Edukhabar
शुक्रबार, ०४ असोज २०८१
अन्तैवाट

लाइसेन्सबिनाका शिक्षक निकालिँदै

शुक्रबार, २२ साउन २०७२

काठमाडौं २२ साउन / सञ्चालन भइरहेको एसएलसी पूरक परीक्षामा सहभागी १७ सय विद्यार्थीमध्ये १५ सयले विज्ञान र गणित विषयमा पुन: परीक्षा दिँदै छन् । इलाम जिल्लामा विज्ञानको शैक्षिक उपलब्धि ३० प्रतिशतभन्दा कम छ । भूकम्पका कारण यो शैक्षिक सत्रमा एक महिना जति पठनपाठन हुन सकेन । बल्ल कक्षामा जोडतोडसाथ पढाइ सुरु भएको बेला अध्यापन अनुमतिपत्र नभएको भन्दै धमाधम आईएस्सी शिक्षकलाई सेवाबाट हटाइन थालेको छ ।

फाकफोकस्थित राष्ट्रिय उच्चमाविका आईएस्सी शिक्षक जय तामाङ विद्यालय जान छाडेपछि यहाँ विज्ञान/गणितको कक्षै बन्द छ । दुई वर्षदेखि बीएस्सी शिक्षक नभएको अवस्थामा उनले माध्यमिक तहमा पनि अध्यापन गराउँदै आएका थिए । तर अनुमतिपत्र नभएकाले उनलाई सेवाबाट हटाइएपछि त्यहाँका विद्यार्थी सदरमुकामका बोर्डिङ जान लागेका छन् । शान्तिपुरको बदामटारस्थित शशिमाविको अवस्था पनि उस्तै छ । कार्यरत आईएस्सी शिक्षक हटाइएपछि विज्ञान/गणितको कक्षा सञ्चालन हुन सकेको छैन । शिक्षाले विज्ञान र गणित विषयका ५३ दरबन्दी खुलाएको छ । कार्यालयकै भाषामा २० हजारभन्दा बढीले वेबसाइट र फेसबुकबाट त्यो विज्ञापन हेरेका छन् । तर अहिलेसम्म योग्य उम्मेदवार कतै भेटिएको छैन ।

यी विषय शिक्षकको खडेरी भइरहेको अवस्थामा बिनालाइसन्सका शिक्षक हटाउँदा समस्या बढेको छ । सरकारले साउन १ देखि लाइसेन्सबिनाका शिक्षकलाई हटाउन थालेपछि जिल्लाका कतिपय विद्यालय यी विषयका शिक्षकविहीन भएका हुन् । सेवाबाट निकालिने क्रममा रहेका शिक्षकले अध्यापन अनुमतिपत्रका लागि कुनै पनि मौका नदिईकन आफूहरूप्रति अन्याय गरेको गुनासो गरे । ‘हामी पनि कुनै प्रक्रिया पूरा गरेर नै शिक्षक भएका हौं,’ माइपोखरीको आदरणीय निमाविका शिक्षक पूर्ण लकान्द्रीले भने, ‘यी विषयमा जिल्लाको उत्तीर्ण दर कम भएको अवस्थामा विकल्प नखोजी निकालिनुले थप समस्या निम्त्याउँछ ।’

शिक्षक निकालिन थालेपछि सम्बन्धित विद्यार्थी र अभिभावक पनि चिन्तित छन् । शिक्षा विभागको निर्देशनमा साउनयता लाइसन्स नभएका २१ शिक्षकलाई सेवाबाट मुक्त गरिसकिएको छ । यसमा १५ जना आईएस्सी छन् । सरकारी निर्णयले शिक्षकमात्र होइन, शिक्षा कार्यालयको नै टाउको दुखाइ भएको छ । ‘हामीलाई चाहिएको आईएस्सी शिक्षक नै हो । तर उनीहरूले लाइसन्स लिने प्रावधान नै छैन,’ जिशिअ टंकप्रसाद गौतमले भने, ‘नीतिगत सुधार गरेर यो जनशक्तिलाई परिचालन गरिएन भने शैक्षिक स्तर झन ओरालो लाग्ने देखिन्छ ।’

कान्तिपुरमा विप्लव भट्टराईले लेखेका छन् ।

प्रतिक्रिया