संगठनले दुईजनाको नाम प्रस्ताव गरेको छ । त्रिविका लागि प्रा. उपेन्द्र कोइराला र प्रा. महेशराज दाहालको नाम प्रस्ताव भएको छ । कुलपति र सहकुलपति दुवै कांग्रेसका भएकाले उपकुलपति पाउनेमा भने एमाले प्राध्यापक संगठन विश्वस्त देखिएको छैन ।

भागबन्डा नगर : नेपाल प्राध्यापक संघ

प्राध्यापकहरूको छाता संगठन नेपाल प्राध्यापक संघले उपकुलपतिमा राजनीतिक भागबन्डा नगर्न माग गरेको छ ।

संघका अध्यक्ष रामेश्वर उपाध्यायले प्रेस विज्ञप्ति जारी गरी विश्वविद्यालय हाँक्ने नेतृत्व प्राज्ञिक प्रखरता र प्रशासनिक दक्षतायुक्त चरित्रको हुनु अत्यावश्यक रहेको भन्दै भागबन्डा नगर्न माग गरेका हुन् । विगतमा राजनीतिक भागबन्डाका आधारमा भएको पदाधिकारीको नियुक्तिले विश्वविद्यालय तहसनहस अवस्थामा पुगेको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘विश्वविद्यालयलाई अध्ययन, अध्यापक र अनुसन्धानका दृष्टिले उच्च प्राज्ञिक मर्यादा स्थापित गरी अवनतितर्फ उन्मुख विश्वविद्यालयको स्तरोन्नति कायम गरी तिनको छवि चुस्तदुरुस्त राख्दै अगाडि बढाउन पूर्ण प्रतिबद्ध, प्राज्ञिक प्रखरता र प्रशासनिक दक्षता, दूरदृष्टियुक्त, योग्य र सक्षम वरिष्ठ प्राध्यापकमध्येबाट उपकुलपतिलगायत अन्य पदाधिकारी नियुक्त गर्न माग गर्दछ ।’

नयाँ पत्रिकामा खबर छ ।

प्रतिक्रिया