Edukhabar
शनिबार, ०५ असोज २०८१
खबर/फिचर

शिक्षक महासंघ विरुद्धको मुद्धाको पेशी सर्यो

बुधबार, ०९ भदौ २०७२

ललितपुर ९ भदौ / शिक्षा विभागले म्याद तामेली नगर्दा शिक्षक महासंघ विरुद्धको मुद्धाको पेशी १७ गते सरेको छ । शिक्षक महासंघले गर्न लागेको काम रोक धर्ना कानून विपरित भन्दै पुनरावेदन अदालत पाटनमा परेको मुद्धामा भएको बहसले आजका लागि बुधबार पेशी तोकेको थियो । विभागले म्याद तामेल नगर्दा पेशी सरेको अधिवक्ता कोषराज काफ्लेले जानकारी दिए ।

अदालतबाट अन्तरिम आदेश जारी नभएमा विद्यार्थीको पढाई र जिल्ला शिक्षा कार्यालहरुबाट नागरिकले पाउने सेवाबाट बञ्चित हुने भएकोले उक्त कार्यक्रम नगर्नु गर्न नदिनु भनि अन्तरिम आदेश जारी गर्न माग गरिएको छ ।

साउन २९ गतेको धर्नाको निरन्तरता भन्दै भदौ २० गतेका लागि तय गरिएको धर्नाको विरुद्धमा भदौ १ गते मुद्धा दायर भएको थियो । उक्त मुद्धामा गएको शुक्रबार भएको बहस पछि पुनरावेदन अदालत पाटनका न्यायाधिस पदमराज भट्टको एकल ईजलासले अन्तरिम आदेश जारी गर्दै छलफलका लागि पेशी तोकेको थियो ।

पब्लिक उच्च मावि धरानका लेखापाल कमलप्रसाद खतिवडा, कालीदेवि मावि धाँदिङ् सलाङ्का शिक्षक विष्णुहरी कोइराला र नमूना मच्छिन्द्र उच्च मावि लगनखेल ललितपुरका पियन दल बहादुरका छोरा शंकर बहादुर कुमालले अन्तरिम आदेश सहितको निषेधाज्ञा जारी गरी पाउँ भन्दै मुद्धा दायर गरेका थिए ।

मुद्धामा शिक्षक महासंघ, महासंघका अध्यक्ष केशव निरौला, महासचिव तिलक कुँबर सहित गृह मन्त्रालय, शिक्षा मन्त्रालय, शिक्षा विभाग र जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई विपक्षि बनाईएको छ । 

विस्तृत जानकारीका लागि

शिक्षक महासंघ विरुद्ध मुद्धा, भदौ ९ गतेका लागि पेशी

प्रतिक्रिया