Edukhabar
शुक्रबार, ०४ असोज २०८१
अन्तैवाट

किताब नपाएर फोटोकपीबाटै पढाइ

शुक्रबार, २२ साउन २०७२

studentsकाठमाडौं २२ साउन / शैक्षिक सत्र सुरु भएको ४ महिनापछि पहिलो त्रैमासिक परीक्षा सकिँदासमेत बाजुराका विद्यार्थीले पाठ्यपुस्तक पाउन सकेका छैनन् । किताब नभएपछि कतिपय विद्यालयका शिक्षकले पुरानो पुस्तकबाट फोटोकपी गरेर अध्यापन गर्नुपरेको छ । किताब अभावमा विद्यार्थी विद्यालय आउनै छाडेको शिक्षकले बताए ।

पाठ्यपुस्तक नभएर कोल्टीस्थित जनविकास निमाविका शिक्षकले छिमेकी जनप्रकाश उच्चमाविबाट सापटी लिएर फोटोकपी गरी अध्यापन गराउनुपरेको बताए । ‘पुस्तक पसलमा महिनौंदेखि धाए पनि किताब नपाएपछि कोल्टीबाट फोटोकपी ल्याएर अध्यापन गर्दैछौं,’ प्रधानाध्यापक पदमलाल रेग्मीले भने, ‘निमावि तहका पाठ्यपुस्तकको अभाव बढी छ ।’

साप्पाटा गाविसको मण्डाली निमाविका प्रअ मनबहादुर रोकायाले किताब नभएकाले अध्ययन/अध्यापनमा समस्या भएको बताए । ६ कक्षासम्म सञ्चालित उक्त विद्यालयमा कुनै विद्यार्थीसित पुस्तक छैन । ‘किताब नभएकाले कतिपय विद्यार्थी स्कुल आउनै छाडे,’ उनले भने । कोल्टी क्षेत्रमा निमावि तहका किताब अभाव भए पनि ८ को पाठ्यपुस्तक जिल्लामै छैन । यसै शैक्षिक सत्रदेखि पाठ्यक्रमसमेत फेरिएकाले ८ का विद्यार्थीलाई निकै समस्या भएको छ ।

सदरमुकाम मार्तडीको नगर क्षेत्रभित्रै भौनेरास्थित सत्यवादी माविमा समेत अहिलेसम्म ८ कक्षाको पाठ्यपुस्तक नभएर पठनपाठन हुन नसकेको स्थानीय डम्मर महतले बताए । ‘सदरमुकाम क्षेत्रकै विद्यालयमा छैन भने ग्रामीण क्षेत्रका विद्यालयमा किताब पुग्ने कुरै भएन,’ उनले भने ।

नयाँ भर्नासँगै विद्यार्थीको हातमा पाठ्यपुस्तक दिएर कक्षा कोठामा भित्र्याउने भनिए पनि ४ महिनासम्म किताब नभएर पठनपाठन अवरुद्ध हुँदासमेत सरोकारवाला मौन रहेकामा अभिभावकले गुनासो गरेका छन् । ‘जिल्ला शिक्षा र बिक्रेतालाई पटकपटक समस्या राख्दा पनि पहिल्यै गर्दैनन्,’ सत्यवादी मावि व्यवस्थापन समिति अध्यक्ष गोपाल कार्कीले भने ।

शिक्षाले चैत दोस्रो साता पुस्तक खरिदका लागि विद्यालयको खातामा रकम निकासा गरेको थियो । जनक शिक्षाबाट अनुमति प्राप्त बिक्रेता र सम्बन्धित विद्यालयले किताब व्यवस्थापन गर्नुपर्ने कार्यालयले जनाएको छ । जिल्ला शिक्षा अधिकारी रमेशराज पौडेलले कक्षा ८ को पाठ्यपुस्तक समस्या देशभरिकै भएको बताए । ‘मैले पनि निरन्तर पहल गरिरहेको छु,’ उनले भने । बिक्रेताले भने जनक शिक्षाबाटै किताब नपाएकाले ल्याउन नसकेको उनले दाबी गरे ।

कान्तिपुरमा अर्जुन शाहले लेखेका छन् ।

प्रतिक्रिया