Edukhabar
शनिबार, ०५ असोज २०८१
अन्तैवाट

डा. केसीले २७ गतेदेखि अनशन थाल्ने

शनिबार, २३ साउन २०७२

डा. केसीले २७ गतेदेखि अनशन थाल्नेकाठमाडौं २३ साउन / सरकारलाई थप चार दिनको समयसीमा दिँदै त्रिवि शिक्षण अस्पतालका डा. गोविन्द केसीले माग पूरा नभए २७ साउनदेखि अनशन थाल्ने जनाएका छन् ।

माग पूरा गर्न सरकारलाई शुक्रबारसम्मको समयसीमा दिएका डा. केसीले सरकारद्वारा गठित कार्यदलका संयोजक प्राध्यापक केदारभक्त माथेमाको आग्रहपछि अल्टिमेटमको समयसीमा बढाएका हुन् । डा. केसीलाई शुक्रबार दिउँसो त्रिविका पूर्वउपकुलपति एवं चिकित्सा शिक्षासम्बन्धी राष्ट्रिय नीति तर्जुमा उच्चस्तरीय कार्यदलका संयोजक प्राध्यापक माथेमाले फोन गरी केही दिन समय थप्न आग्रह गरेका थिए । त्यसपछि डा. केसीले सरकारलाई चार दिनको समयसीमा दिएका हुन् । उनले चार दिनमा पनि माग पूरा नभए आगामी बुधबार दिउँसो ४ बजेबाट पुन: अनशनमा बस्ने जनाए ।

‘माथेमा सरले फोन गरी अनशनको कार्यक्रम चार हप्ता स्थगित गर्न आग्रह गर्नुभयो,’ नयाँ पत्रिकासँग कुरा गर्दै डा. केसीले भने, ‘मैले चार हप्ता होइन, चार दिनको समय थपेको छु ।’ कार्यदलका संयोजक प्राध्यापक माथेमाले शुक्रबार डा. केसीलाई अनशन नबस्न आग्रह गरेसँगै प्रतिवेदनको अध्ययन गरी कार्यान्वयन चरणमा प्रवेश गर्न सरकारी पक्षलाई समेत झकझक्याएका छन् ।

सरकारले प्रतिवेदन कार्यान्वयन अगाडि बढाए केसी अनशनमा नबस्ने भन्दै सरकारलाई झकझक्याएका हुन् । नयाँ पत्रिकासँगको कुराकानीमा प्रा. माथेमाले कार्यदलले तयार पारेको प्रतिवेदन राष्ट्रको गहना भएको भन्दै त्यसमा उल्लेख सबै सुझाब कार्यान्वयन हुने विश्वास व्यक्त गरे । कार्यदलमा माथेमासँगै प्रा.डा. सुरेशराज शर्मा, प्रा.डा. अर्जुन कार्की, प्रा.डा. भगवान कोइराला, डा. मदन उपाध्याय, प्रा.डा रमेशकान्त अधिकारी, डा. गुणराज लोहनी र डा. हरिप्रसाद लम्साल सदस्य थिए ।

नयाँ पत्रिकामा रामप्रसाद न्यौपानेले लेखेका छन् । 

प्रतिक्रिया