Edukhabar
मंगलबार, ११ मंसिर २०८१
अन्तैवाट

पूरकमा ‘खेताला’

आइतबार, २४ साउन २०७२

काठमाडौं २४ साउन / दीपेन्द्र उच्च माध्यमिक विद्यालय भुर जाजरकोटमा कक्षा ९ मा अध्ययनरत हिरालाल विक एसएलसी पूरक परीक्षामा अनिवार्य गणित विषयको जाँच दिँदै थिए । हीरालालले घरमै बसेकी दिदी बिनाको खेताला भएर उक्त विषयको जाँच दिएका हुन् ।

त्यस्तै नायकबाडाका अर्जुन सिंह, शारदा सिंह, जयबहादुर सिंह र थालारैकरका राजु परियार पनि पूरक परीक्षाको खेताला बने । उनीहरूले अनिवार्य अंग्रेजी विषयमा सरस्वती मावि नायकबाडाका महेश सिंह, निरुता सिंह, जयबहादुर दमाई र इन्द्रज्योति मावि थालारैकरका कर्णबहादुर शाहीको सट्टा परीक्षा दिएका हुन् । महेश, जयबहादुर र कर्णबहादुर जिल्लामै छैनन् । तर खेतालाले परीक्षा दिएको पत्ता लागेपछि उनीहरूको परीक्षा रद्द भएको छ । अनुगमनकर्ताले फेला पारेका यी खेताला उदाहरण मात्र हन् ।

बुधबारदेखि सञ्चालित एसएलसी पूरक परीक्षामा अर्काका नामबाट परीक्षा दिने खेतालाको संख्या बढ्दो छ । को खेताला, को वास्तविक विद्यार्थी पत्ता लगाउनै गाह्रो भएको विद्यालय निरीक्षक मानबहादुर गिरीले बताए । ‘विद्यार्थी परीक्षा केन्द्र उपस्थित हुँदैन । तर अर्कोले परीक्षा दिएको भेटिन्छ,’ उनले भने ।

सम्बन्धित विद्यालयका प्रधानाध्यापकको मिलोमतोमा आवेदन फारम भर्दा नै विवरण सक्कलीको र फोटो नक्कलीको राखेर प्रवेशपत्र बन्ने गरेको गिरीले बताए ।

‘फाराम भर्दा नै खेतालाको फोटो टाँसेर विद्यालयको छाप र प्रअले हस्ताक्षर गरेको पाइयो,’ उनले भने, ‘त्यसैले सक्कली र खेताला छुट्याउन गाह्रो भयो ।’

अनिवार्य गणितमा बाहिरबाटै लेखेको उत्तरपुस्तिका त्रिभुवन उमावि केन्द्रमा एक र रिसाङ केन्द्रमा तीन फेला परेको गिरीले बताए । परीक्षाबाट ५ नक्कलीसहित ७ परीक्षार्थी तथा निरीक्षक लोकेन्द्र शाह र दीपेन्द्र राना निष्कासन भएका छन् । जिल्लाका ४ परीक्षा केन्द्रबाट अनिवार्य अंग्रेजीमा ६ सय ५६ र गणितमा ७ सय ५२ परीक्षार्थीले जाँच दिएका छन् ।

त्यस्तै अंग्रेजीमा १ सय ७६ र गणितमा १ सय ८४ अनुपस्थित भएको विद्यालय निरीक्षक गिरीले बताए । गाउँका केन्द्रमा चिट तथा खेतालाका भरमा जाँच दिन बानी लागेका विद्यार्थी सदरमुकाममा त्यस्तो नहुने भएपछि धेरै परीक्षार्थी अनुपस्थित भएको उनको भनाइ छ । गाउँमा लागेको बानीले पूरक परीक्षामा पनि खेताला राख्ने र बाहिरबाट लेखेर मूल कपी साट्ने प्रयत्न गरेको भेटिएको उनले बताए ।

 १० वर्षयता जिल्लाको शैक्षिक गुणस्तर खस्किएको स्थानीय लीलाबहादुर शाहले बताए । शिक्षक राजनीति, व्यापार तथा अन्य पेसामा आबद्ध हुने र विद्यालयमा नियमित पठनपाठन नगर्दा गुणस्तर खस्केको उनको भनाइ छ । एसएलसी मात्र होइन, शिक्षक अध्यापन अनुमतिपत्र, शिक्षक सेवा आयोग, कक्षा ११ र १२ का साथै स्नातक तहको परीक्षामा समेत खेतालाले जाँच दिने प्रचलन बढ्दो भएको स्थानीय शाहले बताए ।

श्रीमान्ले श्रीमतीको, भाइले दाजुको, बहिनीले दिदीको र अन्यले पनि ती परीक्षामा खेताला गर्छन् । शिक्षक नै चिट चोराउन परीक्षा केन्द्र वरिपरि दौडेको पाइन्छ । ‘यतिबेला विद्यालयको पढाइ छाडेर शिक्षकजति सदरमुकाममा झुम्मिएका छन्,’ शाहले भने ।

प्रतिक्रिया